काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको पूँजी वृद्धिका लागि नीतिगत व्यवस्था गरेकोले गत वर्षदेखि नै बजारमा हकप्रद शेयर जारी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । पूँजी वृद्धिका लागि अधिकांश कम्पनीले हकप्रदलाई नै आधार बनाएका छन् । पछिल्लो समय एकैपटक कम्पनीहरूले हकप्रद जारी गरेकोले लगानीकर्ताले हकप्रदका लागि रकम जुटाउन नसकेको देखिन्छ । कम्पनीहरूले हकप्रद विक्रीका लागि तय गरेको निर्धारित अवधिमा आवश्यकताअनुसार आवेदन नपर्दा अवधि थप गरेर विक्री गरिरहेका छन् । हकप्रद जारी गर्दा सम्पूर्र्ण शेयर विक्री नभई बाँकी रहन गएमा लीलाम बढाबढमा समेत विक्री गर्न सक्छन् । यो व्यवस्था हुँदाहुँदै म्याद थप गरेरै विक्री गर्नुपर्ने बाध्यता कम्पनीको छ । यसले लगानीकर्तामा रकमको अभाव भएको प्रष्ट हुन्छ ।
साधारण शेयरकै मूल्यमा खरीद गर्न पाउने हकप्रदमा लगानी गर्न पछि हट्ने अवस्था त पक्कै छैन, पछिल्लो समय निरन्तर घट्दो शेयरबजार र तरलता अभावका कारण बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा बढी संस्थापक सदस्यले रकम जुटाउन समस्या देखिएको नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालको भनाइ छ । ‘कतिपय लगानीकर्ताले शेयर विक्री गरी हकप्रदका लागि रकम जुटाउने गरेको अवस्थामा हाल शेयरको बजार मूल्य कम हुँदा विक्री गर्न नसकेको अवस्था छ,’ उनले भने । राजनीतिक अस्थिरता हटेर शेयरबजारमा सुधार आउने आशामा लगानीकर्ता केही समय पछि हटेको हुन सक्ने अनुमानसमेत उनले गरे ।
हालसम्म ग्रीन डेभलपमेण्ट बैङ्क, प्रभु बैङ्क, कर्णाली डेभलपमेण्ट बैङ्क र लुम्बिनी विकास बैङ्कले हकप्रदमा आवेदन दिने म्याद थप गरेका छन् । ग्रीनले माघ २, प्रभुले माघ ७, कर्णालीले र लुम्बिनी विकास बैङ्कले माघ ११ देखि हकप्रद जारी गरेका हुन् । म्याद थप गरी ग्रीन, लुम्बिनी र प्रभुले फागुन २३ गतेसम्म र कर्णालीले चैत १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेका छन् । यसअघि प्रभुले फागुन १३, ग्रीनले फागुन ८, लुम्बिनी र कर्णाली डेभलपमेण्टले फागुन १६ गतेको मिति तोकेको थिए ।
ग्रीन डेभलपमेण्टले लगानीकर्ताका लागि ४ सय प्रतिशतका दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो । यस हकप्रदमा तोकिएको अवधिमा ५० प्रतिशत मात्र आवेदन पर्न आएकोले म्याद थप गरिएको विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ ।
यस्तै, २ सय २५ प्रतिशतका दरले ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद जारी गरेको कर्णाली डेभलपमेण्टको हकप्रदमा समेत कम आवेदन परेकोले अवधि थप गरेको विक्री प्रबन्धक प्रभु क्यापिटलको भनाइ छ । प्रभु नै विक्री प्रबन्धक रहेको लुम्बिनीको हकप्रदका लागि पनि म्याद थप गरिएको छ । लुम्बिनीले १० प्रतिशतका दरले २० लाख ८ हजार ८ सय ७८ दशमलव ४७ कित्ता हकप्रद जारी गरेको हो ।
राष्ट्र बैङ्कले तोकेबमोजिमको चुक्तापूँजी पुर्याउनकै लागि ४० प्रतिशत हकप्रद जारी गरेको प्रभु बैङ्कको हकप्रदको पनि म्याद थप गरिएको छ । प्रभुले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद जारी गरेको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लगानीकर्ताको मागबमोजिम म्याद थपिएको बताए ।
लगानीकर्ता लगातार घटिरहेको शेयरबजारको अवस्था हेरेर पछि हटेको हुनसक्ने उनको अनुमान छ । अर्को कारण अहिले बैङ्क तथा वित्तीय संस्थाले तरलता अभावका कारण सजिलै ऋण उपलब्ध नगराएकोले पनि यो अवस्था सृजना भएको हुन सक्ने उनी बताउँछन् ।यी कम्पनीसँगै श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, कामना सेवा विकास बैङ्क, नेको इन्स्योरेन्स, सिद्वार्थ बैङ्क, एशियन लाइफ इन्स्योरेन्स र फष्र्ट माइक्रोफाइनान्स हकप्रद निष्कासनको क्रममा छन् भने सूर्योदय लघुवित्त र प्राइम लाइफ इन्स्योरेन्सले निष्कासनको मिति तोकिसकेका छन् । लगातार घटिरहेको शेयरबजार, बैङ्क तथा वित्तीय संस्थामा देखिएको तरलता सङ्कट, राजनीतिक अस्थिरतालगायत कारण हकप्रद विक्री घटेको हुनसक्ने अनुमान सम्बन्धित व्यक्तिहरूले गरिरहेको अवस्थामा हाल निष्कासित र निष्कासनको क्रममा रहेका हकप्रद पूर्ण रूपमा विक्री हुने सम्भावना कम छ । प्राथमिक बजारमा तीव्ररूपमा शेयर निष्कासन हुनु र बजारमा बढी मात्रामा हकप्रद निष्कासनका कारण धेरै कम्पनीमा लगानी गरेका लगानीकर्तालाई रकमको अभाव भएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।