काठमाडौं स्टील प्रालिले साउथ एशियामै पहिलोपटक ‘रीड बार’ फलामे छड बजारमा ल्याएको छ । रीड बारको प्रयोगले खेर जाने ८० प्रतिशत छड उपयोग हुने बताइन्छ । कम्पनीले प्रिमियम र कमर्शियल गरी दुई प्रकारका छड उत्पादन गर्छ । सन्दर्भमा कम्पनीका योजना, छड उद्योगकोे वर्तमान अवस्था, बजारलगायत विषयबारे काठमाडौं स्टील प्रालिका अध्यक्ष केशवराज पोखरेलसँग आर्थिक अभियानका मदन लामिछानेले गरेको कुराकानीको सार :काठमाडौं स्टीलले उत्पादन गर्ने डण्डी (छड)को विशेषता के हो ?
काठमाडौं स्टीलले प्रिमियम र कमर्शियल गरी दुई प्रकारको छड उत्पादन गर्छ । हामीले यी दुवै छडको विशेषताबारे उपभोक्तालाई स्पष्ट जानकारी दिने गरेका छौं । हामीले मूल्यका आधारमा छड छनोट गर्नेहरूका लागि कमर्शियल छड उत्पादन गरेका हौं, जुन बजारमा पाइने कमर्शियल प्रडक्टमध्ये केही राम्रो छ । तर, हामीले उत्पादन गर्ने प्रिमियम ब्राण्डको गुणस्तर उच्च हुनुका साथै मूल्य पनि केही बढी छ । हामीले उत्पादन गर्ने प्रिमियम ब्राण्डको कच्चापदार्थको मूल्य कमर्शियलमा प्रयोग गरिने कच्चापदार्थको तुलनामा प्रतिटन ३ देखि ६ हजार रुपैयाँसम्म महँगो पर्छ । घर बनाउँदा अण्डरग्राउण्ड निर्माणमा कमर्शियलक प्रडक्टको प्रयोग गर्नु हुँदैन । कमर्शियल प्रडक्टमा खिया प्रतिरोधात्मक शक्ति कम हुन्छ । एक तलासम्म प्रिमियम छड हालेर माथि कमर्शियल प्रडक्ट प्रयोग गर्दा केही हदसम्म सुरक्षित हुन्छ । तर, हाम्रो उद्देश्य उपभोक्तालाई यसबारे बुझाउँदै पछि प्रिमियम प्रडक्ट मात्रै उत्पादन गर्ने हो । कमर्शियल प्रडक्टभन्दा प्रिमियम दुई गुणा बढी टिकाउ हुन्छ ।
तपाईंहरूले बजारमा ल्याएको ‘रीड बार’ फलामे छडका विशेषता के हुन् ?
काठमाडौं स्टीलले दक्षिण एशियामै पहिलोपटक ‘रीड बार’ फलामे छड बजारमा ल्याएको छ । यो प्रविधिको रड दक्षिण एशियामा अरूले अहिलेसम्म बनाएका छैनन् । रीड बारको सहायताले डण्डीलाई जहाँ पनि काटेर जोड्न सकिन्छ । निर्माण उद्योगमा टुक्रा पारिएका फलामे छड खेर गइरहेको हुन्छ । हामीले उत्पादन गरेको डण्डीमा थ्रेडेड प्रोफाइल हुन्छ । जसरी पाइपलाई सकेट लगाएर जोड्न सकिन्छ । त्यस्तै, हामीले उत्पादन गरेको डण्डीलाई पनि ओभर ल्यापिङ गरेर जोडिन्छ । ओभर ल्यापिङ गरेर जोड्दा डण्डीलाई सामान्य तारले मात्रै बाँधिन्छ । तर, ओभर ल्यापिङ गर्ने ठाउँमा डण्डीलाई हाम्रो सकेटले जोड्दा भने ४ सय गुणा बढी बलियो हुन्छ । यो प्रविधिको फलामे छड बजारमा ल्याएको करीब ४ वर्ष भइसकेको छ । यस्तो छड प्रयोगकर्ताको सङ्ख्या अहिले तीव्ररूपमा बढिरहेको छ । अहिले खासगरी ठूला परियोजना, राष्ट्रिय गौरवका आयोजना, पुललगायत ठाउँमा रीड बारको प्रयोग बढिरहेको छ । रीड बार प्रयोग नभएका परियोजनामा परम्परागत तरीकाले नै काम भइरहेको छ । हामी विज्ञापनमा सशक्त रूपमा नआए पनि मागअनुसारको उत्पादन गर्न सकिरहेका छैनौं । अहिलेसम्म हामीले १५ सय इञ्जिनीयरलाई सेमिनारमार्फत जानकारी गराइसकेका छौं । रीड बारको प्रयोगले खेर जाने ८० प्रतिशत छड प्रयोग गर्न सकिन्छ । काम गर्न सजिलो हुनुका साथै कामदार पनि कम लाग्छ ।
यो रडको प्रयोगका फाइदा के हुन् ?
उपभोक्ताले डण्डी ओभर ल्यापिङ गर्ने बेला जति खर्च बेर्होनुपर्छ, त्योभन्दा १५ प्रतिशत कम खर्चमा हाम्रो सकेट प्रयोग गरेर कसरी जोड्न सकिन्छ । हामीले गरेको अध्ययनले यस्तो देखाएको हो । आगामी २/३ महीनाभित्र यसको रिजल्ट आउँछ । अहिले बलियोको हिसाबले तुलना गर्दा रीड बारको मूल्य कमै छ । तर उपभोक्ताले जोडाइमा लाग्ने खर्च मात्रै हिसाब गर्ने हो भने यो १५ देखि २० प्रतिशत महँगो पर्छ । ठेकेदारलाई बलियोसँगै कसरी कम खर्चम निर्माण गर्न सकिन्छ भन्ने हुन्छ, जसले गर्दा उनीहरू यसको प्रयोगमा केही हिचकिचाएको जस्तो पनि देखिन्छ । यसकै लागि हामीले यसको मूल्य कसरी कम गर्न सकिन्छ भनेर अनुसन्धान गर्न लागेका हौं । पक्कै पनि यसबाट सकारात्मक नतीजा आउँछ । त्यसपछि काठमाडौं स्टील नेपालका सबै उपभोक्ताको पहिलो रोजाइमा पर्नेछ ।
नेपालमा छडको माग र आपूर्ति अवस्था कस्तो छ ?
नेपालमा निर्माण कार्यले गति लिएका कारण माग राम्रो छ । नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस मसान्तसम्ममा घर बनाउन शुरू नगर्नेलाई दोस्रो किस्ता नदिने घोषणा गरेकाले मङ्सिर, पुस र माघमा सबैले एकैपटक काम शुरू गरे, जसले गर्दा बजारमा धेरै माग हुँदा अभाव जस्तो पनि भयो । नेपालको मागअनुसार यहाँका उद्योगले डण्डी बनाएर दिन सक्ने अवस्था छ । हाल ३५ ओटा उद्योग सञ्चालनमा छन् भने करीब १० ओटा नयाँ उद्योग छड उत्पादन गर्ने प्रक्रियामा छन् । नेपालमा ठूला परियोजना, हाइड्रोपावर, टनेल, फाष्ट ट्र्याकका योजनाको काम शुरू भयो भने अहिले नयाँ उद्योग थपिएर पनि उत्पादन बढी हुने अवस्था हुँदैन । तर, विकासका कामले गति लिन सकेन भने अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्ने देखिन्छ ।
छड उत्पादक व्यवसायीका के कस्ता समस्या छन् ?
अहिले छड उद्योगको प्रमुख समस्या यसको कच्चापदार्थ ढुवानीको नै हो । अहिले वीरगञ्जको डाइपोर्ट बन्द भएको २ महीना भइसकेको छ । भारतीय रेलवेले प्रतिबन्ध लगाएको छ । यसले गर्दा अहिले विराटनगरको जोगबानीबाट कच्चापदार्थ ल्याउनुपरिरहेको छ । जोगबनीबाट वीरगञ्जसम्म ल्याउनुपर्दा भाडा बढी लागेको छ । उता, भारतीय क्षेत्रमा पनि दूरी बढेकोले रेलको भाडा बढेको छ । जोगबनीबाट सडक हुँदै एउटा गाडीमा ३५ टनभन्दा बढी ल्याउन पाइँदैन । वीरगञ्जको डाइपोर्टबाट एउटा टेलरले ६० टन बोकेर ल्याउँथ्यो भने जोगबनीबाट ३५ टनसम्म मात्र ल्याउन पाइन्छ । त्यसैले, ढुवानीमा सरकारले सहयोग गर्नुपर्छ । उद्योग भएको ठाउँसम्म सरकारले त्यहीअनुसारको सडक बनाउनुपर्छ ।
सरकारले यसरी रोक्दा छडको मूल्य बढेको छ । यसको प्रत्यक्ष भार जनतालाई परेको छ । अर्को प्रमुख समस्या कामदार अभाव हो । रोलिङ मिलमा कामदारले छोडेर जाने प्रवृत्ति बढेको छ । रोलिङ मिलमा धेरै तापक्रम हुने, गाह्रो काम भएकोले नेपालीले गर्दैनन् । यस्ता उद्योगमा काम गर्न भारतको राजस्थान, उत्तरप्रदेश, पश्चिम बङ्गाल, उडिसालगायत ठाउँबाट कामदार मगाउनुपर्ने अवस्था छ ।अहिले छडको बजार मूल्य बढ्नुको कारण के हो ?
छडको कच्चापदार्थको मूल्य अहिले प्रतिटन १ सय डलरसम्म बढेको छ । २ महीनाअघि प्रतिटन ४ सय ४० डलरमा कमर्शियल तथा ४ सय ९० डलरमा प्राइम गुणस्तरको कच्चापदार्थ पाइन्थ्यो । अहिले प्राइमको मूल्य प्रतिटन ५ सय ६० तथा कमर्शियलको ५ सय २० डलर पुगेको छ । कच्चापदार्थको मूल्य यसरी बढ्ला भनेर हामीले सोचेका पनि थिइनौं । भारतमा जति आइरन वक्र्शका माइन चलिरहेका थिए, तिनको कण्ट्र्याक्ट २०११ मा सकिसकेको थियो ।कण्ट्र्याक्ट नवीकरण नभए पनि उनीहरूले लगातार उत्पादन गरिरहेका थिए । २०१८ मा त्यहाँको उच्च अदालतले अधिक प्रयोग गरेको भनेर यस्ता कम्पनीलाई सतप्रतिशत जरीवाना तिर्नुपर्ने फैसला ग¥यो । यस्तो घोषणापछि टाटा स्टील, सेल स्टील अथोरिटीलगायत ठूला कम्पनीले उक्त रकम तिरे । टाटा स्टीलले मात्रै ३२ हजार करोड जरीवाना तिरेको थियो । अझै चार÷पाँचओटा ठूला खानी उद्योगले जरीवाना तिरेका छैनन् । अहिले यस्ता उद्योग बन्द छन्, जसले गर्दा भारतमै छडको कच्चापदार्थ अभाव भइरहेको छ । कच्चापदार्थको अभाव भएपछि त्यहाँका उद्योगले मूल्य बढाए । सोही कारण नेपालमा पनि छडको मूल्य बढेको हो ।बिल्डकोन एक्स्पो आयोजनाले यो व्यवसायमा कस्तो प्रभाव पार्ला ?
एक्स्पोमा सहभागी कम्पनीले उत्पादन गर्ने सामानकोे ब्राण्डिङ तथा ब्राण्ड प्रवर्द्धन गर्न पाउँछन् । यो प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित सबैखाले व्यवसायीको सहभागिता रहनेछ । उपभोक्ताले एउटै ठाउँबाट निर्माणसम्बन्धी पूर्ण जानकारी लिन सक्नेछन् । बजारमा निर्माणसम्बन्धी प्रत्येक प्रडक्टबारे छुट्टाछुट्टै जानकारी लिनुपर्ने हुन्छ । त्यसले गर्दा समय धेरै लाग्ने तथा सही जानकारी लिन उपभोक्तालाई कठिनाइ भइरहेको हुन्छ । त्यस्ता उपभोक्तालाई यो एक्स्पोले पूर्ण जानकारी लिन मद्दत गर्नेछ । त्यस्तै, व्यवसायी पनि आफ्नो ब्राण्डको प्रवद्र्धन गर्दै सीधै उपभोक्तासम्म पुग्न सक्नेछन् । यसले व्यवसायीको दीर्घकालीन व्यापार विस्तारमा समेत सघाउ पुग्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।