बागलुङ विशेष :नेपालभित्रको सानो नेपाल, बागलुङ

Share News
  • विकासका लागि गुरुयोजनाको आवश्यकता
  • आर्थिक समृद्धिका लागि पर्यटन, कृषि र जलस्रोतमा लगानी
  • उद्योग वाणिज्य सङ्घको भिजन २०२० को अवधारणा
  • सम्भावनाको शहर बागलुङ नगर


नेपाल र बागलुङ जिल्लाको नक्सा करीब उस्तै देखिन्छ । नक्साजस्तै नेपाल र बागलुङको भौगोलिक बनावट पनि समान छ । प्राकृतिक सम्पदाले धनी यस जिल्लाको स्रोत र साधनको सदुपयोग गरेमा आर्थिक समृद्धि हासिल गर्न सकिने प्रशस्त सम्भावना छ । जैविक विविधताले भरिपूर्ण बागलुङ मौलिक पहिचानका दृष्टिले समेत प्रसिद्ध छ । पर्यटन, कृषि, लघु जलविद्युत्को विकास र विप्रेषणको सही सदुपयोग गरेमा जिल्लाको दीर्घकालीन विकास गर्न सकिन्छ । जिल्लाको विकासका लागि सबै पक्षको एकता पहिलो आवश्यकता रहेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठ बताउँछन् । बागलुङ पहिचानले धनी भए पनि व्यावहारिक रूपमा पहिचानको व्यवसायीकरण गर्न नसक्दा आम्दानीको स्रोत गुमेको उनको बुझाइ छ । बागलुङका सम्भावनालाई परिचालन गर्न भिजन २०–२० को लक्ष्य निर्माण गरी दीर्घकालीन गुरुयोजना बनाउन निजीक्षेत्र लागिपरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बागलुङ बजार पर्यटकीय सम्भावना बोकेको बजारका रूपमा चिनिन्छ । पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग र उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोरको मुख्य केन्द्रमा बागलुङ बजार अवस्थित छ । करिडोरको निर्माण सम्पन्न भएपछि जिल्लामा धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना छ । यसकारण पनि बागलुङ शहरको भविष्य उज्ज्वल रहेको बागलुङ उद्योग वाणिज्य सङ्घका महासचिव जयराम भारी बताउँछन् । उत्तरदक्षिण लोकमार्गबाट मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न आउने भारतीय पर्यटक र लुम्बिनी जाने तिब्बतीयन पर्यटकहरूलाई बागलुङमा ल्याउन सकिने यहाँका व्यवसायीहरू बताउँछन् ।

तर, यसको व्यवस्थापनलाई चुस्त बनाउन पर्यटन व्यवसायीको ध्यान जान आवश्यक छ । पर्यटन व्यवसायलाई व्यवस्थित बनाउन सकेमा जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्न सक्छ । यसबाट रोजगारी पनि सृजना गर्न सकिन्छ । पर्यटन क्षेत्रको विकासका लागि बागलुङ बजारदेखि ढोरपाटन शिकार आरक्षसम्म पुग्ने पदमार्गको निर्माण अत्यावश्यक रहेको श्रेष्ठ बताउँछन् । कृषिक्षेत्रमा राम्रो सम्भावना बोकेको बागलुङमा केही समय अघिदेखि व्यावसायिक कृषिखेती गर्ने अवधारणाको विकास हुँदै गएको छ । अग्र्यानिक खेतीको उत्पादन हुने जिल्लाका रूपमा बागलुङको विकास गर्न सकिनेमा यहाँका सरोकारवालाहरू एकमत देखिन्छन् । यार्सागुम्बा, चिराइतोलगायत दुर्लभ जडीबुटीहरूसमेत पाइने यस जिल्लामा तिनको व्यवसायीकरण गरी आर्थिक विकास गर्न सकिने सम्भावना छ । बागलुङ विभिन्न खनिजजन्य वस्तु उपलब्ध हुने जिल्लाका रूपमा समेत परिचित छ । जिल्लामा तामाखानी, शिशाखानी, चुनढुङ्गा खानीहरू प्रशस्त छन् । यस्ता खानीहरूमा आधुनिक प्रविधिको प्रयोग गरी उत्खनन गरेमा जिल्लालाई आर्थिक हिसाबमा बलियो बनाउन सकिने व्यवसायी कर्णबहादुर हमालको भनाइ छ । पुरानो प्रविधिबाट उत्खनन गर्दा धेरै परिश्रम गर्नुपर्ने भएकाले आधुनिक प्रविधि भित्र्याउन निजीक्षेत्रले पहल गर्नुपर्ने उनको सुझाव छ ।

लघु जलविद्युत्को जिल्ला
हालसम्म बागलुङ जिल्लाका दरमखोला, ताराखोला, तमानखोला, निसीखोलालगायत खोलाबाट स्थानीयको सक्रियतामा लघु जलविद्युत् परियोजना सञ्चालन गरी करीब तीन मेगावाट विद्युत् उत्पादन गरिसकिएको छ । जिल्लामा करीब ८५ ओटा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । त्यसैले, बागलुङलाई लघु जलविद्युत्को जिल्लाका रूपमा पनि चिनिन्छ । उक्त परिचयलाई अझै व्यापक बनाउन जलविद्युत्मा लगानी वृद्धि गरिनुपर्ने सरोकारवालाहरू बताउँछन् । हाल जिल्लाको पश्चिम क्षेत्रमा रहेको दरमखोलाबाट निजीक्षेत्रको सक्रियतामा करीब २० मेगावाट विद्युत् उत्पादनको तयारी गरिँदै छ ।

एक गाउँ एक उत्पादनको योजना
नेपाल उद्योग वाणिज्य महासङ्घले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत बागलुङ जिल्लालाई नेपाली कागज निर्माणमा प्रयोग गरिने लोक्ताका लागि छनोट गरिसकेको छ । अहिले लोक्ताको व्यावसायिक प्रवद्र्धनका लागि विभिन्न काम भइरहेको बागलुङ उद्योग वाणिज्य सङ्घका सदस्य नरेश कँडेलले बताए । लोक्ता उत्पादनका लागि जिल्लामा प्रशस्त सम्भावना भए पनि अहिलेसम्म यसको व्यवसायीकरण नभएको उनको भनाइ छ । एक गाउँ एक उत्पादनमा लोक्तालाई व्यवसायीकरण गर्ने उद्योग वाणिज्य सङ्घको योजना रहेको कँडेलले जानकारी दिए । तर, उद्योग दर्तासम्बन्धी राज्यको नीति स्पष्ट नभएकाले उद्यमीहरूलाई समस्या परेको जिल्लाका व्यवसायीहरूको गुनासो छ । नेपाली कागज उद्योग दर्ताका लागि वन कार्यालय र घरेलु उद्योग विकास समितिको दुईथरि नीति भएकाले उद्यमीहरू समस्यामा परेको उनीहरू बताउँछन् । राज्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति ल्याएमा उद्यमीहरू उत्साहित हुने देखिन्छ ।

विप्रेषणमा अगाडि
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार बागलुङ विप्रेषण (रेमिट्यान्स) भित्र्याउनेमा पहिलो नेपालकै पहिलो जिल्लामा पर्छ । बागलुङमा मासिक करीब ५० करोड रुपैयाँ विपे्रषण भित्रिने बैङ्कद्वारा जारी प्रतिवेदनमा उल्लेख छ । तर, उक्त विप्रेषण उत्पादनमुखी काममा प्रयोग हुन नसकेको जिल्लास्थित अर्थशास्त्रका प्राध्यापकहरू बताउँछन् । लगानीका प्रशस्त क्षेत्र हुँदाहुँदै पनि अनुत्पादनक काममा विप्रेषणको प्रयोग भइरहेको प्राध्यापक दीपक कँडेलको भनाइ छ । पर्यटन, कृषि तथा जलविद्युत्मा विप्रेषणलाई लगानी गरेर दीर्घकालीन आम्दानीको स्रोत बनाउन सकिने उनी बताउँछन् । तर, बागलुङमा भित्रिने विपे्रषणको अधिकांश रकम भने विलासी वस्तुमा खर्च हुँदै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।