घर तथा अफिसको सजावट

Share News
बढ्दो शहरीकरण र बदलिँदो जीवनशैलीका कारण फर्निचर र फर्निसिङ व्यवसाय फस्टाउँदो छ । व्यक्तिगत घर होस् या कर्पोरेट हाउस, फर्निचर र फर्निसिङ सामग्रीविना त्यसको सजावट अपुरोे हुन्छ । अपार्टमेण्ट, हाउजिङ र अस्थायी बसोवास स्थलमा समेत फर्निचर र फर्निसिङका सामानको माग बढिरहेको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घका अध्यक्ष भुपेन्द्र गिरीले बताए । महासङ्घका महासचिव कवीन्द्र जोशीका अनुसार उपभोक्तामा आएको जागरणले ‘घर सजाउनुपर्छ’ भन्ने मान्यताको विकास हुँदै आएको छ । फर्निचर सामग्रीको माग तथा विक्री बढेसँगै यसका विक्रेता पनि थपिँदै गएका छन् । काठमाडौं उपत्यकामा मात्र फर्निचर तथा फर्निसिङ विक्री गर्ने करीब १ हजार पसल छन् । स्थानीयबाहेक चीन, थाइलाण्ड, इजिप्ट, यूएई, टर्की र यूरोपका विभिन्न देशबाट पनि फर्निचर तथा फर्निसिङका सामग्री आयात हुन्छ । घर वा कोठाको आन्तरिक सजावटप्रति सर्वसाधारणसमेत सचेत हुन थालेकाले यो व्यवसायमा वार्षिक १५ प्रतिशतसम्म वृद्धि हुँदै गएको तथ्याङ्क पाइन्छ । शहरी क्षेत्रमा मात्र फर्निचर तथा फर्निसिङ व्यवसायमा करीब ३० अर्ब रुपैयाँ लगानी भइसकेको जोशी बताउँछन् । जीवनशैलीमा आएको परिवर्तन, आकर्षक हाउजिङको निर्माण र बढ्दो आर्थिक क्रियाकलाप इण्टेरियर डिजाइनको पेशागत विस्तारमा सहयोगी बनेको तर्क इण्टेरियर डिजाइनर्स एशोसिएशन अफ नेपालका अध्यक्ष सानुराजा शिल्पकारको छ । अहिले काठमाडौं उपत्यकामा नयाँ बनेकामध्ये करीब ७५ प्रतिशत घरमा इण्टेरियर डिजाइनपछि मात्र फर्निचर खरीद हुने गरेको उनले बताए । सिकेकाहरूले धमाधम काम पाउन थालेपछि इण्टेरियर डिजाइनिङ पढाउने संस्थाको सङ्ख्या पनि बढेको छ । काठमाडांैमा अहिले इण्टेरियर डिजाइनिङ पढाइने शाही डिजाइन एकेडेमी, कान्तिपुर इण्टरनेशनल कलेज, आईईसी स्कूल अफ आर्ट एण्ड फेशन, इण्टरनेशनल इन्ष्टिच्युट अफ फेशन डिजाइनलगायत करीब १ दर्जन शिक्षण संस्था छन् । घरको सजावटका लागि विशेषगरी फ्लोरिङ, फर्निसिङ, पेण्टिङ, इण्डोर प्लाण्टलगायतका सामग्रीको प्रयोग हुन्छ । फ्लोरिङमा कार्पेट, पीभीसी टायल, लेमिनेटेड फ्लोरिङ, मार्बलजस्ता सामानको सुहाउँदो प्रयोग गरिन्छ । फर्निसिङमा पर्दा, सोफा कभर, बेड कभर, वालपेपर, डोरम्याटलगायत सामग्री पर्छन् । त्यस्तै, सजावटका लागि घरभित्र विभिन्न फूल तथा बिरुवा (इण्डोर प्लाण्ट) राख्ने गरिन्छ । त्यसका अतिरिक्त विभिन्न कलात्मक सामग्री राखेर पनि घरलाई उत्कृष्ट स्वरूप दिन सकिन्छ । घरमा विभिन्न प्रयोजनका लागि छुट्याइएका कोठाका आधारमा त्यसको सजावट गरिन्छ । किचेन, लिभिङ रूम, बाथरूम, बेडरूम, किड्स रूम, डाइनिङ रूम, होम अफिस तथा गार्डेनको सजावटले घरको सौन्दर्य बढाउँछ । घर सजावट गर्दा रङको संयोजन, ठाउँको सदुपयोग तथा राखिने सामग्रीको छनोट महŒवपूर्ण हुने शिल्पकारले बताए । कसरी गर्ने घर सजावट ? सबैलाई आफ्नो घर छरितो र सुन्दर बनाउने इच्छा हुन्छ । त्यसैले, त्यसको सजावटका लागि मानिसले लाखौं रुपैयाँ खर्च गर्छन् । कतिपयले पर्याप्त खर्च गरेर पनि घर चिटिक्क पार्न सकिरहेका हुँदैनन् । तर, कतिपयले भने थोरै खर्चमा पनि घरलाई आकर्षक लूक्स दिएका हुन्छन् । घरको आन्तरिक स्वरूप सुन्दर देखाउने प्रमुख कारण घरभित्रको सामानलाई उचित स्थानमा मिलाएर राख्न सक्नु हो । साथै, रङको सम्मिश्रण पनि महत्त्वपूर्ण हुने गर्दछ । ‘रङलाई राम्ररी पहिचान गर्न सक्ने खुबी इण्टेरियर डिजाइनरमा हुन्छ,’ शिल्पकारले भने । इण्टेरियर डिजाइन गर्दा कोठामा भित्ता, भुइँ र छानो वा माथितिरको भागको रङबीच संयोजन हुन जरुरी छ । सामान्यतया अँध्यारो कोठामा उज्यालो रङको प्रयोग राम्रो हुन्छ । आराम गर्ने कोठामा भने अलि अँध्यारो खालको रङ प्रयोग गर्नु उचित हुन्छ । घर विभिन्न प्रकारका हुन्छन् । व्यापारिक, आवासीय, धार्मिक, सार्वजनिक, अस्पताल, विद्यालय भवनलगायत विभिन्न प्रयोजनका घर हुन्छन् । यस्ता घरमा हुने क्रियाकलापका आधारमा त्यसको डिजाइनिङ इण्टेरियर डिजाइनरले गर्छन् । घरका विभिन्न कोठामा हुने फरक–फरक क्रियाकलापका आधारमा त्यसको सजावट पनि फरक–फरक ढङ्गले नै गरिन्छ ।कोठाको सजावट गर्नुअघि कुन प्रयोजनका लागि बनाउन लागिएको होे, त्यो निश्चित गर्नुपर्छ । त्यस्तै, त्यहाँ कस्ता किसिमका मानिसको आवतजावत हुन्छ, त्यसमा पनि ध्यान दिनुपर्छ । कोठाको सजावट गर्दा त्यसलाई सधैं भेटघाटमा आउने मान्छेको दृष्टिले हेर्नुपर्ने शिल्पकारको भनाइ छ । भेटघाटमा आउने मानिसले राम्रो मानेनन् भने त्यसको औचित्य नहुने उनले बताए । कोठाको सजावट घरको मालिक, फर्निचर, प्लम्बर वा जो कोहीले पनि गर्न सक्छन् । तर, सर्वाङ्ग मिलाउने काम भने इण्टेरियर डिजाइनरले नै गर्छन् । महँगा सामग्री राख्दा मात्र कोठा राम्रो हुँदैन । त्यसलाई स्थान मिलाएर राख्न जान्नुपर्छ ।के हो फ्लोरिङ एण्ड फर्निसिङ ? फ्लोरिङ एण्ड फर्निसिङ घर तथा अफिसको उपयुक्त सजावटको सामग्री हो । पछिल्लो समय घर तथा अफिस सजावटले व्यावसायिक रूप लिएको छ । यसलाई फ्लोरिङ एण्ड फर्निसिङ कम्पनीले सघाइरहेका छन् । फ्लोरिङमा विशेषगरी कार्पेट, पीभीसी टायल, लेमिनेटेड फ्लोरिङ, मार्बलजस्ता सामानको प्रयोग गरिन्छ । फर्निसिङमा पर्दा, सोफा कभर, बेड कभर, वालपेपर, डोरम्याटलगायत सामग्रीको प्रयोग हुन्छ ।लेमिनेटेड फ्लोरिङ लेमिनेटेड फ्लोरिङ (पार्केटिङ)मा काठमाथिबाट प्लाष्टिकले लेमिनेशन गरेर आकर्षक बनाइन्छ । अहिले फ्लोरिङमा पार्केटिङको माग बढ्दै गएको छ । लेमिनेटेड फ्लोरिङका सामानको माग हरेक वर्ष दोब्बर हुने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ । यस्ता सामानमा १० वर्षसम्मको वारेण्टी दिइएको हुन्छ । पार्केटिङ विशेषगरी घरको बैठक कोठा र बेडरूममा बढी प्रयोग हुँदै आएको पाइन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।