नेपालको कृषिक्षेत्रमा नवीनतम प्रविधिको विकास तथा विस्तारमा सघाउने उद्देश्यले दोस्रो अन्तरराष्ट्रिय कृषि प्रदर्शनी ‘नेपाल एग्रीटेक २०१८’ शुरू भएको छ । फागुन ३ देखि शुरू भएको यो प्रदर्शनी ६ गतेसम्म सञ्चालन हुनेछ । मिडिया स्पेश सोलुशन प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्टको संयुक्त आयोजनामा प्रदर्शनीको आयोजना भएको हो । प्रदर्शनीको सह–आयोजक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेको छ ।
नेपालको कृषिक्षेत्रलाई उपयुक्त हुने आधुनिक प्रविधि तथा सेवाको पहिचान सम्पूर्ण सरोकारवालामाझ पुर्याउने मुख्य लक्ष्यसहित आयोजित मेलामा १० भन्दा बढी देशका गरी १ सय २० प्रदर्शनकर्ता सहभागी छन् । मेलामा नेपाल, भारत, मलेशिया, चीन, ताइवान, इटाली, इजरायल, बङ्गलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्डलगायत देशबाट सहभागिता छ ।
प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी, मत्स्यपालन, पोल्ट्री एवम् पशुपालन उद्योगसम्बन्धी विभिन्न प्रविधि राखिएका छन् । आधुनिक कृषियन्त्र र प्रविधिको पहुँचबाट नेपालको कृषिक्षेत्र अझै टाढा रहेको अहिलेको अवस्थामा आयोजित यो प्रदर्शनीले ठूलो सहयोग पु¥याउने विश्वास मेला आयोजक मिडिया स्पेश सोलुशन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईको छ । उनका अनुसार कृषि कर्मलाई सहज र किफायती बनाउन सघाउने स–साना औजारदेखि कृषि, डेरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरण मेलामा प्रदर्शन गरिन्छ । देशको कृषिक्षेत्रको यन्त्रीकरणमा यो प्रदर्शनी कोसेढुङ्गा सावित हुने अपेक्षा उनले गरे ।
मेलाले नेपालको कृषि उत्पादन तथा यन्त्र–उपकरण विदेशीमाझ प्रस्तुत गर्न सहयोग पुग्नेछ । त्यस्तै, विदेश निकासीको सम्भावना भएका कृषि उत्पादनबारे जानकारीसमेत पाइनेछ । निःशुल्क अवलोकनको व्यवस्था गरिएको मेलामा प्रत्येक दिन विभिन्न प्रविधिको प्रदर्शनी गरिनेछ । यसैगरी कृषि, पशुपालन तथा डेरीसम्बन्धी प्राविधिक गोष्ठीको समेत आयोजना गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।