विकासलाई गति दिँदै हेभी इक्वीपमेण्ट

Share News
हेभी इक्वीपमेण्टको व्यवसाय पूर्णरूपमा सरकारको नीति निर्माणसँग जोडिएको हुन्छ । सरकारले देश विकासको आर्थिक नीतिलाई राम्रोसँग कार्यान्वयन गर्‍यो भने यसको विक्री पनि बढ्छ । नेपालमा हाल विकास निर्माणले गति लिन थालेको छ । मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, सिँचाइ, हाइड्रोपावर, रेलमार्ग, सडक विस्तारलगायत विकासका धेरै काम भइरहेकाले यसको बजार विस्तारको प्रचुर सम्भावना छ । देशमा अहिले फ्लाईओभर ब्रिज, फाष्ट ट्र्याक, सुरुङ मार्गजस्ता पूर्वाधार निर्माण हुने क्रममा छन् । हेभी इक्वीपमेण्टको प्रयोगविना यस्ता ठूला पूर्वाधार निर्माणको सम्भावना छैन । सोही कारण ठूलो लगानी गर्नुपरे पनि नेपालमा हेभी इक्वीपमेण्टमा व्यवसायी पनि थपिइरहेका छन् । पूर्वाधार विकासले खासै गति नलिएको अवस्थामा समेत निर्माण व्यवसायी बढ्नुले नेपालमा हेभी इक्वीपमेण्ट व्यवसायको राम्रो भविष्यको सङ्केत गर्ने हेभी इक्वीपमेण्ट व्यवसायी सङ्घका अध्यक्ष ताराबहादुर कुँवर बताउँछन् । नेपालमा विकास निर्माणले केही मात्रामा गति लिने हो भने वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढीको उपकरण तथा पाटर््स आवश्यक पर्ने सम्बन्धित व्यवसायीको भनाइ छ । ग्रामीण सडक, पुल, हाउजिङ कम्पनी, जलविद्युत्लगायत ठूला परियोजनामा हेभी इक्वीपमेण्टको प्रयोग बढी हुने गर्छ । हेभी इक्वीपमेण्टलाई ‘अर्थमुभिङ इक्वीपमेण्ट’ पनि भनिन्छ । यस्ता साधनलाई ‘निर्माण’, ‘माइनिङ’ र ‘युटिलिटी’ गरी तीन वर्गमा छुट्ट्याइन्छ । निर्माण कार्यमा प्रयोग हुने ठूला मेशिनमा एक्स्याभेटरको हिस्सा करीब ५० प्रतिशत छ । निर्माणका लागि सानो आकारका एक्स्याभेटर, डोजर, लोडर, ग्रेडर र डम्प ट्रकको बढी प्रयोग हुन्छ । तर, माइनिङ तथा युटिलिटीका लागि ठूला एक्स्याभेटर, डोजर, लोडर र डम्प ट्रक आवश्यक पर्छ । यस्ता साधनको प्रयोग पनि नेपालमा बढिरहेको छ । आयात ५४% बढ्यो पछिल्लो समय देशमा विकास निर्माणले गति लिएसँगै हेभी इक्वीपमेण्टको आयात तीव्ररूपमा बढेको छ । आर्थिक वर्ष (आव) २०७२/७३ को ५ महीना (साउनदेखि मङ्सिर)भन्दा आव २०७४/७५ को सोही अवधिमा हेभी इक्वीपमेण्ट तथा यसका पार्ट्सको आयात ५४ प्रतिशत बढेको हो । आव २०७३/७४ को ५ महीनामा ९ अर्ब ४१ करोड ६९ लाख रुपैयाँबराबरको हेभी इक्वीपमेण्ट तथा त्यसका पार्ट्स आयात भएकोमा त्यो बढेर आव २०७४/७५ को ५ महीनामा १४ अर्ब ५४ करोड २५ लाख रुपैयाँ पुगेको छ । पार्ट्सको आयात उच्च हेभी इक्वीपमेण्टको विक्री पछिल्लो समय तीव्ररूपमा बढेको छ । विकास निर्माणमा प्रयोग भएका इक्वीपमेण्टको सङ्ख्या बढेसँगै पार्ट्सको आयात पनि उच्चरूपमा बढेको हो । धेरै इक्वीपमेण्ट प्रयोगमा आएपछि पार्ट्सको आयात बढेको हो । सङ्घीयतासँगै व्यापार बढ्ने अपेक्षा सङ्घीयतासँगै सानादेखि ठूला विकास निर्माणका योजनाले गति लिने व्यवसायीहरूले अपेक्षा गरेका छन् । राजनीतिक अस्थिरता हटेको तथा देश सङ्घीयतामा प्रवेश गरेकाले हेभी इक्वीपमेण्टको विक्री वार्षिक २० प्रतिशत बढ्ने पूजा कन्ष्ट्रक्शन नेपाल प्रालिका म्यानेजर इञ्जिनीयर सञ्जीवकुमार देव बताउँछन् । पछिल्लो संविधान निर्माणपछि देश विकासमा बनेको सकारात्मक माहोल सङ्घीयतापछि अझ बढ्ने व्यवसायीको अपेक्षा छ । विदेशी लगानीकर्ताका साथै विश्व बैङ्क र एशियाली विकास बैङ्कले पनि लगानी बढाइरहेका छन् । अहिले एयरपोर्ट, बाटो, खानी, जलविद्युत्लगायत क्षेत्रको निर्माण कार्यले गति लिएका कारण पछिल्लो २ वर्षमा हेभी इक्वीपमेण्टको विक्री ३ गुणा बढेको एक्सप्लोर अर्थ मुभर्स प्रालिका निर्देशक इञ्जिनीयर सुशील श्रेष्ठ बताउँछन् ।

पूर्वाधार निर्माण र सम्भावना अहिले नेपालमा सयौं मेगावाट क्षमताको हाइड्रोपावर निर्माणाधीन अवस्थामा छ । यसले पनि नेपालमा हेभी इक्वीपमेण्टको बजार बढ्दै गएको देखाउँछ । त्यस्तै, पछिल्लो समयमा हाउजिङ व्यवसायमा पनि सकारात्मक प्रभाव पर्न थालेको छ । यसलार्ई मात्र आधार मान्ने हो भने पनि निकट भविष्यमा यस्ता मेशिनरीको माग बढ्ने देखिन्छ । त्यस्तै, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, सिँचाइ, हाइड्रोपावर, रेलमार्ग, सडक विस्तारलगायत धरै काम भइरहेकाले यसको बजार विस्तारको सम्भावना धेरै छ । साथै, फ्लाइओभर ब्रिज, फाष्ट ट्र्याक, सुरुङ मार्गजस्ता पूर्वाधार निर्माण हुने क्रममा छन् । हेभी इक्वीपमेण्टविना यस्ता ठूला पूर्वाधार निर्माणको सम्भावना पनि छैन । सोही कारण नेपालमा हेभी इक्वीपमेण्टका लागि ठूलो लगानी गर्नुपरे पनि व्यवसायी थपिने क्रम बढ्दो छ । नेपालमा ८३ हजार मेगावाटभन्दा बढी क्षमतामा जलविद्युत्को सम्भावना रहेको जलविज्ञहरू बताउँछन् । तर, हालसम्म करीब ९ सय मेगावाट मात्र जलविद्युत् उत्पादन भएको नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यस्ता साना जलविद्युत् आयोजनाका लागि पनि कम्तीमा चारदेखि आठओटा विभिन्न प्रकारमा हेभी इक्वीपमेण्ट आवश्यक पर्ने एक्सप्लोर अर्थ मुभर्स प्रालिका निर्देशक इञ्जिनीयर श्रेष्ठको भनाइ छ ।समस्या सरकारले हेभी इक्वीपमेण्टका लागि नीतिनियम बनाएको छ । यसको आयातमा ४ प्रतिशत भन्सार दस्तुर लाग्छ । सरकारले भन्सार महशुल घटाउने वा निःशुल्क नै गरिदियो भने नेपाली उपभोक्ताले अझै सस्तोमा यस्ता मेशिन खरीद गर्न पाउने म्यानेजर इञ्जिनीयर देवको भनाइ छ । त्यस्तै, सरकारी टेण्डर खुल्ने तर समयमा काम शुरू नहुनाले धेरै ठेकेदारले मेशिन किनेर लामो समय त्यसै थन्क्याएर राख्नुपर्ने अवस्था छ । त्यस्तै, सरकारले समयमै पैसा निकासा नगर्दा समयमै भुक्तानी पाउन पनि समस्या देखिएको देवको भनाइ छ । अहिले विभिन्न कम्पनी तथा निजी संस्थाले हेभी इक्वीपमेण्टको अपरेटर तालीम दिइरहेका छन् । तर, सरकारीस्तरबाट यसको लाइसेन्स खोलिएको छैन । अहिले यस्ता हेभी इक्वीपमेण्ट चलाउने ५० प्रतिशत प्राविधिकसँग पनि लाइसेन्स नभएको भाजुरत्न एजेन्सी प्रालिका वरिष्ठ प्रबन्धक व्रिजेश शाक्य बताउँछन् ।सरकारलाई हेभी इक्वीपमेण्टमा पनि प्रदूषण नियन्त्रण गर्न मापदण्ड बनाएर लागू गर्नुपर्ने इञ्जिनीयर श्रेष्ठको भनाइ छ । अहिले काठमाडौंमा चलिरहेका कम्तीमा १ हजारओटा मेशिनले प्रदूषण फैलाइरहेका छन् । आमजनतालाई यसले असर पुर्‍याइरहेको छ । सरकारले चाँडोभन्दा चाँडो यूरो–२ वा यूरो–३ मापदण्ड ल्याएर कार्यान्वयन गर्नुपर्ने श्रेष्ठले बताए ।के हो हेभी इक्वीपमेण्ट ? निर्माण कार्यमा प्रयोग हुने मेशिनलाई ‘अर्थमुभिङ इक्वीपमेण्ट’ भनिन्छ । यस्ता मेशिन तुलनात्मक रूपमा ठूला र गह्रौं हुन्छन् । साधारण अर्थमा सडक, पुल, ठूला भवनलगायत निर्माण कार्यमा प्रयोग हुने ठूला मेशिनलाई हेभी इक्वीपमेण्ट भनिन्छ । यस्तो मेशिनले सयौं मानिसलाई दिनभर लाग्ने काम केही मिनेटमै गर्न सक्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।