दन्त उपचार केन्द्र : दाँतको सौन्दर्य बढाउने व्यवसाय

Share News

केही वर्ष अघिसम्म दाँतको उपचार नेपालीहरूको प्राथमिकतामा पर्दैनथ्यो । अहिले दन्त उपचार केन्द्रमा उपचारका साथै दाँतलाई सुन्दर बनाउने जाने प्रचलन पनि बढेको छ । दाँत कीराले खाने तथा अन्य समस्याको कारण उपचारमा आउने एकथरि सेवाग्राही छन् भने अर्काथरि बिग्रिएको दाँत मिलाउन आउने पनि उत्तिकै छन् । त्यसैले, अहिले यस्ता उपचार केन्द्रमा दाँतसम्बन्धी विभिन्न समस्या लिएर आउने सेवाग्राहीको चाप बढ्न थालेको सम्बद्ध सञ्चालकहरू बताउँछन् । दन्त रोगको उपचार तथा सुन्दरताका लागि उपचार केन्द्र धाउनेको सङ्ख्या अहिले बराबरीजस्तै छ । सर्वसाधारणले दाँतसम्बन्धी समस्याको महत्व बुझ्दै गएकाले पनि दन्त उपचार केन्द्रको व्यवसाय विस्तार हुँदै गएको समाज डेण्टल हस्पिटलका प्रशासन प्रमुख अजय रेग्मी बताउँछन् ।

दन्त उपचार केन्द्रलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउने काम करीब १० वर्षअघि मात्रै शुरू भएको हो । त्यसअघि महँगो शुल्कका कारण यस्ता उपचार केन्द्रहरू सर्वसाधारणको पहुँचबाहिर थिए । विश्व स्वास्थ्य सङ्गठनले मुखको रोगको उपचारलाई विश्वको चौथो महँगो उपचारमा राखेको छ । शरीरको प्रमुख द्वार भएकाले मुख एवम् दाँतको रोग जटिल हुने गर्छ । तर, अन्तरराष्ट्रिय बजारको तुलनामा नेपालमा गरिने दाँतमुखको उपचारलाई सस्तो मानिन्छ । यूरोपियन देशहरूमा एउटा दाँत फिलिङ गरेको (भरेको) कम्तीमा पनि ५० अमेरिकी डलर पर्ने गर्छ । तर, नेपालमा करीब ५ सय रुपैयाँमा यो सेवा पाउन सकिन्छ । नेपालीहरूको प्रतिव्यक्ति आयको तुलनामा भने यो शुल्क केही महँगो पर्ने देखिन्छ । हाल नेपालभर करीब ३ हजार दन्त उपचार केन्द्र सञ्चालनमा रहेको अनुमान छ । तर, व्यवस्थित रूपमा सञ्चालन भएका डेण्टल कलेज तथा शिक्षण अस्पताल भने एक दर्जन मात्र छन् । पाँचओटा डेण्टल हाइजेनिक कलेज सञ्चालनमा छन् ।

जटिल समस्याका रूपमा लिइने दाँतमुखको उपचारका लागि अहिले बजारमा नयाँनयाँ प्रविधि भित्रिरहेका छन् । यस्ता प्रविधि बढीमा ७ वर्षसम्म प्रयोग गर्न सकिन्छ । यसकारण पनि दन्त उपचारको लागत महँगो हुन पुगेको हो । दन्त उपचार केन्द्रले व्यावसायिक रूपमा नाफा कमाउने भए पनि त्यसको अधिकांश रकम प्रविधि जडानमा खर्च गर्नुपर्ने सञ्चालकहरूको भनाइ छ । पछिल्लो समय दन्त उपचारसम्बन्धी अधिकांश प्रविधि नेपालमै उपलब्ध रहेकाले विदेश जानुपर्ने बाध्यता भने घटेको छ । दन्त उपचार केन्द्रहरूमा ओठ तथा गिजा मिलाउने, अर्थोडेण्टिक्स उपचार, दाँत कीराले खाएको, दाँत सफा गर्ने, दाँत फिलिङ गर्ने, नयाँ दाँत हाल्नेलगायत गरिन्छ । साथै नयाँ दाँत रोप्ने (डेण्टल इम्प्लाण्ट) सेवा पनि केही दन्त उपचार केन्द्रले प्रदान गर्न थालेका छन् । अहिले नेपालका करीब २५ प्रतिशत जनतामा दन्त उपचार सुविधा पुगिसकेको छ । दन्त उपचार केन्द्रहरूले समयसमयमा गर्ने निःशुल्क दन्त शिविरले पनि यस्ता समस्याबाट प्रभावितलाई धेरै राहत पुगेको छ । एउटा दन्त उपचार केन्द्र सञ्चालनका लागि कम्तीमा १५ चेयर (शय्या) हुनु आवश्यक मानिन्छ । अहिले प्रतिथान चेयरको करीब ४ लाख रुपैयाँ पर्छ । त्यस्तै, अन्य उपकरणहरू पनि आवश्यक हुन्छ । भौतिक पूर्वाधारबाहेक सबै प्रविधिहरू खरीद गर्नुपर्दा एउटा दन्त अस्पतालमा करीब १ करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।

आधाजति दन्त उपचार केन्द्र अनुमतिविना सञ्चालित
अहिले काठमाडौं उपत्यकाभित्र मात्र करीब २ हजार ५ सय दन्त उपचार केन्द्र सञ्चालनमा छन् । तर, झण्डै ५० प्रतिशत दन्त उपचार केन्द्रहरू दर्ता नगरीकन सञ्चालन भइरहेको कान्तिपुर डेण्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेण्टरका अध्यक्ष तथा कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठ बताउँछन् । यति ठूलो सङ्ख्यामा विनाअनुमतिका दन्त उपचार केन्द्र सञ्चालन भइरहे पनि नियामक निकायले भने प्रभावकारी कदम चाल्न नसकेको उनको गुनासो छ । काठमाडौं उपत्यकाका कतिपय दन्त अस्पताल तीनओटा चेयर मात्र व्यवस्था गरेर सञ्चालन भएको पाइन्छ । त्यस्तै, यस्ता अस्पतालमा निर्धारण गरेजति दन्त विशेषज्ञ तथा चिकित्सक पनि नभएको श्रेष्ठ बताउँछन् । ‘अहिले दन्त उपचार केन्द्रमा गैरव्यवसायी हाबी हुन थालेका छन्,’ उनले भने । दन्त चिकित्सकको क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन सरकारले समयसमयमा अनुगमन गर्नुपर्ने उपचार केन्द्र सञ्चालकहरूको भनाइ छ । सरकारले दाँतसम्बन्धी सामग्रीलाई मेडिकलमा नराखी कस्मेटिक शीर्षकअन्तर्गत राखेकाले पनि दन्त उपचार महँगो हुन पुगेको उनीहरू बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।