पछिल्लो समय लागत कम गरी उत्पादन बढाउन कृषि बालीमा उन्नत एवम् नवीनतम प्रविधिको प्रयोगप्रति किसान आकर्षित हुन थालेका छन् । गाउँदेखि शहरका अधिकांश क्षेत्रमा कृषिको आधुनिकीकरण र व्यावसायिकता विकासका लागि यन्त्र–उपकरण र नयाँ प्रविधिको प्रयोग बढ्दै गएको देखिन्छ । यसबाट पछिल्लो समय नेपाली किसान कृषिका नवीनतम प्रविधिसँग अभ्यस्त हुन थालेको समेत बुझ्न सकिन्छ ।
परम्परागत कुटो, कोदालो, गोरुलगायतको प्रयोगमार्फत कृषिपेशा गर्दै आएका किसान समयाअनुकूल आधुनिक प्रविधितर्फ उन्मुख भएका हुन् । केही वर्ष अघिसम्म श्रमशक्तिको अभाव र कठिन श्रमद्वारा उत्पादित कृषिउपजले उचित भाउ नपाउने जस्ता कारण जमीन बाँझै रहने अवस्था थियो । तर, कम लागतमा कम जनशक्तिको प्रयोग गर्दै कृषि उत्पादनमा क्षति घटाउने उद्देश्यले सरकारले कृषिमा यन्त्रीकरणलाई प्राथमिकता दिएको छ ।
कृषिमा यन्त्रीकरणको अपरिहार्यता महसूस गरी सरकारले २०७१ मा कृषि यन्त्रीकरण प्रवर्द्धन नीति नै जारी गरिसकेको छ । यो नीतिले भौगोलिक उपयुक्तता, साना किसानमैत्री, महिला कृषकमैत्री र वातावरणमैत्री कृषि यन्त्रलाई प्राथमिकतामा राखेको छ ।
छिटो–छरितो र सजिलो हुनुका साथै लगानी, जनशक्तिसमेत कम लाग्ने भएकोले हाल किसान यान्त्रिक प्रविधिको प्रयोगमा आकर्षित भएका हुन् । चार हल गोरुले जोत्ने खेत आधुनिक एउटै यन्त्रले जोतेर बाली लगाउन लागि तयार पार्दछ । कृषि औजारको सहज उपलब्धताले उखु काट्नेदेखि धान रोप्ने कामसम्म सजिलो बनाएको छ । थ्रेसर, हार्भेष्टर, कल्टिभेटर, रोटभेटर जस्ता नयाँ उपकरणले कृषिक्षेत्रमा सुविधा पुर्याएको छ ।
तराईको कृषि प्रयोजनमा पावरटिल्लर, ट्र्याक्टरलगायत औजारको प्रयोग सबैभन्दा बढी हुने गरेको नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले बताए । समग्र कृषिक्षेत्रमा ट्र्याक्टरको सबैभन्दा बढी प्रयोग हुन्छ । उनका अनुसार खनजोत गर्नेदेखि बाली काट्ने उपकरणसम्म ट्र्याक्टरमै जडान गरी प्रयोग हुन्छ । त्यसैले, केही वर्षयता ट्र्याक्टरको माग निरन्तर बढ्दै गएको छ । आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएपछि परम्परागत हलो, कोदालोलगायत उपकरण लोप हुने अवस्थामा पुगेका छन् । खाद्यान्न बालीतर्फ थ्रेसर, कर्न सेलर, उन्नत खालको अन्न भकारी, सुपर ग्रीन ब्याग, तरकारी बालीतर्फ आरा, करौंती, सिकेचर, कैंचीजस्ता यन्त्रको प्रयोग बढ्न थालेको अध्यक्ष श्रेष्ठले बताए ।

यन्त्रीकरणको आवश्यकता
हरेक वर्ष देशका युवा विदेश पलायन हुने क्रम बढिरहँदा कृषि जनशक्ति अभावले कृषिको क्षेत्रफल घट्दै गएको छ । त्यसैले, खेतीयोग्य जमीन बचाउन र उत्पादन बढाउन यन्त्र–उपकरण र आधुनिक प्रविधिको माध्यमबाट खेती गर्नु आवश्यक छ । परम्परागत कृषि प्रणाली सुधार्दै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न यन्त्रीकरणको आवश्यकता पर्छ । तर आधुनिक कृषियन्त्र र प्रविधि पहुँचबाट अझै पनि देशका अधिकांश कृषक टाढा छन् ।
नेपालमा बर्खायाममा लगाइएको धानबालीको उचित स्याहार, भण्डारण जस्ता पक्षमा कमजोरी छन् । यस कारण किसानहरू आफ्नो उत्पादन तुरुन्तै भारत निकासी गर्नुपर्ने बाध्यतामा छन् । आधुनिक कृषि प्रविधिको पहुँच नहुँदा उनीहरूले यस क्षेत्रमा थुप्रै समस्या भोग्नुपरेको छ । नवीनतम प्रविधि तथा मेशिनरीको प्रयोग आवश्यकताअनुरूप नबढ्दा कृषि उत्पादकत्व वृद्धि र भण्डारणमा समस्या देखिएको हो । उपयुक्त मेशिनबाट रोप्ने, गोड्ने, काट्ने, चुट्ने, सुकाउने, थन्काउने र सरकारले ठूला ठूला सामुदायिक भण्डारण स्थलको व्यवस्था गरिदिए यस क्षेत्रका समस्या अवश्य पनि कम हुनेछन् । धान रोप्ने, काट्ने, झार्ने, गहुँ छर्ने जस्ता यन्त्र भिœयाएर त्यसको प्रयोग, व्यवस्थापन र मर्मत–सम्भारमा कृषकलाई अभ्यस्त बनाउँदै लैजानु आवश्यक छ ।ट्र्याक्टर र थे्रसर जस्ता यन्त्र नेपालको कृषिमा बढी मात्रामा प्रयोग हुने उपकरण हुन् । तर, स्वदेशमा उत्पादन हुन नसक्दा उक्त उपकरण भारतसहित अन्य तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका सरोकारवाला बताउँछन् । यसले गर्दा ती उपकरणको मूल्य निकै महँगो हुने गर्दछ । फलस्वरूप ती उपकरणको प्रयोग सबै वर्गका किसानले गर्न सक्दैनन् । यस्तो अवस्थामा कम्तीमा पनि प्रत्येक जिल्लामा एउटा मात्रै सामुदायिक कृषि औजार केन्द्र सञ्चालन गरेमा नेपालको कृषिक्षेत्र निकै माथि उठ्ने प्रबल सम्भावना रहेको यस क्षेत्रका सरोकारवाला बताउँछन् । सरकारले कृषि यन्त्रको खरीदमा ५० प्रतिशत अनुदान दिए तापनि त्यसले कुनै प्रभाव नपारेको उनीहरूको भनाइ छ । उक्त अनुदान पाउने प्रक्रिया एवम् अनुदान रकम नै कम भएको अध्यक्ष श्रेष्ठले बताए । त्यसबाहेक पहुँचवालाले मात्रै अनुदान प्राप्त गर्दा यसमा समस्या देखिएको उनले औंल्याए ।
कृषियन्त्रको आयात बढ्दो
नेपालमा कृषिउपज प्रत्येक वर्ष खर्बौं रुपैयाँबराबरको आयात भइरहेको छ । त्यसैगरी कृषिसँग सम्बन्धित यन्त्रको आयात पनि बढिरहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाएको छ । वर्षेनि अर्बौं रुपैयाँबराबरको विभिन्न साना तथा ठूला कृषि उपकरण भित्रिन थालेको सरकारी तथ्याङ्क छ । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७२÷७३ मा भने कृषि यन्त्रको आयात केही घटेको देखिन्छ । उक्त वर्ष भारतीय नाकाबन्दी तथा सीमा अवरोधका कारण आयातमा केही कमी आएको बताइएको छ । आयात भएका कृषि यन्त्रहरू हार्भेष्टिङ, हर्टिकल्चर, पोल्ट्री, फरेष्ट्रीलगायत क्षेत्रमा प्रयोग हुन्छन् । यस्तै, पावरटिल्लर, मिनी टिल्लर, ट्र्याक्टर, थ्रेसर जस्ता उपकरण बढी आयात हुनेमा पर्छन् । भन्सार विभागका अनुसार ट्र्याक्टरको आयात बढे भए पनि ती सबै कृषिमा मात्रै प्रयोग भएका छैनन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।