सुदूरपश्चिम महोत्सव विशेष : महोत्सवमा सुदूरपश्चिमका सम्भावनाको खोजी

Share News

मङ्सिर २२ देखि पुस २ गतेसम्म कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै छ । कैलाली उद्योग वाणिज्य सङ्घको अगुवाइमा हुने महोत्सवमा सुदूरपश्चिमका अन्य आठओटै जिल्लाको सक्रिय सहभागिता रहेको महोत्सवका निर्देशक एवम् कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको महोत्सव सातौं संस्करणसम्म आइपुग्दा सुदूरपश्चिमबासीले धेरै ज्ञान र अनुभव प्राप्त गरेका छन् । ‘महोत्सवको शुरुआती दिनहरूमा सबै स्टल बूकिङ हुन पनि गाह्रो थियो,’ कुँवरले भने, ‘सातौं महोत्सवमा हामीले मागेजति स्टल उपलब्ध गराउन सकेनौं ।

उद्योग वाणिज्य सङ्घ कैलालीको वार्षिक क्यालेण्डरमै परेको यस महोत्सवलाई सुदूरपश्चिमबासीले एउटा पर्वका रूपमा ग्रहण गरेका छन् । महोत्सवका माध्यमबाट यस क्षेत्रको उद्यमशीलता बढिरहेको कैलाली उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष दिनेश राजभण्डारीको अनुभव छ । उनले भने, ‘यस क्षेत्रका महिला, विद्यार्थी र किसानसमेतमा व्यावसायिक क्षमता वृद्धि भएको छ ।’ ‘पर्यटन, कृषि, उद्योग र व्यापार, समुन्नत सुदूरपश्चिम विकासको आधार’ भन्ने नारा सार्थक बनाउन यहाँका उद्योगीव्यवसायी, किसान र बुद्धिजीबी समान रूपले लागेका छन् । पाँच विकासक्षेत्रमध्ये सुदूरपश्चिम विकासमा निकै पछाडि छ । ‘पूर्वाधार विकासमा राज्यद्वारा नै ठगिएको महसूस गर्दै आएका सुदूरपश्चिमबासी अब सरकारको मात्र मुख ताकेर यहाँको विकास हुन सक्दैन भन्ने निष्कर्षमा पुगेका छन्,’ डेभलपमेण्ट बैङ्कर्स एशोसिएशनका पूर्वअध्यक्ष झपट वोहराले भने । उनी भन्छन्, ‘अब सुदूरपश्चिमको विकासका लागि हामी निजीक्षेत्रबाट पनि भरपुर प्रयास गर्नेछौं ।’ स्थानीय सम्भावनाको खोजी र त्यसलाई मूर्तरूप दिन पनि महोत्सवले प्रेरणा दिने उनको बुझाइ छ ।

कृषि, पर्यटन, जडीबुटी र जलस्रोत यस क्षेत्रको विकासका मुख्य आधार हुन् । कृषि प्रशोधन, सिमेण्ट, चिनी, जडीबुटी उद्योग र महप्रशोधन यस क्षेत्रका प्रचुर सम्भावना बोकेका उद्योग हुन् । यसबाहेक काठ, पर्यटन र जलस्रोत, डेरी, कोल्ड स्टोरजस्ता उद्योगको समेत यो क्षेत्रले पहिचान गरिसकेको छ ।

कैलाली र कञ्चनपुरबाहेकका सातओटा पहाडी जिल्ला बेमौसमी तरकारी र फलफूल उत्पादनका निम्ति पहिचान गरिएका छन् । विशेषगरी कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा यस क्षेत्रका यी सम्भावनाहरूलाई पहिचान गरिएको हो । यस क्षेत्रमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, अपी र शैपाल हिमाल, घोडाघोडी, बेतकोट, जाखोरजस्ता प्रख्यात ताल, त्रिपुरासुन्दरी, शैलेश्वरी, बडीमालिका वैद्यनाथजस्ता धार्मिक स्थलहरू पर्यटनका दृष्टिले महŒवपूर्ण छन् । पहिचान गरिएका यस्ता क्षेत्रमा लगानीको पनि उत्तिकै आवश्यकता छ ।

कैलालीमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण भएर यी सबै क्षेत्रमा उन्नतिको मार्ग खुल्ने आशामा बसेका सुदूरपश्चिमबासीको त्यो अपेक्षा अहिलेसम्म पूरा हुन सकेको छैन । कैलालीको हरैयामा सेज निर्माणका लागि बनाइएको गुरुयोजना अहिले बेबारिसे अवस्थामा छ । सेजका निम्ति छुट्ट्याइएको झण्डै १ सय ८० हेक्टर जमीनमा १ सय ३० ओटा प्लट निर्माण गरिएको छ । बजेटको व्यवस्था नहुँदा त्यो क्षेत्रमा खासै निर्माण कार्य हुन सकेको छैन । सरकारको यो ढिलासुस्तीले यस क्षेत्रका उद्योगीव्यवसायीलाई निराश बनाएको कैलाली उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष राजभण्डारीले बताए ।

सरकारी व्यवहार र क्रियाकलापबाट निराश बने पनि यस क्षेत्रका उद्यमीहरूको यस क्षेत्रको विकासका निम्ति क्रियाशीलतामा कमी आएको छैन । महोत्सव सञ्चालनजस्ता क्रियाकलापबाट सुदूरपश्चिमको आर्थिक गतिविधिलाई तीव्र बनाउन यहाँका उद्योगी व्यवसायी लागिपरेका छन् । गतवर्ष सुदूरपश्चिम महोत्सवमा झण्डै ५ लाख मानिसको सहभागिता र रू. १० करोडको कारोबार भएको थियो । तर, अहिलेको महोत्सवमा झण्डै ६ लाख नागरिकको सहभागिता र १५ करोड रुपैयाँको व्यवसाय हुने आशा अध्यक्ष कुँवरले राखेका छन् । यो महोत्सवमा भारतबाट समेत सहभागिता हुने हुँदा अवलोकनकर्ताको सङ्ख्या अझै बढ्न सक्ने सङ्घको अपेक्षा छ ।

सुदूरपश्चिमको समग्र विकासका निम्ति कैलाली उद्योग वाणिज्य सङ्घले विगतमा सरकारसमक्ष २१ बुँदे माग राखेको थियो । ती माग पूरा गराउन राज्यप्रमुखहरूलाई पटकपटक २१ किलोको माला लगाएर सुदूरपश्चिमबासीले शालीन दबाब पनि दिएका हुन् । तीमध्ये तीनओटा रङ्गशाला निर्माण, हुलाकी सडक र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाको माग अहिले पूरा भएका छन् । तर, अझै १८ ओटा माग सरकारले सम्बोधन नगरेका कारण अब राज्यप्रमुखलाई १८ किलो तौलको माला लगाएर आफ्ना मागप्रति संवेदनशील हुन आग्रह गर्ने कैलाली उद्योग वाणिज्य सङ्घको योजना छ ।

सङ्घले राखेका माग सरकारले पूरा गर्ने हो भने सुदूरपश्चिमको पूर्वाधार विकासको बाटो तुरुन्तै खुल्ने देखिन्छ । सङ्घको बाँकी १८ बुँदे माग राज्यले पूरा गर्न नसक्ने अवस्था पनि छैन । केन्द्रमा चाहे जुनसुकै पार्टीको सरकार किन नहोस्, यी माग सम्बोधन गर्न कुनै पनि कठिनाइ पर्ने देखिँदैन । तर, यी माग पूरा गर्न सरकारलाई कसले रोकेको छ, सुदूरपश्चिमबासीहरू चकित छन् । ‘सबै विकासक्षेत्रलाई समानुपातिक रूपले बजेट विनियोजन गर्ने सरकारी नीति हुने हो भने हाम्रो माग पूरा गर्न अतिरिक्त आर्थिक बोझ पर्दैन,’ अध्यक्ष कुँवरले भने ।





निजीक्षेत्रको लगानी प्रोत्साहन जरुरी छ




कर्णबहादुर कुँवर

अध्यक्ष, कैलाली उद्योग वाणिज्य सङ्घ



महोत्सव यस क्षेत्रका सबै जनताको साझा विषय हो । सबै क्षेत्रबाट सहयोग भयो भने यसबाट सार्थक परिणाम निस्कन सक्छ । महोत्सवले सबै जिल्लाका प्रमुख आर्थिक समस्या पहिचान गरी त्यसको समाधानका लागि पहल गर्दै आएको छ ।

पाँचै विकासक्षेत्रले सरकारबाट पाउने वार्षिक बजेट बराबर हुनुपर्ने हाम्रो प्रमुख माग हो । छिमेकी मुलुक भारतको उत्तराखण्डमा त्यहाँको सरकारले करछूट गरेर थुप्रै व्यवसायी तथा निजीक्षेत्रलाई लगानी गर्न प्रोत्साहित गरेको छ । यहाँ पनि त्यसो हुन सक्यो भने विकास भएरै छाड्छ । तर, यसका लागि सरकार गम्भीर हुनु आवश्यक छ ।





लगानीमा विशेष जोड दिनुपर्छ



झपट वोहरा
सल्लाहकार समिति संयोजक
कैलाली उद्योग वाणिज्य सङ्घ  




सुदूरपश्चिम महोत्सवलाई स्थानीय जनताले उत्सवका रूपमा मनाउँदै आएका छन् । वर्षेनि मङ्सिर २२ देखि पुस २ गतेसम्मलाई वार्षिक क्यालेण्डर बनाएर ‘सुदूरपश्चिम महोत्सव’को आयोजना गर्ने गरिन्छ ।  कैलाली उद्योग वाणिज्य सङ्घ सुदूरपश्चिमको मातृसंस्थाजस्तै भएको छ । यसले विकास निर्माण र अन्य मुद्दाहरूको उठान गर्ने एवम् सरकारलाई दबाब दिँदै आएको छ । पछिल्ला दिनमा यसको सान्दर्भिकता पुष्टि हुँदै छ ।

सुदूरपश्चिममा कुल बजेटको ८÷१० प्रतिशत मात्र बजेट छुट्ट्याउने गरिएको छ । गत आवको तथ्याङ्क हेर्दा यस क्षेत्रलाई १२ दशमलव १ प्रतिशत बजेट विनियोजन गरिएको थियो । पाँचओटै विकासक्षेत्रले बराबर बजेट पाउनुपर्छ । तर, त्यसो हुन सकेको छैन । यस क्षेत्रबाट पटकपटक प्रधानमन्त्री, दर्जनौं को सङ्ख्यामा मन्त्री र राज्यमन्त्रीहरू भएका छन् । तर, उनीहरूले यो क्षेत्रलाई विकासको बाटोमा लैजाने प्रयास गरेनन् । यसबाट के देखिन्छ भने सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेर नीतिनिर्माण तहमा पुग्ने नेताहरूले नै यस क्षेत्रलाई बिर्सेका छन् ।

न्यून बजेट र दलहरूले विकासका लागि उचित ध्यान दिन नसक्दा सुदूरपश्चिमको मानव सूचकाङ्क अन्य विकासक्षेत्रको तुलनामा निकै पछाडि छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार र अन्य पूर्वाधारमा पनि सुदूरपश्चिम वर्षेनि पछि पर्दै गएको छ । केही वर्षअघि सरकारले कैलालीमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गर्‍यो । कैलालीकै गेटा गाविसमा ३ वर्षअघि मेडिकल कलेज स्थापना र टीकापुरमा आईटी पार्क स्थापना गर्ने घोषणा गर्‍यो ।  तर, घोषित केही काम पनि भएका छैनन् । सरकारले यहाँका नागरिकलाई जिस्काउने काम मात्र गरिरहेको छ । पर्यटन, जलस्रोत र अन्य प्राकृतिक सम्पदाको सदुपयोग गर्न सकिए यो क्षेत्र विकास निर्माणको बाटोमा छोटो अवधिमै अगाडि पुग्नेछ ।

यहाँ ३० हजार मेगावाट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । सरकारले यो जलविद्युत्लाई सदुपयोग गर्न सक्ने हो भने देशको मुहार नै परिवर्तन हुनेछ । पश्चिम सेती, पञ्चेश्वर, माथिल्लो चमेलिया, माथिल्लो कर्णालीजस्ता जलविद्युत् उत्पादन हुने नदीनालाबारे बारम्बार चर्चा हुने गरे पनि सरकार गम्भीर बन्न सकेको छैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।