राजनीतिको उच्च तहमा महिला

Share News
१ वर्षअघि २०७३ कात्तिक २३ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा अमेरिकी पहिलो महिला राष्ट्रपति बन्नबाट हिलारी क्लिण्टन वञ्चित भइन् । अमेरिका जस्तो देशमा महिला राष्ट्रपति चुनिन नसकिरहेको बेला नेपालमा भने पहिलोपटक विद्यादेवी भण्डारी महिला राष्ट्रपतिका रूपमा चुनिन सफल बनिन् । देशकै सर्वोच्च पद राष्ट्रपतिमा महिला चुनिएपछि यो संसारभरका महिलाका लागि एउटा उदाहरणीय काम बनेको थियो । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी भण्डारी दोस्रो कार्यकालमा समेत राष्ट्रपति बन्ने पक्का भएको छ । अन्तरराष्ट्रिय नारी दिवसको अघिल्लो दिन बुधवार मात्रै उनले दोस्रोपटक राष्ट्रपति बन्न उम्मेदवारी दर्ता गराएकी छिन् । उनीसँगै राष्ट्रपतिमा उम्मेदवार दिने अर्को व्यक्ति पनि महिला नै छिन् । नेकपा एमालेबाट उम्मेदवार बनेकी भण्डारीसँग नेपाली काङ्ग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्दै छिन् । यसले नेपालको राजनीतिमा महिलाको वर्चस्व बढ्नुका साथै नेतृत्व गर्न महिला पनि सक्षम रहेको देखाउँछ । सय वर्षअघि (१९७४ सालमा) राणा महिलाको नेतृत्वमा दिव्या कोइराला सचिव रहेको महिला जागरण नामक संस्था खुलेको इतिहास पाइन्छ । २००४ सालमा मङ्गलादेवीको नेतृत्वमा सहाना प्रधान, साधना अधिकारी रहेको नेपाल महिला सङ्घ गठन भएको थियो । उनीहरू २००७ सालको प्रजातन्त्र ल्याउने आन्दोलनमा सक्रिय भएर लागेका थिए । योगमाया न्यौपानेले राणा शासनकै बेला विभिन्न माग राखी महिला हक र अधिकारको सवाल उठाएकी थिइन् । २०१५ सालमा भएको चुनावमा नेपाली काङ्ग्रेसले द्वारिकादेवी ठकुरानीलाई उठायो र बीपी कोइराला नेतृत्व सरकारमा उनलाई मन्त्री पनि बनाइयो । पञ्चायत कालमा प्रजातन्त्र प्राप्तिका लागि जेल पर्ने तथा भूमिगत हुनेमा शैलजा आचार्य, नोना कोइराला, रानु अधिकारीलगायत महिला पनि थिए । पछिल्लो समय एकै समयमा नेपालमा तीन प्रमुख पदहरू राष्ट्रपति, सभामुख र प्रधानान्याधीशमा महिला नेतृत्व कायम थियो । राष्ट्रपति भण्डारी, सभामुख ओन्सरी घर्ती मगर र प्रधानन्यायाधीशमा सुशीला कार्कीको नेतृत्वले समग्र नेपाली महिलाको शिर उचो बनाएको थियो । अहिले देशका ७ प्रदेशमध्ये ३ नम्बर प्रदेशको राष्ट्रपतिको मान्यता रहेको प्रदेश प्रमुखमा पनि अनुराधा कोइराला छिन् । नेपालको संविधानले नै संसद्देखि राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य बनाएको छ । नेपालमा भर्खरै सम्पन्न स्थानीय, प्रदेश र केन्द्रको चुनावबाट १४ हजार ६ सय ५२ जना महिला प्रतिनिधि चुनिएर आएका छन् । स्थानीय तहमा मात्रै १४ हजार ३ सय ५२, प्रदेशमा १ सय ८९ र प्रतिनिधिसभामा ९० र राष्ट्रिय सभामा २२ जना महिलाको प्रतिनिधित्व भइसकेको छ । नेपाली राजनीतिको उच्च तहमा पुगेका महिलाको सङ्क्षिप्त परिचय : विद्यादेवी भण्डारी २०१८ असार ५ गते भोजपुरमा जन्मिएकी विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते गणतन्त्र नेपालको दोस्रो र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा रक्षामन्त्रीसमेत बनेकी राष्ट्रपति भण्डारी फागुन २९ मा हुने राष्ट्रपति निर्वाचनबाट भण्डारी पुनः राष्ट्रपतिमा दोहोरिने पक्का छ । ओन्सरी घर्ती मगर रोल्पाको बैङ्कोटमा २०३४ कात्तिक २८ गते जन्मिएकी ओन्सरी घर्ती मगर नेपालको पहिलो महिला सभामुख हुन् । २०६८ सालमा छोटो कार्यकालका लागि युवा तथा खेलकुदमन्त्री समेत बन्न सफल मगर लामो समय माओवादी ‘जनयुद्ध’मा सक्रिय थिइन् । २०७२ असोज २९ गते संविधानसभाबाट रूपान्तरण भएको व्यवस्थापिका संसद्को पहिलो महिला सभामुख बन्न उनी सफल भएकी थिइन् ।सुशीला कार्की २००९ जेठ २५ मा विराटनगरमा जन्मिएकी सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन् । कार्की २०७३ वैशाख १ देखि २०७४ जेठ २३ सम्म नेपालको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् । न्याय क्षेत्रमा हुने भ्रष्टाचार अन्त्यका लागि शून्य सहिष्णुता लिने न्यायाधीशका रूपमा उनलाई लिइन्छ । उनको कार्यकालमा लोकमानसिंह कार्की, सुडान घोटाला, प्रहरी महानिरीक्षक प्रकरण जस्ता मुद्दा चर्चित थिए । प्रहरी महानिरीक्षक प्रकरणका कारण उनलाई महाअभियोगसमेत लगाइएको थियो । पछि उक्त अभियोग फिर्ता भएको थियो ।अनुराधा कोइराला २००६ वैशाख ६ मा ओखलढुङ्गामा जन्मिएकी अनुराधा कोइराला हाल प्रदेश नम्बर ३ को प्रदेश प्रमुख छिन् । शेरबहादुर देउवा सरकारले माघ ३ गते उनलाई प्रदेश ३ को प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । बेचिएका चेलिबेटीको उद्धार र रोकथामका क्षेत्रमा काम गर्दै आएको माइती नेपाल संस्थाकी संस्थापक अध्यक्ष कोइराला नेपालको पहिलो र एक मात्र महिला प्रदेश प्रमुख हुन् । क्यालिफोर्नियाको लसएञ्जल्समा ‘सीएनएन हिरो’ उपाधि जितेकी उनी भारतको प्रसिद्ध पद्मश्री पदकबाट सम्मानित भएकी छिन् । उनले मदर टेरेसा पुरस्कार पनि पाएकी छिन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।