लिञ्च स्टक मार्केट (ब्रोकर नम्बर ४१)की प्रबन्ध सञ्चालक सरिता अधिकारी (विष्ट) विगत ७ वर्षदेखि धितोपत्र दलाल व्यवसायीको रूपमा सक्रिय महिला नेतृ हुन् । २०६८ सालमा अध्यक्ष पदबाट यो क्षेत्रमा प्रवेश गरेकी उनी धितोपत्र दलाल व्यवसायमा महिला व्यवसायी भएको नाताले विशेषगरी महिलालाई यो क्षेत्रमा लगानी गर्न अनुरोध गर्छिन् । प्रस्तुत छ, प्रबन्ध सञ्चालक विष्टको अनुभवलगायत विषयमा आर्थिक अभियानका प्रजिता बुढाथोकीले गरेको कुराकानीको सार :धितोपत्र दलाल व्यवसायी पेशामा तपाईंको आकर्षण कसरी भयो ?
कमर्श पढ्ने बेलामा मेरो आकर्षण बैङ्किङ क्षेत्रमा थियो । त्यही बेलामा ब्रोकरको रूपमा एकजना महिला हुनुहुन्थ्यो– सुचिता खनाल । त्यही बेलादेखि उहाँले सो पदभार सम्हालिरहनु भएको छ । उहाँको अन्तरवार्ता कहिलेकाहीँ टेलिभिजनमा आउँदा मेरो बुबा ‘एक मात्र महिला शेयर दलालको रूपमा काम गरिरहेकी छिन्, महिलाले चाहेमा गर्न नसक्ने केही छैन’ भन्नुहुन्थ्यो । बुबाको त्यो कुराले मेरो मनमा छोइरहेको थियो । त्यतिबेला यो क्षेत्रमा लाइसेन्स लिनेको सङ्ख्या सीमित सङ्ख्यामा एकपटक मात्र खुला भयो । सबै साथीभाइले यो क्षेत्र पनि व्यापारका लागि राम्रो हो, लाइसेन्स खुलेको बेला लिँदा हुन्छ भनेकाले मलाई पनि राम्रो लाग्यो । नेतृत्व लिन किन पछि हट्नु भनेर धितोपत्र दलाल व्यवसाय गर्ने दोस्रो महिलाको रूपमा आएकी हुँ ।
महिलाका लागि यो व्यवसाय कत्तिको चुनौतीपूर्ण छ ?
जुनसुकै क्षेत्रमा महिला भएर उभिनु नै आफैंमा चुनौतीपूर्ण छ । महिला भएर व्यवसायमा आउनु पहिलो चुनौती त्यही छ । घरपरिवारको जिम्मेवारी पूरा गर्नुदेखि लिएर व्यवसायका लागि समय मिलाउनु एउटा अर्को चुनौती थियो नै । महिला धितोपत्र दलाल व्यवसायीको रूपमा मैले प्रवेश गर्दा सुचिता दिदी, जो पहिलो महिला ब्रोकर हुनुहुन्छ, उहाँले जस्तो चुनौतीको सामना मैले गर्नुपरेन । जब म यो क्षेत्रमा प्रवेश गरेँ, त्यो समयमा कारोबार अटोमोशनमा आइसकेको र आफ्नै कायालयमा बसेर काम गर्न सकिने सुविधा थियो । जब कि सुचिता दिदीले नेपाल स्टक एक्सचेञ्जको फ्लोरमै गएर कराउनुपर्ने अवस्था थियो । त्यस्तो खालको अप्ठ्यारो परिस्थितिको सामना भने मैले गर्नुपरेन ।
शेयर बजारमा महिलाको सहभागिता कस्तो छ ?
शेयर बजारमा व्यवसायीको रूपमा मैले प्रवेश गर्दा त्यो बेलामा हामी दुई महिला मात्र थियौं । त्यस बेला लगानीकर्ताको रूपमा महिलाको सहभागिता एकदमै कम थियो । पछि धितोपत्र व्यवसायी महिलाहरू नै भएकाले सजिलो हुन्छ भनेर आउनेको जमात बढ्दै गयो । आजको स्थितिमा हेर्दा महिलाको सहभागिता पहिलेको तुलनामा २० प्रतिशत बढी छ । अहिले मेरो कम्पनीमा दैनिक २० देखि २५ जना महिला आउने गर्छन् । पूँजीबजारमा हरेक दिन सहभागी हुँदा साथीभाइ भेटघाट पनि हुने, थोरै समय खर्चिंदा आफूहरूलाई पूँजीबजारबारे जानकारी प्राप्त हुने भएकाले पनि यसमा महिलाहरूको आकर्षण बढ्न थालेको मेरो अनुमान छ । झन् अहिले आएर पूँजीबजारको विस्तारका लागि नयाँनयाँ प्रविधिको विकास भएको छ, जसले गर्दा पहिलाको जस्तो झन्झटिलो अवस्था पनि रहेन । अहिले घरमै बसेर शेयर भर्न सकिने सुविधा आइसकेको अवस्थामा घरबाहिर निस्कन नसक्ने महिला पनि पूँजीबजारमा सहभागी भएका छन् ।
पूँजीबजारप्रति महिलाको बुझाइ कस्तो पाउनु भएको छ ?
यो विषयमा अझै पनि हामी पछि छौं । यस क्षेत्रलाई बुझेका कतिपय दिदीबहिनी पनि हुनुुहुन्छ । उहाँहरू घरपरिवारमा सल्लाह गरेर आफैं आएर कारोबारमा सहभागी हुने गर्नुहुन्छ । कतिपय महिला दिदीबहिनीहरू हरेक दिन कारोबारको समयमा आउनुहुन्छ । तर, लगानी गर्न डराउनुहुन्छ । उहाँहरूमा लगानी गर्न आत्मविश्वासको कमी रहेको पाएकी छु । कतिपय दिदीबहिनीले यो मेरो पैसा हो, मैले आफ्नो इच्छाअनुसार लगानी गर्न पाउनुपर्छ भनेर पेवाको रूपमा पनि लगानी गरेका उदाहरण धेरै छन् । उहाँहरू सफल पनि हुनुभएको छ । महिला दिदीबहिनी समूहमार्फत छलफल गरी कुन कम्पनीको किन्दा फाइदा हुन्छ, कति लगानी गर्दा ठीक हुन्छ भन्ने सवालमा एउटै मत निकालेर लगानी गर्ने गर्छन् ।
पूँजीबजारमा महिलाको सहभागिता बढाउन कुनै कार्यक्रम गर्नुभएको छ ?
यो क्षेत्रमा महिलालाई सहभागी गराउन भनेरै हामीले कुनै कार्यक्रम अहिलेसम्म गरेका छैनौं । किनभने, हामी पनि कतिपय अवस्थामा निश्चित दायराभित्र रहेर काम गर्नुपर्ने अवस्था छ । हामीले खुला रूपमा केही कामहरू गर्न पनि अप्ठ्यारो छ । तर, यस क्षेत्रमा केही नीतिगत परिवर्तन आए भने हामी समूहमार्फत जानकारी गराउँछौं । पूँजीबजारसम्बन्धी जानकारीमूलक कार्यक्रममा हामी सहभागी भने हुने गरेका छौं । आफ्नो कम्पनीमा आउने महिला दिदीबहिनीलाई सकेसम्म यस क्षेत्रबारे जानकारी गराउने प्रयास गरेकी छु । यसैले पनि मेरो कम्पनीमार्फत कारोबार गर्न महिलाहरू आकर्षित भएको जस्तो लाग्छ । अहिले पूँजीबजार विस्तारका लागि सञ्चारमाध्यमले पनि सहजकर्ताको भूमिका निर्वाह गरेका छन् जस्तो लाग्छ । पूँजीबजारसम्बन्धी जानकारीमूलक समाचार विभिन्न सञ्चारमाध्यममा पनि आइरहँदा लगानीकर्ताको बुझाइको विकास भएको पाएकी छु ।
लगानीमैत्री वातावरण सृजना गर्न ब्रोकर कम्पनीहरूको कस्तो भूमिका हुन्छ ?
शेयरबजार निकै संवेदनशील क्षेत्र हो । सानातिना हल्लाले पनि बजारमा ठूलै उतारचढाव ल्याइरहेको हुन्छ । अहिलेकै अवस्थामा पनि बजारमा हल्लाकै भरमा उतारचढाव आइरहेको छ । यसमा ब्रोकर कम्पनीले भन्दा पनि नियामक निकायबाटै बढी जोड दिनुपर्ने देख्छु । नियामक निकायबाट आवश्यक नीतिगत व्यवस्था हुनुपर्छ । हाम्रो तर्फबाट लगानीमैत्री वातावरण सृजना गर्न, कम्पनीमा लगानीकर्ताको काममा सहज बनाउन र कर्मचारी व्यवस्थापनदेखि यस सम्बन्धमा जानकारी सजिलै उपलब्ध गराउने भन्दाबाहेक हामीलाई अरू अधिकार नभएकाले सम्बन्धित नियामक निकायबाटै यस विषयमा बढी जोड दिनुपर्छ ।वर्तमान पूँजीबजारको अवस्थाअनुसार लगानी गर्न के सुझाव दिनुहुन्छ ?
धितोपत्र दलाल व्यवसायमा महिला व्यवसायी भएको नाताले विशेषगरी महिलालाई यो क्षेत्रमा लगानी गर्न अनुरोध गर्छु । यो क्षेत्र पनि सुनचाँदी, घरजग्गा जस्तै यो क्षेत्र पनि लगानीको राम्रो क्षेत्र हो । सानो लगानीबाट पनि भविश्यमा ठूलो बचत हुने सम्भावना भएकाले यो क्षेत्र लगानीयोग्य छ । यस क्षेत्रको विकासका लागि विभिन्न कार्य पनि भइरहेका छन् । यस्तो अवस्थामा झन् बढी लगानीयोग्य बनाउन विभिन्न क्षेत्र लागिपरेका छन् । मुलुककै विकासका लागि यो क्षेत्र अपरिहार्य भएको छ । त्यसकारण आफ्नो लगानी सुरक्षित राखी नाफा कमाउन सक्ने दीर्घकालीन लगानी गर्ने सोच लिई अघि बढौं, हल्लाको पछि लागेर होइन, स्वाध्ययनबाट लगानी गर्ने बानीको विकास गरौं । महिला सशक्तीकरणका लागि पनि बेलैमा आफ्नो सानो रकम यो क्षेत्रमा आएर सुरक्षित गरौं ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।