साढे २ करोडको गुलाबको व्यवसाय

Share News
भ्यालेनटाइनस डे अर्थात् प्रणय दिवसको अवसरमा नेपाली बजारमा २ करोड ५० लाख रुपैयाँको गुलाबको फूलको व्यवसाय हुने अनुमान गरिएको छ । आन्तरिक उत्पादन तथा भारतबाट आयातसमेत गरी उक्त रकमबराबरको रातो गुलाबको व्यवसाय हुने फ्लोरिकल्चर एशोसिएशन नेपाल (एफएएन)ले जानकारी दिएको हो । एशोसिएशनका अनुसार गतवर्षको प्रणय दिवसको अवसरमा रू. २ करोडबराबरको गुलाबको फूलको कारोबार भएको थियो । यस वर्ष उक्त कारोबार २५ प्रतिशत बढ्ने अनुमान गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए । पछिल्लो समय नेपाली समाजमा पश्चिमी संस्कृतिको प्रभाव बढ्दो छ । सोही प्रभावसँगै विभिन्न पर्वसँग सम्बन्धित वस्तुको बजार पनि बढ्दो क्रममा देखिएको छ । विशेषगरी नयाँ पुस्ता पश्चिमी संस्कृतिको प्रभावमा बढी परेको देखिन्छ । त्यस्तै पर्वमध्ये हरेक वर्षको १४ फेब्रुअरीमा मनाइने प्रणय दिवस युवा पुस्तामा सर्वाधिक लोकप्रिय छ । यस दिन आफूले माया गर्ने मान्छेलाई प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर आफ्नो प्रेम दर्शाउने प्रचलन छ । फेब्रुअरी १४ नजिकिँदै गर्दा बजारमा रातो गुलाबको माग पनि उच्च गतिमा बढ्न थालेको एशोसिएशनले जानकारी दिएको हो । स्वदेशी उत्पादन तथा भारतबाट आयातसमेत गरी उक्त दिन २ लाख २० हजार स्टीक गुलाबको माग हुने अध्यक्ष श्रेष्ठ बताउँछन् । उनका अनुसार सो पर्वलाई ध्यानमा राखेर भारतबाट मात्रै १ लाख ७० हजार स्टीक रातो गुलाब आयात गरिँदै छ । बाँकी ५० हजार स्टीक गुलाब भने स्वदेशमै उत्पादन भएको उनले बताए । भारतबाट आयात गरिने गुलाबका लागि करीब १ करोड रुपैयाँ लाग्ने श्रेष्ठले जानकारी दिए । भारतमै यस वर्ष गुलाबको फूल महँगो भएकाले नेपाली बजारमा समेत महँगोमा विक्री गर्नु आफूहरूको बाध्यता रहेको श्रेष्ठको भनाइ छ । यस वर्षप्रति स्टीक गुलाबको मूल्य न्यूनतम रू. १ सय पर्ने बताइएको छ । गत वर्ष प्रतिस्टीक गुलाबको फूलको मूल्य न्यूनतम रू. ४० देखि अधिकतम रू. १ सयसम्म थियो । स्वदेशी उत्पादनले बजार माग पूरा गर्न नसकिएपछि हरेक वर्ष भारतलगायत देशबाट फूलको आयात गर्नुपर्ने बाध्यता रहेको एशोसिएशनले बताएको छ । एशोसिएशनका अनुसार नेपालमा वार्षिक १० करोड रुपैयाँबराबरको विभिन्न प्रजातिका पूmल आयात हुने गरेका छन् । साथै हरेक वर्ष १० देखि १५ प्रतिशतका दरले फूलको उत्पादन बढे पनि बजारको कुल मागको १५ देखि २० प्रतिशत फूल भने विदेशबाट नै आउने गरेको छ । नेपालमा फूलको बजार मौसमी भएका कारण पनि व्यवसायीहरू पर्याप्त उत्पादन गर्न डराउने एशोसिएशनका एक अधिकारीले बताए । यस वर्षको प्रणय दिवसमा खपत हुने गुलाबको ४० प्रतिशत अंश काठमाडौं उपत्यकामा हुने अनुमान छ । बाँकी पोखरा, धरान, विराटनगर, चितवनलगायत प्रमुख शहरमा खपत हुने बताइन्छ । अध्यक्ष श्रेष्ठका अनुसार जमीनको महँगो लागत, कामदारको उच्च पारिश्रमिक र सिँचाइको असुविधाजस्ता विविध समस्याका कारण फूलको खेतीमा कृषकको रुचि कम छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।