मिडिया स्पेश सोलुशन्स प्रालिले विगत ४ वर्षदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रदर्शनीको आयोजना गर्दै आएको छ । यसले बिहीवारदेखि शुरू भएको एग्री टेक २०१८ को आयोजना गरेको छ । कम्पनीले विभिन्न एक्स्पोको आयोजना गरेर नयाँ–नयाँ प्रविधि भित्र्याउन, विदेशी कम्पनीलाई नेपाल आउने वातावरण बनाउन समेत ठूलो भूमिका निर्वाह गरेको छ । साथै, नेपालमा डिलर खोल्ने तथा उनीहरूको उत्पादन सहज रूपमा नेपालभर पुर्याउन उसले सहजीकरण गर्दै आएको छ । यसै सन्दर्भमा एग्री टेक २०१८ को आयोजना, नेपालमा कृषि प्रविधिको अवस्था, समस्या, सम्भावनालगायत विषयमा कम्पनीका प्रबन्ध निर्देशक श्रीजल भट्टराईसँग आर्थिक अभियानका मदन लामिछानेले गरेको कुराकानीको सम्पादित अंश :नेपालमा कृषि प्रविधिसम्बन्धी दोस्रोपटक अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना गर्नुको उद्देश्य र यसले व्यवसायमा पार्ने प्रभावबारे बताइदिनुहोस् न ?
हामीले नेपालमा पहिलोपटक कृषि प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय प्रदर्शनी (एग्री टेक) २०१७ को आयोजना गरी सकेका छौं । पहिलोपटक आयोजना गरिएको एग्री टेकले किसान तथा कृषि उपकरणको व्यवसायमा संलग्न सबैलाई धेरै नै फाइदा पुर्याएकोले दोस्रोपटक आयोजना गर्न लागिएको हो । मेलामा हाल कृषिक्षेत्रमा प्रयोग भइरहेका उपकरण, भर्खरै बजारमा आएका नयाँ यन्त्र तथा प्रविधिको प्रदर्शनी भइरहेको छ । यस्ता उपकरणले कृषिक्षेत्रको विकास तथा किसानको काममा सजिलो बनाउन मद्दत गर्नेछ । बाहिर प्रयोगमा आयका यस्ता उपकरणका बारेमा जनस्तरमा प्रचारप्रसार गरी यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने जानकारी दिनु यस एक्स्पोको मुख्य उद्देश्य हो । नेपालको अर्थतन्त्र अहिलेसम्म पनि कृषिमै निर्भर छ । कृषिका उपकरण नेपाल ल्याएर नेपाली डिलरमार्फत गाउँघरसम्म पु¥याउने वातावरण बनाउन पनि एस एक्स्पोले सघाउनेछ । यस्ता इक्वीपमेण्ट गाउँ–गाँउसम्म पुर्याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल सरकार कृषि मन्त्रालय, पशुपक्षी विकास मन्त्रालय, कृषि इञ्जिनीयरिङ निर्देशनालय, नेपाल कृषि केन्द्रीय सहकारी सङ्घलगायतका संस्थाले काम गरिरहेका छन् । यो मेला काठमाडौंमा गर्नुको उद्देश्य सरकारी नीतिनिर्माणमा काम गर्ने व्यक्तिको सामुन्ने एउटै छानामुनि कृषिसँग सम्बन्धित विभिन्न वस्तु तथा प्रविधि प्रदर्शनी गर्नु हो । साथै, उहाँहरूकै माध्यमबाट यस्ता उपकरण गाउँ–गाउँसम्म पुग्ने भएकोले पनि हामीले एक्स्पोको आयोजना गरेका हौं । अब हामी देशका अन्य शहरहरूमा पनि यस्ता प्रदर्शनी आयोजना गर्छौं ।
यो कृषि गोष्ठीबारे थप जानकारी दिनुहोस् न ?
प्रदर्शनीमा श्री किसान इन्नोभेशन हबसँगको साझेदारीमा कृषि, पशुपालन, माछापालन, कुखुरापालनलगायत विषयमा विभिन्न विज्ञहरूद्वारा प्राविधिक गोष्ठीको समेत आयोजना गरिएको छ । गोष्ठीमा कृषिक्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाले कृषकसमक्ष आधुनिक प्रविधिबारे जानकारी गराउने कार्यक्रम छ ।
नेपालमा कृषि तथा पशुपालनमा आधारित उद्योगको विकासमा नयाँ प्रविधिको भूमिका कस्तो रहन्छ ?
नेपालीले अहिले पनि परम्परागत प्रणालीबाटै कृषि कर्म गर्दै आएका छन् । केही समययता वैदेशिक रोजगारबाट फर्केकाहरू व्यावसायिक बाख्रापालन तथा तरकारीखेतीमा लागेका छन् । साथै, अहिले धेरै युवाले जागीरका साथै पार्टटाइम जबको रूपमा व्यावसायिक पशुपालन तथा कृषिपेशा गरेका छन् । अहिलेको पुस्ता कसरी सहज रूपमा गुणस्तरीय कृषि उत्पादन गरी व्यावसायिक फाइदा लिन सकिन्छ भनेर लागिपरेका छन् । यस्ता व्यक्तिलाई हामीले एक्स्पोमा ल्याएका उपकरणबाट धेरै सघाउ पुग्नेछ ।
स्वदेशी कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धनमा सरकारले के गर्नुपर्छ ?
सरकारले दुर्गम गाउँसम्म कृषि प्रविधिका बारेमा सूचना पुर्याउनुपर्छ । साथै, नयाँ प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन चाहनेहरूका लागि अनुदानको व्यवस्था गरिदिनुपर्छ । सरकारले अहिले कृषि मेशिनरीमा अनुदान दिइरहेको छ । यसले किसानलाई काममा धेरै सजिलो भएको छ । हामीले कृषिमा आधुनिकीकरण तथा यन्त्रीकरणका बारेमा धेरै सुनिरहेका छौं । तर, वास्तविक रूपमा किसानसमक्ष यस्ता उपकरण पुर्याउन सरकारले अझै बढी प्रयास गर्नुपर्ने देखिन्छ । अहिले धेरै किसान मोबाइल, इण्टरनेट सेवा र कृषि एप्ससँग अभ्यस्त हुन थालेका छन् । यसले पनि कृषिको आधुनिकीकरणमा सहयोग पुगेको छ । यसलाई अझै प्रभावकारी रूपमा छिट्टै सबैमा पु¥याउनेतर्फ सरकार अघि बढ्नुपर्छ । हामी पनि यस्ता प्रदर्शनीलाई देशका अन्य शहरमा पनि लैजान्छौं ।
कृषि उपकरणको स्वदेशमै उत्पादन तथा आायातको अवस्था कस्तो छ ?
नेपालमा प्रयोग गरिने धेरै उपकरणको आयात भारतबाट भइरहेको छ । यस्ता तयारी उपकरणको आयातमा सरकारले भन्सार छूट दिँदै आएको छ । तर, सरकारले मेशिनरीको स्पेयर पार्ट्सको भन्सार महशुल बढी लिने गरेकोले नेपालमै बन्न सकेका छैनन् । उत्पादन गर्दा लागत बढी पर्ने भएकाले नेपालमै यस्ता उपकरण एसेम्बल्ड हुन नसकेको हो । तयारी कृषि उपकरणमा १ देखि १३ प्रतिशत भन्सार महशुल लाग्छ भने स्पेयर पार्ट्समा करीब ३० प्रतिशतसम्म भन्सार महशुल लगाइएको छ । कुन पाटर््स कुन मेशिनको भनेर छुट्ट्याउन समस्या पर्ने भएकोले यस्ता सामानमा छूट दिन समस्या परेको भन्सार कार्यालयले बताउने गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।