सभ्य ढङ्गको होली

Share News
नेपाल पर्वैपर्व, मेलैमेला र जात्रैजात्राको देश हो । यहाँ मनाइने पर्व र मेलाको आ–आफ्नै महŒव र विशेषता छन् । सानाठूला सबैखाले सांस्कृतिक पर्व कुनै देशभर मनाइन्छन् त कुनै निश्चित समुदाय र स्थान विशेषमा । तीमध्ये महŒवपूर्ण पर्व मानिन्छ होली अर्थात् फागु पूर्णिमा । हिमाल, पहाड र तराईसहित पूरै देशलाई रङ्गाउँछ होलीले । धार्मिक रूपमा मात्र यस पर्वलाई महŒव नदिई देशभर नै सामाजिक सद्भाव र प्रेमको प्रतीकको रूपमा मनाइँदै आएको छ । होलीले सबैतिर सुख, शान्ति, सद्भाव र भाइचाराको सुसम्बन्ध कायम गराउने भएकोले पनि यसको छुट्टै महत्त्व छ । होलीको प्रमुख आकर्षण नै रङको प्रयोग हो । बढ्दो विकृति पछिल्ला समयमा होली मनाउने क्रममा विभिन्न विकृति बढ्दै गएको पाइन्छ । खासगरी युवावर्गमा होली आउनुभन्दा केही दिन अगाडि नै लोला हान्ने, अण्डाले हिर्काउने, कालोमोसो दल्ने, फोहोर पानी छ्याप्नेलगायत अनैतिक गतिविधि देखिन्छन् । नशालु पदार्थ सेवन गरी सवारी चलाउने, नचिनेकालाई दुःख दिनेमा पनि युवा नै अगाडि देखिन्छन् । घरको छत तथा बार्दलीमा बसेर बाटोका यात्रीलाई लोला हान्ने, मोटरसाइकलमा विना हेल्मेट तीन÷चारजना चढेर जबर्जस्ती अरूलाई अन्य केमिकल मिसाई हान्नेजस्ता कुकृत्यसमेत होलीमा देखिने गरेको छ । यस पौराणिक पर्वको मर्म र महŒवलाई बेवास्ता गर्दै प्रेम, सद्भावभन्दा पनि घृणा, रिस, र सद्भाव भड्किने कामलाई प्रश्रय दिइएको पाइन्छ । त्यसैले, घरको छतबाट खसेर भएको दुर्घटना, मोटरसाइकल दुर्घटना, लोलामा विभिन्न ठोस पदार्थ राखेर हान्दा अनुहार, टाउको एवम् आँखामा गम्भीर चोट लाग्ने घटना विगतमा धेरै भएका छन् । होलीलाई कसरी मनाउने भन्ने व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर, होलीमा कुनै रुचि नभएकाहरूलाई पनि जबर्जस्ती रङ दलेर दुःख दिने प्रवृत्तिले होलीको नकारात्मक सन्देश जाने गरेको छ । हरेक नागरिकको शान्ति सुरक्षामा खटिरहेका सुरक्षाकर्मीको कमजोर सुरक्षा र फितलो कानूनले पनि यस्ता प्रवृत्तिलाई प्रोत्साहन मिलेको छ । होलीमा अनैतिक कामका लागि प्रयोग गरिने सामानहरू, जस्तै– लोला, पानी हान्ने बन्दुकलगायत सामानको निर्बाध आयात र बेचबिखन भइरहेको पाइन्छ । तर, त्यसलाई रोक्न सरकारी प्रयास पर्याप्त देखिँदैन । कसरी मर्यादित बनाउने ? सबैजसो पर्वका राम्रा मौलिकता, संस्कृति र सन्देश बोकेका हुन्छन् । तर, सबैले यसको मर्म र उद्देश्य नबुझ्दा विकृति बढेको छ । कतिपय पर्व विदेशी संस्कृतिको प्रभावमा पारी मौलिकता नै गुमेको पाइन्छ भने कतिपय पर्व विकृतिको चपेटामा परका पाइन्छन् । यस्तै विकृतिले छोपेको पर्व होलीलाई सभ्य, मर्यादित र मौलिक तरीकाले मनाउन सकिन्छ । होलीको नाममा बढ्दै गएका विकृति रोक्न समयमै ध्यान दिनु जरुरी छ । यसका लागि नागरिकमा सचेतना आउनुपर्छ भने विकृति ल्याउनेलाई कडा कारबाही गरिनुपर्छ । चाडपर्वमा भित्रिएका उच्छृङ्खलता र विकृतिले सामाजिक सद्भावमा गम्भीर असर पुग्छ । त्यसैले, होलीको बेला यी कार्य नहोऊन् भनेर सजगता अपनाउनु पर्छ । इच्छाविपरीत कसैको शरीरमा रङ र लोला हान्न कसैलाई छूट छैन । भाङ र गाँजाको नशामा खेलिने होलीले स्वास्थ्यमा असर त छँदै छ, अकल्पनीय दुर्घटना पनि निम्त्याउन सक्छ । होलीका अवसरमा अत्यधिक मादक पदार्थ सेवनका कारण दुर्घटना हुने, लोला हान्ने क्रममा आँखा फुट्ने र अङ्गभङ्ग हुनेजस्ता घटना वर्षेनि बढिरहेका छन् । त्यसैले, यसप्रति सरकार सजग र गम्भीर भई आवश्यक कानून लागू गर्नुपर्ने देखिन्छ । सरकारको यस्तो कार्यलाई नागरिकले पनि सहयोग गर्नुपर्छ ।सभ्य समाज निर्माणका लागि पनि आपराधिक मानसिकता र प्रवृत्तिलाई निरुत्साहित पार्ने काममा सबै लाग्नु जरुरी छ । होलीलाई मर्यादित रूपमा सबैले मनाउने वातावरण बनाउनु हामी सबैको दायित्व पनि हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।