एक्स्पोमा निर्माण सामग्रीकोे ब्राण्डिङ र ब्राण्ड प्रमोशन हुनेछ

Share News
मिडिया स्पेश सोलुशन्स प्रालिले विगत ४ वर्षदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रदर्शनीको आयोजना गर्दै आएको छ । यही क्रममा कम्पनीले आगामी माघ २६ गतेदेखि ‘बिल्डकन एक्स्पो’को पनि आयोजना गर्दै छ । एक्स्पो तथा समग्र निर्माण बजारको अवस्थाबारे कम्पनीका प्रबन्ध निर्देशक श्रीजल भट्टराईस“ग आर्थिक अभियानका मदन लामिछानेले गरेको अन्तरवार्ता : बिल्डकन एक्स्पोबारे जानकारी दिनुहोस् न ? बिल्डिङ र कन्ष्ट्रक्शन क्षेत्रको विकासका साथै प्रवर्द्धन गर्ने उद्देश्यले बिल्डकन एक्स्पोको आयोजना गरिएको हो । नेपालको निर्माण क्षेत्रको अवस्था हेरेर यहाँका लागि उपयुक्त आधुनिक प्रविधिका सामान यस एक्स्पोमा प्रदर्शन गरिनेछ । विदेशमा प्रयोग भइरहेका नयाँ नयाँ प्रविधिका उपकरणलाई नेपालमा ल्याउने एउटा प्लेटफर्मका रूपमा यो एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोमा निर्माणसम्बन्धी सम्पूर्ण सामग्री तथा उपकरण राखिनेछ । कतिपय नयाँ कम्पनी नेपालमा बजार देखेर पहिलोपटक आएका हुन्छन् । उनीहरू डिलर, डिष्ट्रिब्युटर राखेर नेपालमा बजार विस्तार गर्न चाहन्छन् । त्यसैले, नयाँ तथा पुराना कम्पनीले आफ्नो ब्राण्डको प्रचारप्रसार गर्न सजिलो होस् भनेर हामीले यो प्लेटफर्म बनाएका हौं । एक्स्पो भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा माघ २६ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । १ सय २० भन्दा धेरै कम्पनीको सहभागिता रहने यो प्रदर्शनी ४० देखि ५० हजार मानिसले अवलोकन गर्ने अनुमान छ । एक्स्पो बिहान १० देखि बेलुका ६ बजेसम्म चल्नेछ भने यसमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । बिल्डकन एक्स्पोमा कस्ता व्यवसायीको सहभागिता हुनेछ ? हेभी इक्वीपमेण्ट, प्रिफ्याबका घर, सिमेण्ट, फलामे छड, स्यानिटरी, हाइड्रोपावर, लिफ्ट, काठका मेशिनरी इक्वीपमेण्ट, आल्मुनियमका झ्यालढोका बनाउनेलगायत व्यवसायी यो एक्स्पोमा सहभागी हुन्छन् । त्यस्तै, गुणस्तर नियन्त्रण तथा नाप्ने प्रविधि, टायर, इन्धन, लुब्रिकेण्ट, फायर फाइटिङ मेशिन, वाटर प्लाण्ट मेशिनसँग सम्बन्धित व्यवसायीका स्टल पनि मेलामा रहनेछन् । एक्स्पोको उद्देश्य के हो ? नेपालमा अहिले निर्माणले गति लिइरहेको छ । त्यसैले, यहाँको निर्माणको आवश्यकता पूरा गर्ने खालका कम्पनी र इक्वीपमेण्ट सामग्री ल्याउने हाम्रो मुख्य उद्देश्य हो । नयाँ नयाँ प्रविधि नेपाल भित्र्याउने प्रयास हामी गरिरहेका छौं । अर्को उद्देश्य सहभागी कम्पनीको उत्पादनकोे ब्राण्डिङ र ब्राण्ड प्रवर्द्धन गर्नु हो । नेपालमा सबैभन्दा ठूलो निर्माण उद्योग नै हो । यहाँ जति पनि उद्योग सञ्चालनमा छन्, ती सबै निर्माण उद्योगसँग सम्बन्धित छन् । निर्माण उद्योग विकाससँग प्रत्यक्ष सम्बन्धित छ । गतवर्ष एउटा कम्पनीले आगो नलाग्ने ढोका प्रदर्शन गरेको थियो । वाटर रेसिष्टेण्ट, फायर रेसिष्टेण्ट, हेभी इक्वीपमेण्टमा आएका नयाँ प्रविधि, पप प्यानल, यूपीभीसीका झ्याल–ढोकालगायत सबै प्रकारका सामग्री प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा अवलोकनकर्ताले के–कस्ता जानकारी पाउनेछन् ? अवलोकनकर्ताले आर्थिक रूपमा भार नपर्ने, गुणस्तर राम्रो भएको र आयु लामो भएका प्रडक्ट छनोट गर्न पाउनेछन् । साथै, यस्ता प्रडक्टको विशेषता, आयुलगायत बारेमा विस्तृत जानकारी कम्पनीका प्रतिनिधिसँग लिन सक्छन् । यसरी उपभोक्ताले एउटै ठाउँबाट निर्माणसम्बन्धी पूर्ण जानकारी पाउनेछन् । एक्स्पोले निर्माण उद्योगको विकासमा कसरी सघाउला ? यो एक्स्पोको आयोजनामा नेपाल इञ्जिनीयर्स एशोसिएशन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनीयरिङ फम्र्स, नेपाल निर्माण व्यवसायी महासङ्घ, नेपाल आवास तथा घरजग्गा व्यवसायी सङ्घ, कन्फिडेरेशन अफ इण्डियन इण्डष्ट्री, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घलगायत संस्थाको सहकार्यमा गर्दै छौं । निर्माण क्षेत्रमा हामीले सहकार्य गरेका संस्थाको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ । यस्ता संस्थाको सहयोग नलिएर ग¥यो भने एक्स्पो सफल पनि हुन सक्दैन । अहिले काठमाडौं उपत्यका तथा देशैभर होटल, मललगायत व्यावसायिक भवनको निर्माण बढ्दो छ । अहिले निर्माण व्यवसायको अवस्था तीव्र गतिले बढ्दोे छ । यसमा सरोकारवाला सबैको सहयोग लिएर हामीले एक्स्पो आयोजना गरेका हौं । नेपालमा नभित्रिएका केही नयाँ प्रविधि पनि प्रदर्शनी गर्ने योजनामा छौं । नयाँ प्रविधि भित्र्याउन एक्स्पोले सहयोग गर्नेछ । स्वदेशी विक्रेताले नयाँ सामग्रीबारे थाहा पाउनेछन् । अहिले नेपालमा निर्माण उद्योगको अवस्था कस्तो छ ? नेपालमा अहिले सडक, पुल, जलविद्युत्, होटल निर्माणका साथै पर्यटन उद्योग थपिने बढेको छ । मानिसहरू किनमेलका लागि परम्परागत पसलभन्दा सुपरमार्केट, बिजनेश कम्प्लेक्स जान रुचाउने, फिल्म हेर्न हलभन्दा मलतिर जानेलगायत गतिविधिले पनि यस्ता संरचना निर्माण बढाएको छ । विदेशबाट पनि होटल तथा पर्यटन क्षेत्रमा लगानी थपिँदै गएको छ । निर्माण उद्योग तीव्ररूपमा अगाडि बढ्ने सङ्केत अहिले देखिएको छ ।कम्पनीका योजना के छन् ? मिडिया स्पेश सोलुशन्सको स्थापना सन् २०१० मा भएको हो । यसले विगत ४ वर्षदेखि बिल्डकन एक्स्पोको आयोजना गर्दै आएको छ । एग्रिटेक एक्स्पो दोस्रोपटक आयोजना गर्न लागेका छौं । साथै, अरू थप क्षेत्रहरूको पहिचान गर्दै छौं, जसले समग्र नेपालको विकासमा समन्वयकारी भूमिका निर्वाह गर्न सकोस् । अब यस्ता एक्स्पोहरू क्षेत्रीयस्तरमा पनि आयोजना गर्ने योजना बनाएका छौं । यसो गरिएमा मात्र हामी वास्तविक उपभोक्तासम्म पुग्न सक्छौं ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।