सुदूरपश्चिम महोत्सव विशेष

Share News


स्थानीय उद्योगलाई प्रोत्साहन दिनुपर्छ


भानदेव बडू
निमित्त प्रमुख जिल्ला अधिकारी, कैलाली


सुपको विकासका लागि महोत्सव निकै फलदायी हुनेछ । मुलुककै थोरै बजेट छुट्टिने र त्यही पनि खर्च नहुने अवस्था छ, यहाँ को । त्यसैले, विकासका लागि पर्याप्त बजेट ल्याउन विशेष पहल गर्नु जरुरी छ । कार्यक्रममा त्यसबारे कुरा उठ्ने नै छ । महोत्सवलाई सफल बनाउन  प्रशासन कटिबद्ध छ । कार्यक्रम आयोजनामा देखिएका समस्याको समाधान तथा सुरक्षा व्यवस्थाका लागि प्रशासनले पूर्ण तयारी गरिसकेको छ ।

सुपको विकासका लागि ‘विशेष प्याकेज’को व्यवस्था गर्न पहिला केन्द्रबाटै दबाब दिनुपर्छ । त्यसका लागि केन्द्रीय नेतृत्व तात्नुपर्छ । विनियोजित बजेट पूरै खर्च हुने व्यवस्था मिलाउनुपर्छ । यहाँ ठूलाठूला आयोजना उदाउने सपना बाँडिएको छ, यो राम्रो हो । तर, यहाँका स्थानीय उद्योग र जडीबुटीको सम्भावनालाई प्राथमिकता दिन सके त्यो निकै प्रभावकारी हुन्छ । स्थानीय कच्चापदार्थमा आधारित उद्योग यहाँ  स्थापना हुन सकेका छैनन् । हामी विराटनगरमा प्याक भएको चामल खाइरहेका छौं । धार्मिक–सांस्कृतिक तथा प्राकृतिक पर्यटन यस क्षेत्रको अर्को सम्भावना हो । त्यसलाई प्रचारमा ल्याउन महोत्सव निकै प्रभावकारी हुन्छ । छिमेकी देश भारतको उत्तराखण्ड ‘हर्बल स्टेट’ र ‘जडीबुटी स्टेट’का रूपमा परिचित छ । सुपले पनि त्यो मोडल पछ्याउन सके यहाँको विकासमा कायापलट हुन सक्छ ।



आत्मनिर्भर बनाउनु महोत्सवको लक्ष्य हो


दिनेश राजभण्डारी
निवर्तमान अध्यक्ष, कैलाली उद्योग वाणिज्य सङ्घ



सुदूरपश्चिम महोत्सव हाम्रा लागि महोत्सव मात्र होइन, यो विशेष र महत्वपूर्ण पर्वसमेत हो । यस क्षेत्रका व्यवसायी, किसान सबैलाई प्रोत्साहित गर्न पनि महोत्सवले विशेष भूमिका निर्वाह गर्दै आएको छ । खासगरी यस क्षेत्रका उत्पादनको प्रवद्र्धनमा महोत्सवले सहयोग पुर्‍याएको छ ।

महोत्सव शुरू गरिएको ६ वर्ष पूरा भएको छ । ३ वर्षदेखि ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ हामीले यो महोत्सव सञ्चालन गर्दै आएका छौं । कैलाली उद्योग वाणिज्य सङ्घको पहल र नेतृत्वमा महोत्सव हुँदै आएको भए पनि सुदूरपश्चिमका ९ ओटै जिल्लाको समान सहभागिता रहनु यसको मुख्य विशेषता हो । विगतका महोत्सवबाट हामीले धेरै कुरा सिक्ने र अनुभव गर्ने मौका पाएका छौं । किसान र विद्यार्थीलाई पनि महोत्सवले उद्यमशील बन्न सघाएको छ ।

सुदूरपश्चिमलाई आत्मनिर्भर बनाउनु नै महोत्सवको मुख्य उद्देश्य र लक्ष्य हो । महोत्सवले मात्र सुदूरपश्चिमलाई आत्मनिर्भर बनाउन सक्दैन । त्यसका लागि सम्पूर्ण राजनीतिक दलको सहयोग र साथ चाहिन्छ । साथै, सबै दलले आआफ्ना कार्यकर्तालाई अनिवार्य रूपमा उद्यमशील बनाउनुपर्‍यो । राजनीतिक नेतृत्वसँग दलहरूसँग हाम्रो विनम्र आग्रह छ ‘तपाईंहरू आआफ्ना दलविशेषमा राजनीति गनुर्होस् । तर, आर्थिक क्षेत्र र नीतिमा पटक्कै हस्तक्षेप नगनुर्होस् ।’ सुदूरपश्चिम सम्भावनाको खानी भएको क्षेत्र हो ।



महोत्सव जिल्लाकै पहिचान हो


उपेन्द्र विष्ट
महासचिव, कैलाली उद्योग वाणिज्य सङ्घ



विगत ६ वर्षदेखि आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवले यहाँका ९ जिल्लाकै प्रतिनिधित्व गरेको छ । महोत्सवले यस क्षेत्रको कला, संस्कृति, रीतिरिवाज, पर्यटन र प्राकृतिक सम्पदाको प्रचारप्रसारमा निकै सहयोग पुगेको महसूस स्थानीय जनताले गरेका छन् । भौगोलिक रूपले विकट सुपमा विकासका सम्भावना पनि उत्तिकै छन् । त्यसका लागि आर्थिक उन्नति जरुरी छ । आर्थिक उन्नतिका लागि सहकार्य गर्न निजीक्षेत्र तत्पर छ । महोत्सवले लगानीको स्रोत पहिचान गर्नुका साथै आर्थिक उपार्जनका लागि निकै लाभदायी हुने हामीले अपेक्षा गरेका छौं । महोत्सव सफल बनाउन प्रशासनले सुरक्षाको पूर्ण प्रबन्ध मिलाएको बताएको छ । अञ्चल प्रहरी कार्यालयपरिसरमा आयोजना गरिने महोत्सवमा सीसीटीभीसमेत जडान गरिएको छ ।




महोत्सवले आर्थिक सम्भावनाको खोजी गर्छ



जयराज जोशी
सचिव, कैलाली उद्योग वाणिज्य सङ्घ



कैलाली उद्योग वाणिज्य सङ्घले ६ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको यो महोत्सव तथा व्यापारिक मेलाले धेरै आर्थिक सम्भावनाको मार्गप्रशस्त गरेको छ । मेलामा सुदूरपश्चिममा विकासका सम्भावना र समस्यामाथि पनि बहस हुनेछ । त्यसमा विज्ञहरूले व्यक्त गर्ने अवधारणाले भोलिको यहाँको विकासका लागि मार्गप्रशस्त गर्नेछ । व्यवसायीको हकहितका लागि वाणिज्य सङ्घले यसअघि नै २१ बुँदे माग सरकारसमक्ष पेश गरेकोमा तीनओटाको मात्र सुनुवाइ भएको छ । अन्य माग पूरा गर्न हामी सङ्घर्षरत छौं । मागलाई लिएर हामी चाँडै नै प्रधानमन्त्रीलाई भेट्नेछौं ।




उच्चशिक्षालाई स्थानीय उत्पादनसँग जोड्नुपर्छ



भीमबहादुर साउद
जिल्ला शिक्षा अधिकारी, कैलाली




सुदूरपश्चिम विकासका दृष्टिले निकै पछाडि छ । यस क्षेत्रको विकासका लागि सरकारी तथा निजीक्षेत्रले लघु उद्यमलाई विशेष जोड दिनुपर्छ । पर्यटन क्षेत्रमा लगानी जुटाउनुपर्छ । पर्यटकीय क्षेत्रको प्रसारप्रसार गरेर मात्र पुग्दैन । ती स्थानमा पर्यटक पुग्न ‘ट्र्याक’ खोल्नु आवश्यक छ । स्थानीय पर्यटनलाई विशेष जोड दिन पहल गर्नुपर्छ । स्थानीय पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न सके मात्र आर्थिक रूपले सबल हुन सकिन्छ । सुदूरपश्चिम विश्वविद्यालयले पनि यहाँको मौलिकता बुझेर त्यसैअनुसारको अध्यापन थाल्नुपर्छ । साथै, त्यस्ता सम्भावित क्षेत्रबारे अनुसन्धान केन्द्रहरू स्थापना गर्नुपर्छ । कृषि, वनविज्ञान, मेडिकल, पर्यटन र जलस्रोतसम्बन्धी रिसर्च सेण्टरहरू स्थापना गरेर विकासको पूर्वाधार जुटाउन सकिन्छ । यसले विश्वविद्यालयका लागि आवश्यक पाठ्यक्रम बनाउन मद्दत गर्छ ।




वन जोगाउने अभियान थालौं


गोकर्ण भट्ट
अध्यक्ष, वन पैदावार व्यवसायी सङ्घ, कैलाली


कैलाली नेपालमै सबैभन्दा बढी काठ उत्पादन हुने जिल्ला हो । यहाँको कुल क्षेत्रफलको ४२ प्रतिशत वन छ । सरकारी अदूरदर्शिताका कारण यहाँका वनमा वार्षिक ५ लाख क्युफिट काठ सडेर गइरहेको छ । यसले एकातिर सरकारलाई घाटा पुगेको छ भने अर्कातिर वन जोगाउने अभियान थाल्न बाधक बनेको छ । सरकार कानमा तेल हालेर बसेका कारण यहाँको चुरे कटान रोकिएको छैन । दिनदिनै डाँडाकाँडा नाङ्गा बन्दै गएका छन् ।





 
आर्थिक सम्भावनाका थुप्रै विकल्प छन्



मेघराज भट्ट
अध्यक्ष, सेती–महाकाली ट्रक व्यवसायी सङ्घ, कैलाली



सुदूरपश्चिममा रहेका धार्मिक र प्राकृतिक सम्पदाको प्रचारप्रसारका लागि महोत्सव विशेष फलदायी हुनेछ । पर्यटकीय महत्व बोकेका स्थानको प्रचारप्रसार गर्न सके आर्थिक सम्भावनाका थुप्रै विकल्प देखापर्छन् । धनगढीमा यातायातका साधन बढ्दै जाँदा बजार अव्यवस्थित बन्दै गएको छ । यसलाई प्रशासनले बेलैमा व्यवस्थापन गर्नुपर्छ । सवारीसाधनको प्रकृतिअनुसार सडक निर्धारण गर्नुपर्छ । यातायात क्षेत्रमा बैङ्कले सहजै लगानी गरे पनि उद्योगमा लगानी सहज छैन । यसले गर्दा उद्योग सञ्चालन गर्न चाहनेहरू निराश हुनुपर्ने अवस्था छ ।






कृषिमै सुदूरपश्चिमको भविष्य छ



खगेन्द्रप्रसाद शर्मा
वरिष्ठ कृषि विकास अधिकृत, कैलाली


सुदूरपश्चिम महोत्सवले ल्याएको ‘सुन्दर सुदूरपश्चिम’ नारा अहिले सबैको आकर्षण बनेको छ । कृषिक्षेत्रमा प्रशस्त सम्भावना बोकेको कैलाली र कञ्चनपुर अन्नभण्डार हो । टीकापुरका केरा व्यवसायी कालु हमालको योगदानको कदर गर्नैपर्छ । उनको शैलीबाट अरूले पनि पाठ सिक्न सक्छन् । कैलालीमा २ सय प्राकृतिक पोखरी छन् । तीबारे महोत्सवमा विशेष जानकारी गराउन सकिन्छ । कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा सहकारी संस्था स्थापना गरेर किसानले उत्पादनशील क्षेत्रमा लगानी गरेका छन् । यहाँ उत्पादन हुने मह गुणस्तरीय र चर्चित छ । त्यसको बजारीकरण गर्न सके किसानले वार्षिक करोडौं रुपैयाँ कमाउनेछन् । यसअघिका महोत्सवले स्थानीय उत्पादनलाई त्यति प्रोत्साहन दिन सकेका थिएनन् । यो महोत्सवले त्यस दिशामा पहल गर्नुपर्छ ।





धनगढीलाई ‘ग्रीन क्लिन’ बनाइनुपर्छ



सुवास शाही
निर्देशक, सुदूरपश्चिमाञ्चल एकेडेमी



धनगढीमा हुने सुदूरपश्चिमाञ्चल महोत्सवले यस क्षेत्रको कला र संस्कृतिको विकासमा टेवा पुर्‍याएको छ । तर, फोहोर व्यवस्थापनमा भने त्यति ध्यान दिन सकिएको छैन । चाँडै हामीले एउटा प्रतियोगिता आयोजना गर्दै छौं, धनगढीलाई ‘ग्रीन क्लिन’ बनाउन । त्यसका लागि क्लिन अभियान लिएर केही वर्षदेखि लागिरहेका छौं ।




 
महोत्सवले दीर्घकालीन फाइदा पुग्छ



मायाप्रकाश भट्ट
अध्यक्ष, कैलाली हार्डवेयर व्यवसायी सङ्घ



महोत्सवले स्थानीय उत्पानलाई विशेष ध्यान दिनुपर्छ । महोत्सव सञ्चालनका लागि बहुराष्ट्रिय कम्पनीको सहयोग चाहिन्छ । स्थानीय मौलिक उत्पादनको बजारीकरण तथा प्रचारप्रसार गर्न सकिएमा महोत्सवले दीर्घकालीन फाइदा दिन्छ । साथै दैनिक सरसफाइमा पनि विशेष ध्यान दिइनुपर्छ । सुदूरपश्चिमका पर्यटन सम्भावनामा सरकारले ध्यान पुर्‍याउन सकेको छैन । पहाडमा रहेका अपिनाम्पा र खप्तड क्षेत्रको मात्र प्रचारप्रसार हुँदै आएको छ । तराईका कैलाली र कञ्चनपुरमा पनि सामाजिक र सांस्कृतिक महत्वका पर्यटकीय क्षेत्र छन् । महेन्द्रनगरको नाका जोड्ने ब्रहमदेव लिङ्करोड, बैतडीमा पक्की पुल र कृषि उपजको बजारीकरणका लागि पहल हुनुपर्छ ।



 
हर्बल उद्योगको ठूलो सम्भावना छ



सुरेन्द्र चन्द
क्याम्पस प्रमुख, कैलाली बहुमुखी क्याम्पस, धनगढी


सरकारले यस क्षेत्रको समानुपातिक विकासका लागि ध्यान दिन सकेको छैन । सुदूरपश्चिममा हर्बलको ठूलो सम्भावना छ । इलाममा चिया प्रसिद्ध भएर यूरोपलगायत मुलुकमा ख्याति कमाएको छ । त्यस्तै, सुदूरपश्चिममा पनि प्राकृतिक जडीबुटी र अन्य सम्पदाहरूको प्रचुर सम्भावना छ ।






महोत्सव हाम्रो विशेष पर्व हो



गोपी हमाल
केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासङ्घ


सुदूरपश्चिम महोत्सव यस क्षेत्रका बासिन्दाका लागि महत्वपूर्ण अवसर हो  । महोत्सवको विषयमा स्थानीय सधैं सकारात्मक छन् । महोत्सवलाई सबैले पर्वका रूपमा मान्दै आएका छन् । महोत्सवले यहाँको कलासंस्कृति एवम् पर्यटनको प्रचारप्रसारमा विशेष जोड दिनुका साथै विकासका लागि सबैलाई एकै ठाउँमा ल्याउन टेवा पुर्‍याउनेछ । यस क्षेत्रका अगुवाहरू सबै एकजूट भएमा विकास र आर्थिक मुद्दा सल्टिन सहयोग पुग्छ । महोत्सवले सबै क्षेत्रका मुद्दालाई उत्तिकै प्राथमिकता दिनेछ ।



महोत्सवमा सीसी क्यामेरासहितको सुरक्षा व्यवस्था छ



पुष्पराज कुँवर
संयोजक, महोत्सव सुरक्षा समिति
सदस्य, कैलाली उद्योग वाणिज्य सङ्घ




मोफसलका जिल्लाहरूमध्ये कैलाली शान्तिसुरक्षाका दृष्टिले बलियो मानिन्छ । तर पनि हामी ढुक्क भएर बसेका छैनौं । यसबीचमा हामीले सुरक्षा निकायसँग महोत्सव सुरक्षा विषयमा पटकपटक अन्तरक्रिया गरेका छौं । प्रशासन, क्षेत्रीय प्रहरी, अञ्चल प्रहरी, क्षेत्रीय सशस्त्र प्रहरी, जिल्ला प्रशासन र जिल्ला प्रहरीसँग समन्वय गरेर हामी अघि बढेका छौं । त्यसैले, महोत्सवमा शान्तिसुरक्षा कायम गर्ने विषयमा ढिलासुस्ती वा कमजोरीप्रति हामी कुनै पनि सम्झौता गर्दैनौं । यो त राज्यका तर्फबाट प्रदान गरिने सुरक्षाको विषय भयो, यसबाहेक निजी सुरक्षा संयन्त्रका साथ हामीले आवश्यकताअनुरूप स्वयम् सेवकसमेत परिचालन गर्नेछौं । त्यसैले, महोत्सवमा शान्तिसुरक्षाको विषयप्रति हामी सम्पूर्ण सुदूरपश्चिमबासीलाई ढुक्क हुन अनुरोध गर्न चाहन्छौं । तर, यसका लागि सुदूरपश्चिमबासीको पनि पूर्ण सहयोगको अपेक्षा राखेका छौं ।

हामीले महोत्सव अवधिका निम्ति त्रिकोणात्मक सुरक्षा अवधारणा अपनाएका छौं । राज्यको सुरक्षा निकाय, निजीक्षेत्रको सुरक्षा संयन्त्र र स्वयम् सेवक परिचालन गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाएका छौं । यस कार्यमा सुदूरपश्चिम खेलकुद विकास समितिले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । महोत्सव क्षेत्रभित्रका संवेदनशील स्थानमा कम्तीमा आठओटा सीसी क्यामेरा जडान गरिएको छ । कुनै पनि स्थानमा गडबढी हुने स्थिति देखापरेमा हामी त्यसलाई तुरुन्तै नियन्त्रणमा लिन सक्ने अवस्थामा छौं ।



महोत्सव सम्पन्न गर्न २२ ओटा समिति लागिपरेका छन्



रूपेश स्वार
सदस्य, कैलाली उद्योग वाणिज्य सङ्घ
संयोजक, रमाइलो मेला, खानेपानी
सञ्चार र विद्युत् व्यवस्थापन समिति



महोत्सवलाई आकर्षक बनाउन हामीले बालबालिका एवम् युवालाई लक्षित गरेर रमाइलो मेलासमेत सञ्चालन गर्नेछौं । मेलामा मौतका कुवा, जादू, मोनोरेललगायत मनोरञ्जनका साधन रहनेछन् । महोत्सवमा ४६ ओटा स्टलमा विभिन्न पक्वान्नका रेष्टुराँ सञ्चालन गरिनेछ । उक्त रेष्टुराँलाई खानेपानी, टेलिफोन, विद्युत्लगायत सबै आवश्यकता परिपूर्ति गर्ने व्यवस्था मिलाएका छौं । महोत्सव अवलोकनकर्ताका लागि कम्तीमा १० ओटा शौचालयको व्यवस्था मिलाइएको छ ।

यी सबै व्यवस्थापनका निम्ति हामी नेपाल टेलिकम, ढल निकास, खानेपानी, विद्युत् प्राधिकरणजस्ता संस्थासँग समन्वय गरेर अघि बढेका छौं । महोत्सवलाई स्वच्छ, सफा र सुन्दर ढङ्गले सम्पत्र गर्न कैलाली उद्योग वाणिज्य सङ्घअन्तर्गतका विभित्र २२ ओटा समिति अत्यन्त क्रियाशीलताका साथ लागिपरेका छन् ।



वार्षिक पर्वका रूपमा लिएका छौं



दीपक साउद ‘तरङ्ग’
अध्यक्ष, सुदूरपश्चिम खेलकुद विकास समिति


महोत्सव सफल पार्न सुदूरपश्चिम खेलकुद विकास समिति दृढसङ्कल्पका साथ लागिपरेको छ । महोत्सवमा युवा परिचालनदेखि शान्तिसुरक्षा कायम राख्न हाम्रो प्रत्यक्ष संलग्नता रहनेछ । यद्यपि, हाम्रो चासो यत्तिमै सीमित छैन । सुदूरपश्चिम विविध सम्भावनाको खानी हो । तर, राज्यको दृष्टिबाट यो क्षेत्र अहिलेसम्म ओझेल पर्दै आएकाले हामी पछाडि छौं ।

सुदूरपश्चिममा जल, जमीन, जङ्गल र पर्यटनका माध्यमबाट ठूलो विकास हुन सक्छ । यसलाई नेपालको ठूलो प्रवेशद्वारका रूपमा पनि विकास गर्न सकिन्छ । भारतबाट नेपाल आउने पर्यटकलाई सुदूरपश्चिम हुँदै भिœयाउन सकिन्छ । त्यसका लागि सरकारले नै विशेष पहल गर्नुपर्छ । त्यसो भन्दैमा हामी सुदूरपश्चिमबासी हात बाँधेर पक्कै पनि बस्दैनांै । सुदूरपश्चिमबाट चीन जोडिने सडक दूरी अत्यन्तै छोटो पर्छ । यो मार्ग निर्माण हुन सक्यो भने भारत र चीन जोड्ने व्यापारिक मार्गका रूपमा समेत विकास हुन सक्छ । तर, यसका लागि सरकारले नै पहल गर्नुपर्छ । सरकारले त्यो पहल गर्ने हो भने सुदूरपश्चिमले पक्कै पनि होस्टेमा हैंसे गर्नेछ । सुदूरपश्चिमका पहाडी जिल्लामा मूल्यवान् जडीबुटी यार्सागुम्बाको खेती गर्न पनि सकिन्छ । तर, हाम्रो दुर्भाग्य के छ भने त्यसतर्फ अहिलेसम्म कुनै पनि अनुसन्धान हुन सकेको छैन । प्रकृतिले सजिएको सुदूरपश्चिममा खप्तड र शुक्लाफाँटा अमूल्य निधिका रूपमा रहेका छन् । शैपाल, अपीजस्ता हिमशृङ्खला पर्यटकका निम्ति विशेष आकर्षण हुन सक्छन् । यी सबैलाई पर्यटकको गन्तव्य बनाउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसैले, यो महोत्सवलाई हामीले एउटा ठूलो वार्षिक पर्वका रूपमा लिएका छौं ।



सुपमा बैङ्किङ गतिविधि बढ्दै छ



किसन चन्द
अधिकृत, नेपाल राष्ट्र बैङ्क, धनगढी



सांस्कृतिक, प्राकृतिक र पर्यटन क्षेत्रमा सुदूरपश्चिम प्रचुर सम्भावनाको क्षेत्र हो । यातायात, सञ्चारलगायत पूर्वाधारको विकास गर्न सकिए यस क्षेत्रले चाँडै विकासमा फड्को मार्नेछ । त्यसैले, विकासको मुख्य एजेण्डा नै सञ्चार र यातायात हुनुपर्छ । सुपमा विस्तारै बैङ्किङ गतिविधि बढ्दै जानु सकारात्मक पक्ष हो । एटीएम प्रयोगकर्ता बढ्दै जानुले बैङ्किङ गतिविधि सन्तोषजनक रहेको भन्न सकिन्छ । सुदूरपश्चिममा २८ ओटा वाणिज्य तथा विकास बैङ्कले सेवा दिँदै आएका छन् ।



उपयुक्त लगानीको खोजीमा छौं



गणेशकुमार केसी
प्रमुख कार्यकारी अधिकृत
मालिका विकास बैङ्क, धनगढी



पर्यटन व्यवसायको उच्च सम्भावना रहेको सुदूरपश्चिमको विकासका लागि स्थानीयबासी नै जाग्नुपर्छ । कसैले विकास गरिदिएर हामी उपभोग गरौंला भन्ने अवस्था अहिले छैन । त्यसका लागि महोत्सवजस्ता कार्यक्रमले राम्रै काम गर्छ । आर्थिक उपार्जनको सम्भावना रहेको हर्बल र जडीबुटीको सङ्कलन एवम् उत्पादनबारे स्थानीयलाई जानकारी दिनु जरुरी छ । पशुपालनलाई पनि यो क्षेत्र निकै उपयुक्त छ । कञ्चनपुरको बेलौरी र कैलालीको मसुरियालगायत क्षेत्र पशुपालका लागि एकदमै उपयुक्त छन् । तर, त्यहाँका बासिन्दाको आकर्षणमा ती क्षेत्र पर्न सकेनन् । यसका लागि बैङ्क सहयोगी बन्न तयार छ । बैङ्कले १ अर्ब ८५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यसमा ३५ करोड रुपैयाँ बाहेक सबै सुदूरपश्चिमबाटै सङ्कलन भएको हो । हाम्रो १ अर्ब २३ करोड रुपैयाँ  लगानीमध्ये ९० करोड रुपैयाँभन्दा बढी सुपमा नै लगानी भएको छ । अहिले बैङ्कमा ६० करोड रुपैयाँ छ । बैङ्क प्रतिफलयुक्त लगानीको खोजीमा छ ।


किसानलाई निःशुल्क प्रवेश दिनुपर्छ



विष्णुराज बुर्लाकोटी
कृषि उद्यमी÷औषधी व्यवसायी, धनगढी




कृषिका लागि सुदूरपश्चिम अत्यन्त महत्वपूर्ण क्षेत्र हो । त्यसमध्ये पनि हर्बलका लागि यो क्षेत्र प्रसिद्ध छ । तर, बजारीकरण हुन नसक्दा हर्बलले आवश्यक प्रसिद्धि पाउन सकेको छैन । हर्बलले शरीरलाई असर नगर्ने भएकाले यसको माग अत्यधिक छ । यो क्षेत्र पशुपालनका लागि पनि ठूलो सम्भावना बोकेको क्षेत्र हो । त्यसैले, सरकारी क्षेत्रबाट विशेष ध्यान पुग्नुपर्छ । कपिपय कृषक अनुभव र ज्ञानविना नै पशुपालन व्यवसायतर्फ लागिरहेका छन् । त्यसले गर्दा उनीहरू ठूलो आर्थिक नोक्सानी बेहोर्नसमेत बाध्य छन् । निजी तथा सरकारीस्तरबाट पशुपालक किसानलाई आवश्यक जानकारी र तालीमको व्यवस्था हुनुपर्छ । सुदूरपश्चिम महोत्सवमा किसानलाई निःशुल्क पासका लागि वाणिज्य सङ्घले व्यवस्था गर्नुपर्छ ।



भारतीय पर्यटक भित्र्याउनुपर्छ


पदमराज जोशी
शाखा अधिकृत, जिशिका कैलाली


सुदूरपश्चिम धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र हो । छिमेकी मुलुक भारतको पूर्णागिरिमा वार्षिक १ करोड धार्मिक पर्यटक आउने गर्छन् । त्यसको १० प्रतिशत मात्र धार्मिक पर्यटकलाई मात्र आकर्षित गर्न सकेमा सुदूरपश्चिम आर्थिक रूपमा सबल बन्नेछ । भारतको हरिद्वार काठमाडौंभन्दा धनगढीबाट नजिक छ ।

सदूरपश्चिमलाई चिनाउने उद्देश्यले उद्योग वाणिज्य सङ्घले पर्यटकीय क्षेत्रहरूको पोष्टर र पम्प्लेट बनाएको छ । त्यस्ता पोष्टरहरू भारतीय धार्मिक स्थलहरूसम्म पु¥याउन सक्नुपर्छ । नेपालकै सीमानजिक भएर मानसरोवर जाने पर्यटकलाई पनि हामीले आकर्षण गर्न सक्नुपर्छ । यसले यहाँको खप्तड र बडीमालिकाका साथै अन्य धार्मिक क्षेत्रको विकास हुन सक्छ । त्यसका लागि नेपालमा रहेका विभन्नि ‘ट्र्याक’ खोल्ने काम तुरुन्त अघि बढाइनुपर्छ ।


रोजगारीलाई प्राथमिकता दिऊ


छेदुलाल चौधरी
निर्माण व्यवसायी


सुदूरपश्चिममा अहिले काम अभाव नभए पनि कामदारको भने खाँचो छ । केही वर्षअघिको तुलनामा रोजगारीको क्षेत्र बढे पनि दक्ष जनशक्ति पाउन भने कठिन छ । पहिला ढुङ्गा, सिमेण्ट, बालुवा, इँटाजस्ता निर्माण सामग्री विक्री हुन पनि समस्या पथ्र्यो । तर, अहिले पहिल्यै पेश्की दिँदा पनि यस्ता सामग्री पाउन गाह्रो हुन थालेको छ । सुदूरपश्चिम भौतिक पूर्वाधारको निर्माणमा अघि बढ्न थालेकाले नै यस्तो भएको हो । महोत्सवले विदेश जाने जनशक्तिलाई यहीँ रोजगारीको बाटो देखाउन सके युवा पलायन रोकिन्छ । यसबाट स्थानीय उद्योगलाई पनि प्रोत्साहन पुग्छ । त्यसैले, आयोजकले यसमा विशेष ध्यान दिनुपर्छ ।


 
स्थानीय उत्पादनको बजारीकरणमा जोड दिऊ



भीमबहादुर देउवा
सदस्य, कैलाली उद्योग वाणिज्य सङ्घ


महोत्सवले यस क्षेत्रमै फरक पहिचान बोकेको छ । यस क्षेत्रका विभिन्न जनजाति र वर्गको पहिचान स्थापित गर्न महोत्सव सहयोगी बन्नेछ । साथै, महोत्सवले यस क्षेत्रमा उत्पादन हुने वस्तुहरूको प्रचार र बजारीकरणलाई विशेष ध्यान दिँदै आएको छ । यस क्षेत्रका मुख्य समस्या र माग जति छन्, त्यति नै किलोको माला महोत्सवका प्रमुख अतिथिलाई लगाउँदै आएका छौं । सङ्घले यसपटकका प्रमुख अतिथि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई १८ किलोको माला लगाउने तयारी गरेको छ ।





शीतभण्डार चाहियो



ललित हमाल
प्रोप्राइटर, आँचल डेरी, धनगढी




यो क्षेत्रका अधिक जनता कृषिमा आश्रित छन् । तर, सरकारले उनीहरूका प्राथमिक आवश्यकताको पूर्ति गर्न सकेको छैन । किसान सधैं मलखाद, सिँचाइ र बजारीकरणको समस्याबाट गुज्रिएका छन् । यसबारे महोत्सववमा चर्चा होस् । अन्नभण्डारका रूपमा रहेको यहाँको तराई क्षेत्रमा सिँचाइ र मलखादको राम्रो व्यवस्था नहुँदा जमीन बाँझिन थालेका छन् । खेती गरेर किसान आफ्नो लागत मूल्य पनि पाउन नसक्ने अवस्थामा छन् । यस्तो अवस्थामा युवापुस्ता कृषिमा आकर्षित हुन सकेका छैनन् । उद्योग वाणिज्य सङ्घले किसान, व्यापारी र उपभोक्ताबीच समन्वयकारी भूमिका खेल्न सक्नुपथ्र्यो । तर, त्यसो हुन
सकेको छैन ।

शीतभण्डार नहुँदा वर्षेनि ठूलो परिमाणमा कच्चापदार्थ सडेर गइरहेको छ । विभिन्न मौसममा सुन्तला, आलु, टमाटरजस्ता कृषि उपज ठूलो मात्रामा उत्पादन हुन्छ । तर, चिस्यान भण्डारको अभावले बेमौसममा भारतबाट महँगोमा कृषि उपज आयात गर्नुपर्ने स्थिति छ । त्यसैले, लगानीकर्ताले शीतभण्डार निर्माणका लागि पहल गर्नुपर्छ । त्यस्तै, यहाँ उत्पादित दूध खरीद र विक्रीमूल्यमा पनि समानता ल्याउनु आवश्यक छ ।




विकासका निम्ति सबै सहयात्री बन्नुपर्छ



टेकराज जोशी
अध्यक्ष, सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ, धनगढी



सुदूरपश्चिम बस व्यवसायी समिति सुन्दर सुदूरपश्चिमको विकासमा सहयात्री बन्दै आएको छ । यस क्षेत्रका प्रसिद्ध पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्ने उद्देश्यले यहाँका महत्वपूर्ण क्षेत्रका फोटो सवारीसाधनमा टाँसेका छौं । सबै क्षेत्रसँगको सहयात्रामा यातायात बस व्यवसायी सङ्घ अघि बढिरहेको छ । यस क्षेत्रको विकासमा सङ्घ सदैव सहयोगी हुनेछ ।




सरकारसँग कैलाली उद्योग वाणिज्य सङ्घको १८ बुँदे माग


  • क्षेत्रीय पर्यटन केन्द्रको स्थापना (खप्तड, शुक्लाफाँटा, घोडाघोडीजस्ता पर्यटकीय क्षेत्रको सम्वद्र्धन) ।
  • औद्योगिक क्षेत्र र विशेष आद्योगिक प्याकेज
  • जडीबुटी प्रशोधन केन्द्र
  • शीतगृह स्थापना
  • दुग्ध प्रशोधन केन्द्र
  • चिनी मिलको स्थापना
  • सेती हाइड्रोपावर निर्माण
  • गेटा विमानस्थललाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने
  • सबै जिल्लाको सदरमुकामसम्म पक्की सडक निर्माण
  • सूचनाप्रविधि क्षेत्र (आईटी पार्क)को स्थापना
  • ब्रहमदेव सडकखण्ड निर्माण
  • चिसापानीदेखि गड्डाचौकीसम्म वनजङ्गल नरहेका पुराना बजारहरूको जग्गा दर्ता
  • सुदूरपश्चिमाञ्चल मेडिकल कलेज
  • प्रदर्शनी स्थल निर्माण
  • नेपाल टेलिभिजनको प्रसारण केन्द्रको स्थापना
  • सुदूरपश्चिम सांस्कृतिक सङ्ग्रहालय
  • क्षेत्रीय सभासम्मेलन गृहको स्थापना
  • सुपमा उद्योग स्थापना प्रोत्साहनस्वरूप १५ वर्षसम्म करबाट छूट दिनुपर्ने



अहिलेसम्म कुनै प्रतिक्रिया छैन।