झापा : विकासमा अग्रणी झापा

Share News

नेपालकै शिक्षित एवम् विकसित जिल्लाका रूपमा चिनिने झापाको परिचय अब नेपालको चिया भण्डारका रूपमा परिवर्तित भएको छ । कुनै बेला खाद्यान्नको भण्डारका रूपमा चिनिने यो जिल्ला अहिले पनि नेपालको प्रमुख खाद्यान्न उत्पादक त हुँदै हो, पछिल्लो समयमा यस जिल्लाले औद्योगिक र व्यापारिक केन्द्रका रूपमा पनि विकास गरेको छ । वास्तवमा झापा सम्भावना नै सम्भावना भएको जिल्ला हो । यस जिल्लामा मुख्यतः चार सम्भावना छन् – उद्योग, व्यापार, पर्यटन र कृषि । झापामा बन्ने भनेको विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण चाँडै हुने हो भने त्यसले झापाको मात्र होइन, पूरै नेपालका औद्योगिक विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश डालमिया बताउँछन् ।

झापामा मुख्यतः कृषि प्रशोधन उद्योगहरूको व्यावसायिक सम्भावना निकै उच्च छ । झापाको चिया उद्योगले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा आफ्नो परिचय बनाइसकेको छ । हाल यस जिल्लामा मात्रै २५ ओटा चिया उद्योग सञ्चालनमा छन् । यहाँका चिया उद्योगले आफ्नो उत्पादन आन्तरिक बजारमा त आपूर्ति गर्छन् नै, भारत र तेस्रो मुलुकमा पनि निर्यात गर्छन् । भारतको पश्चिम बङ्गाल, विहार राज्य र नेपालका मोरङ एवम् इलाम जिल्लाले घेरेको यस जिल्ला उत्पादनका लागि बजारको कुनै अभाव नभएको झापा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मोहनप्रसाद सुवेदी बताउँछन् । भारत मात्र होइन, यहाँ उत्पादित वस्तुलाई नजिकको दूरीमा पर्ने बङ्गलादेशमा समेत निर्यात गर्न सकिने सुवेदीको धारणा छ ।

झापाको अर्को सम्भाव्य क्षेत्र भनेको कषि हो । झापाका व्यवसायीले पनि कृषिक्षेत्रको विकासका लागि पाँच ‘अ’को अवधारणा ल्याएका छन्– अलैंची, अदुवा, अम्रिसो, ओखती र ओलन । चिया त झापाको मुख्य बाली भइहाल्यो । धान उत्पादनमा पनि झापा नेपालकै अग्रणी जिल्ला हो । झापामा शुरू गरिएको यो अभियानले नेपालको कृषिक्षेत्रकै कायापलट गर्न सक्छ । त्यति मात्र होइन, यी कृषिबालीको प्रशोधन उद्योगको सम्भावना झापामा अत्यधिक छ । ‘ताप्लेजुङदेखि झापासम्मका नगदे बालीहरूको प्रशोधन गरी विदेश निर्यात गर्न सकेको खण्डमा विदेशी मुद्रा भित्रिने ठूलो सम्भावना छ । त्यसबाट यहाँका बेरोजगार युवाले रोजगार पाउन सक्छन्,’ अध्यक्ष डालमिया बताउँछन् । । बङ्गलादेशमा दूधजन्य उत्पादनको माग धेरै रहेकाले त्यसको आपूर्ति गर्न सके निकै फाइदा लिन सकिने मेचीनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय डालमिया बताउँछन् । ‘हामीले यहाँका किसानलाई ऋण प्रवाह गरेर भए पनि पशुपालनमा प्रेरित गर्नुपर्छ,’ उनले भने ।

झापा जिल्लाको विकासमा अर्को सम्भावित क्षेत्र पर्यटन हो । बिर्तामोड बजारदेखि करीब ६ किमि पश्चिम जामुनखाडी भन्ने पर्यटकीय स्थल छ । यहाँदेखि उत्तरतर्फ अर्जुनधाराधाम छ । दक्षिणतर्फ नेपालकै सबैभन्दा होचो केचनाकवल भन्ने ठाउँ छ । किचकवध, सतासीधाम, कन्काइ माईलगायत यस जिल्लाका पर्यटकीय स्थान हुन् । मुलुककै सुन्दर पर्यटकीय गन्तव्य इलाम यसै जिल्ला भएर जानुपर्छ । त्यसले पनि यस जिल्लाको पर्यटकीय महत्वलाई उच्च बनाएको छ । तर, यस क्षेत्रको पर्यटन विकासमा सरकारी प्रयास नगण्य मात्रै भएको अध्यक्ष उमेश डालमिया बताउँछन् । यदि सरकारी बजेट निजीक्षेत्रमार्फत परिचालन गर्ने हो भने यहाँका पर्यटकीय स्थललाई ५ वर्षभित्र नमूना बनाइदिने डालमियाको भनाइ छ ।

झापालाई मुलुककै मुख्य व्यापारिक केन्द्र बनाउन सकिने सम्भावना पनि छ । नेपालले प्रयोग गर्ने भारतको कोलकाता बन्दरगाह झापाबाट नजिक भएर मात्रै होइन, बङ्गलादेशी बन्दरगाहहरूसमेत नजिकको दूरीमा हुनाले झापाको व्यापारिक महत्व बढेको हो । मुलुककै पूर्वी नाका झापाको काँकडभिट्टा (मेचीनगर)मा करीब ४० करोड रुपैयाँको लगानीमा सुविधासम्पन्न सुक्खा बन्दरगाह बनिसकेको छ । तर, त्यसको पूर्ण उपयोग हुन सकेको छैन । यो बन्दरगाहलाई अन्तरराष्ट्रिय शिपिङ म्यापमा दर्ता गर्ने प्रक्रिया भर्खरै मात्रै शुरू भएको छ । यदि, त्यसो हुन सक्ने हो भने झापा जिल्लालाई मुलुककै प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका सदस्य विमल आचार्य बताउँछन् । झापाको बाटो हुँदै बङ्गलादेश र नेपालबीचको व्यापारको पनि ठूलो सम्भावना रहेको आचार्यको तर्क छ । पञ्चायतपछिको प्रजातान्त्रिक सरकारका पालामा उठाइएको नेपाल–भारत–बर्मा हुँदै थाइल्याण्डसम्म पुग्ने ‘सार्क वे’को अवधारणालाई यथावत् रूपले अघि बढाउनुपर्ने आवश्यकता रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य केशवराज पाण्डे बताउँछन् ।

तर, झापाको औद्योगिक विकासमा केही अवरोध पनि छन् । सम्पूर्ण मुलुकमा जस्तै झापामा पनि चरम ऊर्जासङ्कट छ । त्यसो हुँदा यस जिल्लाको औद्योगिक–व्यावसायिक विकासमा बाधा उत्पन्न भइरहेको छ । यो समस्याबाट मुक्ति पाउने उपाय पनि झापालीहरूसँग छ । झापाको गलगलिया नेपाल–भारत जोडिएको प्रसारण लाइन मर्मत गरेर भारतबाट १० मेगावाट विद्युत् आयात गर्ने हो भने झापालाई लोडशेडिङमुक्त गर्न सकिने अध्यक्ष डालमिया बताउँछन् । यसअघि सोही प्रसारण लाइनबाट भारतलाई १० मेगावाट विद्युत् बेचिएको थियो । ‘त्यो मर्मत गर्न निजीक्षेत्र तयार छ । तर, सरकारले पहिले भारतसँग कूटनीतिक पहल गर्नुपर्छ,’ डालमियाले भने । चन्द्रगढीको विमानस्थलको स्तरोन्नति गरी रात्रिकालीन सेवा सञ्चालन गर्ने हो भने यहाँको व्यापार र पर्यटनको विकास गर्न सकिन्छ । यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने व्यवसायीहरू बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।