पछिल्लो समय मुलुकको राजनीतिक–सामाजिक परिवर्तनसँगै नेपाली महिलाको स्तर पनि वृद्धि हुन थालेको छ । चुल्होचौकोमा सीमित नेपाली महिला समयक्रमसँगै विभिन्न क्षेत्रमा सहभागी भएका मात्र छैनन्, नेतृत्वमै स्थापित भइसकेका छन् । यसरी, जहाँ महिलाहरू नेतृत्वको रूपमा चुनिएका छन्, त्यहाँ आफ्नो क्षमता प्रदर्शनसमेत गरिछोडेका छन् ।
तापनि देशको जनसङ्ख्याको आधा हिस्सा ओगटेको महिला जनशक्तिको नेपाली अर्थतन्त्रमा योगदान भने अझै पनि न्यून नै देखिएको छ । यसले गर्दा पनि नेपालको आर्थिक वृद्धिदर सोचेअनुरूप हुन सकिरहेको छैन । यस्तो अवस्थामा महिलाको आर्थिक अवस्था सुधार्ने तथा उनीहरूलाई उद्यमशील बनाउने विषय अहम् रहेको छ । यद्यपि, नेपालमा उद्यमी महिलाको अवस्थामा पहिलेभन्दा निकै परिवर्तन नभएको होइन । डर र लाजभन्दा माथि उठेर उद्यमी महिलाले आत्मविश्वासका साथ मुलुकको अर्थतन्त्र र आफ्नै आर्थिक अवस्था पनि आत्मनिर्भर उन्मुख बनाउन थालेका छन् ।
हालको अवस्थाको कुरा गर्नुपर्दा नेपालमा महिला उद्यमशीलताको विषयमा केही चर्चा–परिचर्चा हुन थालेको छ । विगतमा चुल्होचौका र घरायसी काममा खुम्चिएको महिलाको भूमिकालाई उद्यमीका रूपमा विस्तारित गरिनु सहज कार्य होइन, तापनि १९९० को दशकपछि बैङ्किङ प्रणालीबाट आरम्भ गरिएका लघुवित्त तथा दातृ सहयोगमा सञ्चालित दर्जनौं कार्यक्रमले महिलालाई परम्परागत भूमिकाबाट केही बाहिर निकाल्नमा मद्दत पुर्याएको छ ।
देशभर दर्ता भएका थुप्रै, घरेलु तथा साना उद्योगमध्ये करीब ६० प्रतिशतभन्दा बढीमा महिला नै हुनुले देशमा महिला उद्यमीको सङ्ख्या निरन्तर बढ्दै गएको देखिन्छ । महिला उद्यमीको सङ्ख्या बढाउन सरकार आफैले पनि नीतिगत प्रोत्साहनको व्यवस्था गर्दै आएको देखिन्छ ।
औद्योगिक नीति ०६७ अनुसार, महिला उद्यमीलाई विशेष सहुलियत र सुविधा प्रदान गर्न, महिला उद्यमशीलता प्रवद्र्घन, विकास र विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको महिला उद्यमशीलता कोषले उद्योग–व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने कर्जा सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ । अहिले उक्त कोषबाट देशका ४६ जिल्लाका महिला उद्यमीले ६ प्रतिशत ब्याजमा कर्जा पाइरहेका छन् । तर, उक्त कोष मुख्यगरी, घरेलु, साना तथा लघु उद्यमीमा केन्द्रित रहेकाले यसको दायरामा ठूलो सङ्ख्याका महिला उद्यमी भने समेटिन सकेका छैनन् ।
नेपालको सामाजिक परिवेशले महिला उद्यमशीलता विकासमा बाधकको भूमिका निर्वाह गरिरहेको छ । देशले खुला बजार अर्थनीति अवलम्बन गरेको करीब ३ दशक बितिसके पनि महिला उद्यमीका लागि उपयुक्त पहुँच र अवसर सृजना हुन सकेको छैन । संवैधानिक रूपमै लैङ्गिक विभेद अन्त्य गरिएको र कानूनी रूपमा महिलाको अधिकार स्थापित गरिएको बताउने गरिए पनि उद्योग, व्यवसायमा महिला सहभागितालाई प्रोत्साहन गर्ने विषयमा सामाजिक परिवेश अझै खुकुलो हुन सकेको देखिँदैन ।
घर, परिवार र समाजबाट सहयोगभन्दा बढी हतोत्साह हुने गरेको महिला उद्यमीको तीतो अनुभव रहँदै आएको छ । घरेलु तथा साना उद्योग र व्यवसायमा महिलाको सहभागिता उल्लेख्य देखिए पनि ठूला तथा मझौला उद्योगमा महिलाको स्वामित्व र नेतृत्व अत्यन्तै न्यून छ भन्दा फरक पर्दैन । अपवादका रूपमा केही महिला उद्यमीको नेतृत्वमा ठूला र मझौला तह होटल र अन्य सेवा व्यवसायका उद्यमहरू सञ्चालित भएको देखिए पनि उत्पादनमूलक क्षेत्रमा अझै अवस्था कमजोर नै छ । केही व्यवसायीले पुस्ता हस्तान्तरणका रूपमा छोरीहरूलाई व्यवसायको बागडोर जिम्मा लगाएको देखिन्छ । तापनि बुहारीको हकमा अझै नेपालको कर्पोरेट क्षेत्र उदार हुन सकेको छैन ।
घरेलुबाट विश्वव्यापी बन्दै नेपाली महिला
कल्पना लिम्बू
२०६४ सालमा १५ हजार रुपैयाँको लगानीमा ढाका व्यवसाय थालेकी ५२ वर्षीया कल्पना अहिले डेढ करोडको मालिक बनेकी छिन् । हाल काठमाडौंको गोकर्णस्थित उनको ‘दी हाइल्याण्ड तानघर’ मा ५५ जनाले काम पाएका छन् । उनले ढाकाका साडी, मेख्ली, ब्लाउज, सल, लेहेङ्गा, कोट, आउटर, कुर्ता सलवार, रुमाललगायत सामान अन्तरराष्ट्रिय बजारमा निर्यात गरिरहेकी छिन् । अमेरिका, अष्ट्रेलिया, सिङ्गापुर, बु्रनाई, बेलायत, क्यानडा र मलेशियालगायत देशबाट अर्डर पाइरहेको कल्पना बताउँछिन् ।
रीता सिंह
सन् ११९० मा थोरै लगानीबाट सानो व्यवसाय शुरू गरेकी रीता सिंह अहिले ठूलो धनराशिको मालिक बनेकी छिन् । सानो व्यवसायबाट शुरुआत गरे पनि त्यसलाई ठूलो बनाउन आफूले निकै मेहनत गरेको उनी बताउँछिन् । उनले मुख्यगरी ढाका, अल्लो र पश्मिनाका वस्तु उत्पादन गर्दै आएकी छिन् । हालको समयमा आफूले गाउँ गाउँमै गएर थुप्रैलाई रोजगार दिइरहेको उनको भनाइ छ । आफ्ना उत्पादनको अन्तरराष्ट्रिय माग बढिरहेको र हाल स्वीडेन, नेदरल्याण्डलगायत देशमा निर्यात भइरहेको उनी सुनाउँछिन् । उनी काठमाडौंको कालधारास्थित आमा इम्पेक्स सञ्चालन गरिरहेकी छिन् ।
मनु केसी
शिक्षण पेशाको न्यून पारिश्रमिकले धान्न नसकेपछि २०४२ सालमा पश्मिना उद्योगमा लागेकी मनु केसीलाई शुरूमा सफलता हात पार्न निक्कै गाह्रो भयो । त्यसपछि ५÷७ वर्षको कार्पेट बिजनेश पनि त्यस्तै रह्यो । त्यसमा पनि न नाफा न घाटाको स्थिति भयो । ३ वर्षपपछि पुनः पश्मिनाको लहर चलेपछि उनले पश्मिनालाई निरन्तरता दिन थालिन् । अहिले उनको पश्मिना कोरिया, जापान, बेलायत र अमेरिका जस्ता देशमा निर्यात हुने गर्दछ । प्रत्यक्ष तथा अप्रत्यक्ष गरी अहिले उनको उद्योगमा ६० भन्दा बढी कामदार छन् ।
कमला सुवेदी
थोरै समयमा हस्तकलामा फड्को मारेकी व्यवसायी हुन् कमला सुवेदी । सन् २०१२ मा मात्रै १० हजार रुपैयाँबाट व्यवसाय शुरू गरेकी कमला अहिले करीब ८० लाख रुपैयाँकी मालिकनी बनेकी छिन् । क्रिएटिभ क्रिष्टल हस्तकला उद्योगबाट क्रिष्टलका सामान उत्पादन एवम् विक्रीसमेत गर्ने कमलाले बताएकी हुन् । उनी क्रिष्टल सामान उत्पादन मात्रै गर्दिनन्, उनको उद्योगले फोहोरमा फ्याकेका प्लाष्टिकलगायत अन्य उपयोगविहीन वस्तुबाट विभिन्न प्रकारका सामान उत्पादनसमेत गर्दै आएको छ । आफ्नो उद्योगबाट उत्पादन भएका उक्त वस्तुहरू यूके, बङ्लादेश, चीन, भारतलगायत थुप्रै देशमा निर्यात हुने गरेको कमला बताउँछिन् । त्योबाहेक उनले फ्याब्रिक मालासम्बन्धी तालीमसमेत प्रदान गर्दै आएकी छिन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।