खाद्यान्न र चियाको भण्डार

Share News

उमेश डालमिया
अध्यक्ष, झापा उद्योग वाणिज्य सङ्घ


खाद्यान्न भण्डारका रूपमा चिनिने झापा अहिले चियाको भण्डार भनेर चिन्न थालिएको छ । यस जिल्लामा करीब २५ ओटा चिया उद्योग छन् । पाँचओटा सिमेण्ट, पाँचओटा प्लाइऊड उद्योग छन् । अहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा झापामा सेज स्थापना गर्ने कुराले हामी निकै खुशी थियौं । तर, अझैसम्म त्यो कार्य अघि बढ्न सकेको छैन । जङ्गलका खाली जग्गा उद्योग मन्त्रालयमातहत ल्याउने हो भने त्यस ठाउँमा सेज निर्माण हुन सम्भव छ । यसले यो देशलाई नै आर्थिक समृद्धितर्फ लैजाने थियो । किनभने, यहाँ कृषिजन्य उत्पादनको प्रशोधन उद्योगको सम्भावना ठूलो छ । पर्यटन क्षेत्रको पनि यहाँ प्रशस्त सम्भावना छ ।

बिर्तामोड बजारदेखि करीब ६ किमि पश्चिम जामुनखाडी भन्ने पर्यटकीय स्थल छ । यहाँदेखि उत्तरतर्फ अर्जुनधाराधाम छ । दक्षिणतर्फ नेपालकै सबैभन्दा होचो केचनाकलन भन्ने ठाउँ छ । यी क्षेत्रको पर्यटन विकासका लागि सरकारले बजेट छुट्ट्याउने गरेको छ । तर, त्यो रकमको उपलब्धि नगण्य मात्र छ ।

यहाँ ऊर्जाको पनि ठूलो सङ्कट छ । पहिले नेपालको कुलेखानीको विद्युत् झापाको गलगलिया हुँदै १० मेवा भारतलाई बेचिएको थियो । त्यो प्रसारण लाइनलाई मर्मत गरेर भारतबाट १० मेवा विद्युत् आपूर्ति गर्न सकिन्छ । त्यो मर्मत गर्न निजीक्षेत्र तयार छ । तर, सरकारले पहिले भारतसँग कूटनीतिक पहल गर्नुपर्छ । सरकारले चाहने हो भने १५ दिनभित्र झापा लोडशेडिङमुक्त हुन सक्छ ।

चन्द्रगढीको विमानस्थलको स्तरोन्नति गरी रात्रिकालीन सेवा सञ्चालन गर्दा व्यापार र पर्यटनका सम्भावनाहरू अझ बढ्ने थिए । त्यसैगरी यहाँ यति धेरै बैङ्क छन् । तर, राष्ट्र बैङ्कले ‘क्लियरिङ हाउस’को व्यवस्था गर्न सकेको छैन, जसले गर्दा व्यवसायीहरूलाई ‘चेक क्लियर’ गर्न सातदेखि २० दिनसम्म लाग्ने गरेको छ । ‘चेक बाउन्स’मा पनि सरकारको नीति फितलो छ । भारतमा चेक बाउन्स हुनेबित्तिकै त्यो व्यक्ति जमानतमा छुट्न नपाउने गरी पक्राउ (ननबेलेबल एरेष्ट)मा पर्छ । यसैगरी नेपालमा पनि चेक बाउन्समा कडा नीति आउनैपर्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।