६२ वर्षेले जिते दिउँसो सुत्ने प्रतियोगिता

Share News

शपिङ मलको भीडभाड र होहल्लाबीच पनि तपाईं दिउँसै निदाउन सक्नुहोला ? स्पेनको राजधानी मेडि्रडमा पहिलो पटक आयोजित दिउँसो सुत्ने प्रतियोगितामा यस्तै होहल्लाका बीच १७ मिनेट निदाएर एक जना ६२ वर्षीय मानिसले पुरस्कार जितेका छन् । यो पुरस्कार शनिवार घोषणा गरिएको थियो । इक्वेडरका नागरिक पेद्रो सोरिया लोपेजले यो प्रतियोगिता जितेका हुन् ।

बेरोजगार यी लोपेज गएको मङ्गलवार एउटा शपिङ मलमा ७० डेसिबल मापन गरिएको होहल्लाका बीच बेस्सरी घुरेर नै निदाएका थिए । ७० डेसिबलको हल्ला मानिस ठूलो स्वरमा चिच्याएर कुरा गरेबराबरको हुन्छ । उनी यस्तो गहिरो निद्रामा परेका कारण १८ मिनेट निदाउने प्रतियोगीभन्दा बढी अङ्क पाउन सफल भए ।

'म यस्तो प्रतियोगिताको पहिलो विजेता हुन पाउँदा खुसी छु' कालो जुँगा भएका इक्वेडरको क्विटो शहरका बासिन्दा लोपेजले हाँस्दै भने । उनले आफू नियमित रुपले दिउँसो सुत्ने गरेको जानकारी दिए, जुन उनको घुराइले पनि सत्यापित गर्थ्यो।

'मेरी श्रीमतीले भनेर म यसरी सुतेको हुँ । उनले दिएको सात युरो तिरेर खाएको दिउँसोको भोजनले पनि मलाई यसरी निदाउन मद्दत गर्यो' जितेको एक हजार युरो पुरस्कार बुझ्दै उनले भने । नौ दिनसम्म चलेको अनौठो लाग्ने यो प्रतियोगिता शनिवार अन्त्य भएको घोषणा गरिएको थियो । भर्खरै स्थापना भएको नेशनल एशोसिएशन अफ फ्रेण्ड्स अफ सियष्टा नामक संस्थाले यो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमलाई मेड्रिड शहरको कामदारहरु बसोबास गर्ने काराबाञ्चेल जिल्लाको शपिङ मलले प्रायोजन गरेको थियो । एपी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।