कास्की । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्तालाई शेयरमा लगानी गर्न आग्रह गरेको छ । कोषले ऋण लगानी गरेका कम्पनीहरूमा सञ्चयकर्ताहरूलाई सुनिश्चित गरिएको शेयरमा लगानी गर्न आग्रह गरेको हो । कोषले ऋण लगानी गरेका कम्पनीको शेयरमा सञ्चयकर्ताहरूलाई सहभागी गराएको कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराका प्रमुख दिलीपराज पौडेलले जानकारी दिए । उनका अनुसार अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर वितरण भइसकेको र चिलिमे जलविद्युत् आयोजनाबाट प्रवद्र्धित तीनओटा परियोजना साञ्जेन, भोटेकोशी र रसुवागढी जलविद्युत् कम्पनीको शेयर वितरण गर्ने प्रक्रियामा रहेको छ ।
साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडको शेयर वि.सं. २०६८ मङ्सिरदेखि बहाल रहेका र विवरणपत्र स्वीकृत भएपछि वि.सं. २०७४ मङ्सिर २६ सम्म थप भएका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरूले न्यूनतम ५० देखि ३ सय ५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वि.सं. २०७४ पुस २० सम्म बहाल रहेका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरूले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सय अङ्कित दरको शेयर न्यूनतम ५० देखि अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । भोटेकोशी जलविद्युत् कम्पनीको शेयर स्वीकृतिको प्रक्रियामा रहेको जानकारी दिइएको छ ।
कर्मचारी सञ्चयकोषले ऋण लगानी गरेका साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर निष्कासन तथा विक्री खुला भइसकेको छ । शेयर खरीदका लागि फागुनको ११ देखि ३० गतेसम्म तोकिएका बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दरखास्त दिन सकिनेछ ।
कोषका सञ्चयकर्ताका लागि छुट्याइएको साधारण शेयरका लागि आवेदन दिन कुनै पनि बैङ्क तथा वित्तीय संस्थामा डिम्याट खाता भएका सञ्चयकर्ताहरूले दरखास्त दिँदा सी आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाले उपलब्ध गराएको दरखास्त फाराम भरी कर्मचारी सञ्चयकोषले जारी गरेको सञ्चयकर्ता परिचयपत्रको प्रतिलिपि अनिवार्य समावेश गर्नुपर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।