फोरजी विस्तार गर्दै टेलिकम कम्पनी

Share News
हाल विश्वव्यापी रूपमा प्रमुख मोबाइल प्रविधिहरू जीएसएम, सीडीएमए तथा वाईम्याक्स सञ्चालनमा छन् । मोबाइल प्रविधिको क्षमता दिनानुदिन विस्तार भई भ्वाइस तथा उच्च गतिको डाटा सेवाको विकास हुँदै गएको छ । हाल नेपालमा नेपाल टेलिकम, एनसेल तथा स्मार्ट सेलले फोर जी सेवा शुरू गरिसकेका छन् । १ वर्षअघि अनुमति पाएर काठमाडौं र पोखराबाट शुरू गरेको सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभर एकैपटक फोरजी सेवा पु¥याउने जानकारी दिएको छ । सातै प्रदेशमा यो सेवा विस्तारका लागि नेटवर्क, बीटीएस र टावर थप गर्न लगानी लाग्ने भएकोले विश्वव्यापी रूपमा टेण्डर आह्वान गरिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । ‘टेण्डर बिट गरेका कम्पनीको प्रपोजल अहिले अध्ययन गरिरहेका छौं,’ उनले भनिन्, ‘अबको १ वर्षभित्र सातै प्रदेशमा फोरजी सेवा विस्तार गरिसक्छौ ।’ सरकारी कम्पनी भएकोले सार्वजनिक खरीद प्रक्रियाअनुसार जानुपर्ने भएकोले सेवा विस्तारका लागि समय लागेको उनको भनाइ छ । प्रक्रिया लामो हुनेबाहेक अन्य समस्या नरहेको उनले बताइन् । योपछि टेलिकम भ्वाइस ओभर इण्टरनेट प्रोटोकल (भोओएलटी) सेवा ल्याउने योजनामा छ । नेटवर्क विस्तारपछि सातै प्रदेशमा यो सुविधा उपभोक्ताले पाउनेछन् । नयाँ प्रविधिमा गएपछि फोन गर्दा अहिलेकोभन्दा कम अवरोध आउने टेलिकमले बताएको छ । एनसेलले पनि उपत्यकासहित १९ ओटा शहरमा फोजी सेवा विस्तार गरिसकेको छ । स्मार्ट सेल यो सेवा शुरू गरेर अगाडि बढेको छ । के हो फोरजी ? फोरजी सेवा एलटीई (लङ टर्म एभोल्युशन) प्रविधिमा आधारित छ । एलटीई प्रविधिमा उपलब्ध फ्रिक्वेन्सी ब्याण्डविथअनुरूप डाटाको गति प्राप्त हुन्छ । हाल यो प्रविधिबाट ३२ दशमलव ४ एमबीपीएसको गतिमा इण्टरनेट चलाउन सकिन्छ । यो प्रविधिमा अधिकतम फ्रिक्वेन्सीको प्रयोगद्वारा बढीमा १ सय एमबीपीएससम्मको गति प्राप्त हुन्छ । थ्रीजीमा सर्किट स्विचिङ प्रविधिमा सञ्चालन हुन्थ्यो भने फोरजी गुणस्तरीय सेवा प्रदान गर्न सकिने परिष्कृत प्रविधि प्याकेट स्विचिङ प्रविधिमा आधारित छ । सामान्य रूपमा भन्दा फोरजी फाष्ट डाटा हो । प्याकेट डाटामा आधारित भएको हुनाले एलटीईमा प्राप्त हुने सबै सेवा डाटाको रूपमा नै सञ्चालन हुन्छन् । एलटीईमा भ्वाइस सेवा पनि डाटामै सञ्चालन हुन्छ । यसलाई भ्वाइस ओभर एलटीई (भीओएलटीई) भनिन्छ । यसबाट उच्च गुणस्तरको एचडी भ्वाइस प्राप्त हुन्छ । यसअघिका सबै प्रविधि टीडीएममा (सर्किट स्विचिङ) आधारित थिए । त्यसबाट चलाइने डाटा टीडीएममा आधारित रही सम्प्रेषण गरिन्थ्यो । अबका पाइला फाइभजीतिर प्रविधिको विकाससँगै फाइभजीको पनि अध्ययन अनुसन्धान हुँदै आएको छ । विश्वका विभिन्न मुलुकसहित छिमेकी भारतमा पनि परीक्षण भइसकेको फाइभजी प्रविधि केही वर्षभित्रै शुरू हुनेछ । तर यो प्रविधि नेपालमा आउन अझै धेरै समय लाग्ने देखिन्छ । भर्खरै मात्र फोरजीमा पाइला टेकेको नेपालमा प्रमुख शहरी क्षेत्रबाहेक अन्य स्थानमा अझै यो सेवा पुग्न सकेको छैन । नेपाल टेलिकमले पनि फाइभजीको अध्ययन गरिरहेको जानकारी दिएको छ । फाइभजीको स्ट्याण्डर्ड
  • दशौं हजार प्रयोगकर्ताका लागि कम्तीमा प्रतिसेकेण्ड १० मेगाबाइटको दरमा डाटा आदानप्रदान हुनुपर्दछ ।
  • महानगरीय इलाकामा कम्तीमा १०० मेगाबाइट प्रतिसेकेण्डको दरमा डाटा आदानप्रदान हुनुपर्दछ ।
  • एउटै कार्यालयको सोही तलामा यस्तो डाटा १ गिगाबाइट प्रतिसेकेण्डले निरन्तर आदानप्रदान हुनुपर्दछ ।
  • यसमा स्पेक्ट्रमको क्षमता फोरजीको भन्दा कैयौं गुणा बढी हुन्छ ।
  • यसमा एलटीईमा भन्दा कम मात्र डाटा गुम्ने अवस्था हुन्छ ।
  • ६०० मेगाहर्जदेखि ५० गिगाहर्जको रेञ्जसम्म सिग्नल पु¥याउन सकिन्छ ।
  • यसकोे स्पेक्ट्रम ६०० र ७०० मेगाहर्ज ब्याण्ड तोकिएको छ ।
  • टी मोबाइल र भेरिजोनले यसअघि नै सन् २०१८ र २०१९ भित्र फाइभजी नेटवर्क शुरू गर्ने प्रतिबद्धता गरिसकेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।