काठमाडौं । नेपालमा बीमाको शुरुआत भएको ७ दशक बितिसक्दा पनि संस्थागत रूपमा महिलाको सहभागिता कम देखिन्छ । अरू नेतृत्वदायी तहमा महिला पछाडि नै परेका छन् । तर, बीमा गर्ने सवालमा भने पुरुषको तुलनामा महिला धेरै सजग भएको बीमा कम्पनीको बुझाइ छ । हाल नेपालमा १८ जीवन, १७ निर्जीवन र १ पुनर्बीमा गरेर ३६ बीमा कम्पनीहरू सञ्चालनमा छन्, जसमध्ये दुई कम्पनीमा मात्र महिलाको नेतृत्व रहेको पाइएको छ । महिला सक्षमताको नारा उठाइरहँदा र यसको विकास भइरहँदा बीमाक्षेत्रमा दुईमात्र अध्यक्ष हुनु सन्तोषजनक नरहेको बीमा विज्ञहरूको भनाइ छ ।
महिला अध्यक्ष हुने कम्पनीहरूमा नेशनल लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स छन् । उक्त कम्पनीहरूमा क्रमशः प्रेमा राज्य लक्ष्मी सिंह र कुशुम लामाले नेतृत्व सम्हाल्दै आएको पाइन्छ । यस्तै, कम्पनीको बोर्ड सदस्यमा पनि महिलाको सीमित कम्पनीहरूमा कम सहभागिता रहेको पाइन्छ । महिला नै अध्यक्ष भएको नेशनल लाइफ इन्स्योरेन्समा नेपाल उद्योग वाणिज महासङ्घकी अध्यक्ष भवाणी रााणा पनि आबद्ध रहेकी छिन् । तर, प्रभु इन्स्योरेन्समा भने अन्य महिलाको सहभागिता रहेको छैन । यस्तै, अन्य सीमित कम्पनीमा पनि बोर्ड सदस्यमा महिलाको सहभागिता रहेको पाइन्छ । यद्यपि, सम्पूर्ण बीमा कम्पनीको नियामक निकाय रहेको बीमा समितिको बोर्ड सदस्यमा महिलाको सहभागिता शून्य छ ।
बीमाक्षेत्रमा प्रमुख कार्यकारी अधिकृत शून्य
सस्थागत रूपमा महिलाको नेतृत्व कम रहे पनि व्यवस्थापन टीममा महिलाको सहभागिता उच्च रहेको पाइन्छ । सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व शून्य भएको बीमा समितिमा पनि सूचना अधिकृत महिला छिन् । पूजना ढङ्गेल अधिकारीले उक्त जिम्मेवारी वहन गरीरहेकी छन् । यस्तै, बीमा कम्पनीमा पनि महिलाले कार्यवाहक रूपमा सक्रिय छन् । यद्यपि, ७ दशकको यात्रामा नेपालको बीमा कम्पनीले अझै पनि महिला प्रमुख कार्यकारी अधिकृत भने पाउन सकेको छैन । यसका अलावा बीमाक्षेत्रमा व्यवस्थापन समूहमार्फत सक्रिय उत्कृष्ट महिलाबारे यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ :
सविता मास्केमहाप्रबन्धक (अण्डरराइटिङ), शिखर इन्स्योरेन्स
सविता मास्के बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । उनले राष्ट्रिय बीमा संस्थानमा पनि २ दशकभन्दा बढी सयम काम गरिन् । बीमाक्षेत्रमा लामो समयसम्म कार्यरत हुनाले उनी बीमा व्यवसायसम्बन्धी व्यावहारिक ज्ञान अधिक मात्रमा हासिल गर्ने व्यक्तिमा पर्छिन् । उनी नेपालको पहिलो महिला एसीआईआई चार्टर्ड इन्सुर पनि हुन् । उनी अहिले यस कम्पनीमा अण्डरराइटिङ विभाग प्रमुखको भूमिकामा छिन् ।
उदिता जोशीमुख्य प्रबन्धक, पुनर्बीमा विभाग, पु्रडेन्सियल इन्स्योरेन्स
उदिता जोशी वर्ष सन् २००४ देखि बीमा क्षेत्रमा सक्रिय छिन् । उनीसँग बीमा इञ्जिनीयरिङ क्षेत्रमा १ दशकभन्दा बढीको अनुभव छ । उनले काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेकी छिन् । उनले पहिले संयुक्त बीमा कम्पनी (नेपाली)मा काम गरेकी थिइन् । सन् २००८ देखि उनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा आबद्ध रहेर नेपालको बीमा व्यवसायमा सक्रिय छिन् ।
प्रीति बानियाँ वज्राचार्यपुनर्बीमा विभाग, आईएमई जनरल इन्स्योरेन्स कम्पनी
प्रीति बानियाँ वजाचार्य सन् १६ जुन २०१५ देखि आईएमई जनरल इन्स्योरेन्समा आबद्ध छिन् । यसभन्दा पहिले उनले सिद्धार्थ इन्स्योरेन्समा पनि काम गरेकी थिइन् । उनले युनाइटेड किङ्गडमको चेष्टर विश्वविद्यालयबाट बिजनेश एडमिनिष्ट्रेशन (एमबीए) गरेकी छन् । उनले सन् २००६ देखि २०१२ सम्म एडम्यान र रिसेन्सशन्स डिपार्टमेण्टका विभिन्न विभागमा सामान्य बीमा कम्पनीको सेवाका लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला कार्यक्रम सञ्चालन पनि गरेकी थिइन् ।जोश्ना पाण्डेवरिष्ठ प्रबन्धक, सिद्धार्थ इन्स्योरेन्स
जोश्ना पाण्डे सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छिन् । उनले सार्वजनिक प्रशासनमा माष्टर डिग्री गरेकी छिन् । उनले सन् २००४ मा शिखर बीमा कम्पनी लिमिटेडबाट आफ्नो बीमा करीअर शुरू गरेकी थिइन् ।यस्तै, प्रिमियर इन्स्योरेन्समा कविता जोशी मुख्य परिचालन अधिकारीको रूपमा कार्यरत छिन् । सपना रावल नेको इन्स्योरेन्सको पुनर्बीमा प्रमुख भएर बीमा व्यवसायमा सक्रिय रहेकी छिन् । यस्तै, विमला केसी पनि हिमालय इन्स्योरेन्समा प्रमुख प्रबन्धकको रूपमा कार्यरत छिन् । यसका अलावा अन्य बीमा कम्पनीमा महिला विभिन्न पदमा रहेर काम गरेको पाइन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।