फागुन ७, कास्की । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालै नीति तथा कार्यक्रम सहित पूरक बजेट ल्याउने बताएका छन् । आइतवार बसेको संसदको दोश्रो बैठकलाई सम्बोधन गदै उनले सरकारले फाष्ट ट्रयाकबाट बजेट, नीति तथा कार्यक्रम ल्याउने गरी आफू तयारीमा जुटेको जानकारी दिए ।
मुख्य मन्त्री गुरुङले प्रदेश नम्बर ४ अथाह सम्भावनाहरुको सङ्गम रहेको बताउदै प्रदेशको समग्र आर्थिक तथा भौतिक विकासको लागि पर्यटन र जलस्रोतको विकास अपरिहार्य रहेको बताए । उनले भने, ‘पर्यटन प्रवर्द्धन, विद्युत उत्पादन, कृषिको आधुनिकीकरण र भौतिक निर्माणले प्रदेश समुन्नत एवम् समृद्ध बन्छ ।’
मुख्यमन्त्री गुरुङले पर्यटन, उर्जा र कृषिको आधुनिकिरणसँगै पूर्वाधार निर्माण महत्वपूर्ण रहेको बताउदै चीनसँग सीमा जोडिएको कोरला नाकादेखि भारतको सुस्तासम्म जोडने राजमार्ग निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । ‘कोरला सुस्ता जोडने राजमार्ग प्रदेश सरकारको प्रमुख एजेण्डा हो,’ उनले भने, ‘दुवै छिमेकी मुलुक जोड्ने सबैभन्दा छोटो उत्तर–दक्षिण खण्डको राजमार्ग केन्द्रीय सरकारसँग समन्वय गरेर पुरा गर्ने छौ ।’
मुख्यमन्त्री गुरुङले दुई वर्षभित्र यस प्रदेशका सबै जनतालाई पिउने पानी र विद्युतको पहुँच पुर्याउने बताए । ९१ प्रतिशत जनताले सहजरुपमा पानी पिउन पाएको बताउँदै उनले भने, ‘९ प्रतिशत जनताको घरघरमा दुई वर्षभित्र खानेपानीको व्यवस्था गर्ने छौँ । उनले भने, ‘विद्युतको पहुँच बाहिर रहेका १५ प्रतिशत जनतालाई दुई वर्षभित्र विद्युतको सहज आपूर्तिको व्यवस्था गछौं ।’
गरिबीको रेखामुनी रहेका प्रदेशका १४ प्रतिशत जनताको आयस्तरमा परिवर्तन ल्याई गरिबी घटाउने बताउदै मुख्यमन्त्री राईले बढ्दो बेरोजगारीको अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए । औद्योगिक उत्पादनमा पछाडी रहेको यस प्रदेशमा उद्यमशीलता र लगानी वृद्धी गर्दै औद्योगिक क्षेत्रको स्थपान गर्ने तर्फ लगि पर्ने उनको भनाइ छ ।
११ जिल्लाका जनतालाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमा लागू गरिने बताउदै उनले पाँच वर्षभित्र क्यान्सर र मुटुरोगको उपचारका लागि सुविधा सम्पन्न अस्पताल निर्माण गरिने र शिक्षालाई गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सभा नियमावली मस्यौदा समिति गठन आइतवार सम्पन्न दोस्रो संसदीय बैठकले एघार सदस्यीय प्रदेश सभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।
समितिमा आशा कोइराला, इन्द्रलाल सापकोटा, ओमकला गौतम, चन्द्र बहादुर बुढा, टेक बहादुर घर्ती मगर, धनमाया पोख्रेल, प्रकाशचन्द्र दवाडी, प्रभा कोइराला, विन्दु थापा, रामजी बराल र विकास लम्साल रहेका छन् ।
समिति निर्माणका लागि एमालेका तर्फबाट सांसद किरण गुरुङ प्रस्तावक रहेका थिएभने नेपाली काङ्ग्रेसका कृष्ण चन्द्र नेपाली समर्थक रहेका थिए ।
आइतवारको बैठकले एमालेकी सिर्जना शर्मालाई उपसभामुख चयन गरेको छ । उपसभामुख निर्वाचनमा शर्मासँगै काङ्ग्रेसकी मनकुमारी गुरुङ र जनमोर्चाकी पियारी थापाको उम्मेदवारी परेको थियो । प्रदेश सभा बैठकमा उपस्थित ५६ सांसदमध्ये वाम गठबन्धनका तर्फबाट शर्माको पक्षमा ३८ र विपक्षमा १८ मत परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।