काठमाडौं । जैविक तथा वानस्पतिक विषादीको उत्पादन र प्रयोगमा निजीक्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले अनुदान दिने नीति तयार गरेको छ । ‘जैविक तथा वानस्पतिक विषादी उत्पादन, प्रयोग तथा अनुदान कार्यविधि २०७४’ तयार गरी ५० प्रतिशतसम्म अनुदानको तयारी अघि सारिएको कृषि विकास मन्त्रालयले जानकारी दिएको हो । रासायनिक विषादीको विकल्पमा सुरक्षित विषादीको प्रवर्द्धन गर्ने उद्देश्यले यसो गरिएको हो । पछिल्लो समय मुलुकभित्र रासायनिक मलको बढ्दो प्रयोगका कारण कृषि उत्पादनमा कमी आएसँगै सरकारले जैविक विषादीको प्रयोगमा बढी जोड दिन थालेकोे हो ।
रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्य, जीवजन्तु र वातावरणमा अल्पकालीन र दीर्घकालीन रूपमा विभिन्न असर पुर्याउन थालेपछि सरकारले यसको प्रयोग घटाउन अनुदानको व्यवस्था गरेको कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए । सरकारले स्वीकृत गरेको यो कार्यविधि मुख्यगरी रासायनिक मलको प्रयोग कम गर्ने योजनाको रूपमा अघि बढाउन लागिएको उनले स्पष्ट पारे ।
हाल मुलुकमा जैविक र वानस्पातिक विषादीको उत्पादन, प्रयोग र उपलब्धता सुलभ हुन नसकेको अवस्थामा यस प्रकारको अनुदान व्यवस्थाले ठूलो सहयोग पु¥याउने सुवेदीले बताए । जैविक विषादी र वानस्पतिक विषादी उत्पादन गर्न, आवश्यक कारखाना निर्माण गर्न तथा किसानले खरीद गर्ने यस्ता प्रकारका विषादीमा अनुदान उपलब्ध गराउनेजस्ता व्यवस्था कार्यविधिमा रहने उनले जानकारी दिए ।
‘जैविक तथा वानस्पतिक विषादी उत्पादन, प्रयोग तथा अनुदान निर्देशिका २०७४’ सम्बन्धी कार्यविधि स्वीकृत भए पनि यसका लागि कार्यक्रम भने तयार भएको छैन । सुवेदीका अनुसार कृषि मन्त्रालय र बाली संरक्षण निर्देशनालयको सहकार्यमा चाँडै नै यससम्बन्धी कार्यक्रम तयारी पारी बजेट विनियोजन गर्ने कार्य अघि बढाइनेछ । सकेसम्म चालू आर्थिक वर्षमा नै यो व्यवस्था लागू गर्ने लक्ष्य रहेको सुवेदीको भनाइ छ ।
मन्त्रालयका अनुसार जैविक र वानस्पतिक स्रोतको प्रयोग गरी विषादी उत्पादन गर्न आवश्यक कारखाना र जडान हुने उपकरणका लागि प्रस्तावका आधारमा बढीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । उत्पादक कम्पनी, संस्था र व्यक्तिले प्रस्ताव गरेको योजनाअनुसार औचित्यको आधारमा मेशिनरी औजार तथा कच्चा पदार्थमा त्यस्तो अनुदान उपलब्ध गराउन सकिने व्यवस्था रहेको मन्त्रालयले जानकारी गराएको हो । साथै, जैविक तथा वानस्पतिक विषादी प्रयोगकर्ता र विक्रेतालाई पनि यस प्रकारको अनुदान उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।
सरकारले जैविक तथा वानस्पातिक विषादीको उत्पादनका लागि गुणस्तरसमेत निर्धारण गरेको छ । उत्पादन गरिने विषादीको गुणस्तरका लागि निश्चित मापदण्ड तोकिएको छ । उत्पादन गरिएको जैविक विषादीमा ट्राइकोडर्मा भिरीड, ट्राइकोडर्मा हार्जियारम, मेटारिजम एनिसोपेली, भर्टीसिलियम लेकानी, ब्युभेरिया व्यासियाना, फ्युजारियम पोलीफेराटमजस्ता तत्त्वको अनिवार्य उपस्थिति रहेको हुनुपर्ने छ । त्यस्तै, वानस्पातिक विषादीको हकमा भने एजाडिरक्टा इण्डिका, क्यूलियर, पीटीएम ल्यूर, डीबीएम ल्युर, कम्पोजिट ल्युर, मिथायल युजिनल, हेली ल्युर, स्पोडो ल्युर, टुटा ल्युरजस्ता तत्त्वको उपस्थिति हुनुपर्ने मापदण्ड रहेको कार्यविधिमा उल्लेख गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।