६ महीनाको अर्थतन्त्र मिश्रित

Share News
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को पहिलो ६ महीनामा आर्थिक परिसूचकहरू मिश्रित रहे पनि समग्र अर्थतन्त्र कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको प्रतिवेदनले यस्तो सङ्केत गरेको हो । गत आवको सोही अवधिमा शोधनान्तर बचत भएकोमा यस वर्ष घाटामा गएको छ । व्यापारघाटा चुलिनुका साथै विप्रेषण आप्रवाह घटेको छ भने मुद्रस्फीति दबाबमा परेको छ । चालू आवको पहिलो ६ महीनामा निर्यातका तुलनामा आयात उच्च वृद्धि भएपछि व्यापारघाटा बढेको हो । ६ महीनामा रू.४१ अर्ब १४ करोडको कुल वस्तु निर्यात भएको छ । यस अवधिमा नेपालबाट निर्यात हुने मुख्यगरी जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचा, तामाका तारलगायत वस्तुको निर्यात घटेको छ । व्यापारघाटा वृद्धिसँगै विप्रेषण आप्रवाहमा कमी आएपछि चालू खाता रू. ७५ अर्ब ७१ करोडले घाटामा छ । फलस्वरूप, समग्र शोधनान्तर रू. ६ अर्ब ६६ करोडले घाटामा छ । चालू आवको ५ महीनामा पनि शोधनान्तर ९ अर्ब २७ करोड घाटामै थियो । देश बाहिरिने रकमभन्दा भित्रने रकम थोरै भएपछि शोधान्तर खाता घाटामा जान्छ । गतवर्षको यसै समयमा यस्तो शोधनान्तर रू.४५ अर्बले बचतमा थियो । चालू आवको पहिलो २ महीना लगातार घाटामा रहेको समग्र शोधान्तर असोज महीनामा रू. ४ अर्ब २७ करोडले नाफामा थियो । त्यसयता पुनः घाटामा रहेको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह पनि शून्य दशमलव ५ प्रतिशतले घटेर रू. ३ खर्ब ४० अर्ब ५४ करोडमा सीमित छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ७ प्रतिशतले बढेको थियो । फलस्वरूप, खुद ट्रान्सफर आय १ दशमलव ७ प्रतिशत घटेर रू.३ खर्ब ९३ अर्ब ३४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ दशमलव ६ प्रतिशतले बढेको थियो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी आएकाले विप्रेषण घटेको हो ।यद्यपि गत आवको तुलनामा पूँजीगत ट्रान्सफर र विदेशी लगानी आप्रवाह भने बढेको छ । अघिल्लो वर्ष रू. ७ अर्ब ९३ करोड रहेको पूँजीगत ट्रान्सफर अहिले बढेर रू. १० अर्ब ७ करोड भएको छ भने सोही समयमा रू.७ अर्ब ३९ करोड रहेको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह पनि बढेर रू.१४ अर्ब ३३ करोड पुगेको छ । समीक्षा अवधिमा मुद्रास्फीति पनि दबाबमा छ । गतवर्ष ३ दशमलव २ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति बढेर ४ प्रतिशत पुगेको छ । खाद्यान्नको मूल्यमा भएको वृद्धिले समग्र मुद्रास्फीति दबाबमा राखेको हो । अघिल्लो वर्ष शून्य दशमलव ७ प्रतिशत रहेको खाद्य मुद्रास्फीति समीक्षा अवधिमा बढेर २ दशमलव ४ प्रतिशत पुगेको छ । तरकारी, दुग्धजन्य पदार्थ अण्डा, फलफूल, घ्यू तथा तेल, र माछामासुको मूल्य बढेकाले मुद्रस्फीति दबाबमा परेको राष्ट्र बैङ्कको तर्क छ । यस अवधिको गैरखाद्य मुद्रास्फीति भने नियन्त्रणमै छ । अघिल्लो वर्ष ६ दशमलव २ प्रतिशत रहेको गैरखाद्य मुद्रास्फीति हाल ५ दशमलव ३ प्रतिशत छ । लत्ताकपडा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, स्वास्थ्य, शिक्षालगायत वस्तुको मूल्य वृद्धिदर तुलनात्मक रूपमा कम रहेकाले गैरखाद्य मुद्रास्फीति नियन्त्रणमा रहेको तथ्याङ्कले देखाउँछ ।समष्टिगत आर्थिक प्रतिवेदनले आर्थिक परिसूचकहरू जेजस्ता रहे पनि अर्थतन्त्र मिश्रित रहने भनेको छ । प्रतिवेदनमा भनिएको छ, ‘ऊर्जा उत्पादनमा भएको क्रमिक वृद्धि, आपूर्ति अवस्थामा आएको सुधार र निर्माण क्षेत्रमा आएको तीव्रताले गैरकृषि क्षेत्रलाई विस्तार गर्छ र अर्थतन्त्रलाई सकारात्मक रहने आधार दिन्छ ।’ यस अवधिको विदेशी विनिमय सञ्चिति १ दशमलव १ प्रतिशतले घटेर रू. १० खर्ब ६७ अर्ब ३४ करोड छ । चालू आवको शुरूमा यस्तो सञ्चिति रू. १० खर्ब ७९ अर्ब ४३ करोड थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।