कास्की । पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्र मापदण्ड मिचेर बनाएका संरचनाहरू भत्काउने अभियान थालेको छ । जनप्रतिनिधिहरू निर्वाचित भएर कार्यभार सम्हालेको लामो समय बितिसक्दा पनि महानगरभित्रका सार्वजनिक ठाउँमा अतिक्रमण नरोकिएको भन्दै स्थानीयले विरोध गर्न थालेपछि महानगरपालिकाले उक्त अभियान थालेको हो ।
महानगरपालिकाले मङ्गलवार वडा नं. १ को भीमकाली पाटन बगरस्थित भीमकाली पाटन तमु समाजको पर्खाल डोजर लगाएर भत्काएको छ । समाजले सार्वजनिक जग्गा मिचेर भवनको गेट र सार्वजनिक नहरको मापदण्डविपरीत पर्खाल लगाएको नगर प्रहरी प्रमुख वसन्त चालिसेले बताए । ‘सार्वजनिक स्थानको मापदण्ड मिचेर पर्खाल लगाएको स्थानीयको उजुरीका आधारमा डोजर लगाएर भत्काएका हौं,’ उनले भने, ‘मापदण्डविपरीत निर्माण गरिएका यस्ता संरचना महानगरले जुनसुकै हालतमा हटाउँछ ।’
समाजले सार्वजनिक बाटो तथा नहर कुलोको मापदण्ड मिचेर पर्खाल लगाएको निवेदन स्थानीय सुभद्रा पौडेलले गरेपछि महानगरले उक्त कारबाही गरेको हो । नियमविपरीत बनेको संरचना हटाएर कार्यालयमा सम्पर्क गर्न समाजलाई पत्राचार गरिए पनि अटेर गरेपछि महानगर प्रमुख मानबहादुर जीसीले उक्त संरचना भत्काउन निरीक्षण शाखालाई निर्देशन दिएका थिए ।
स्थानीय सुभद्रा पौडेलले आफ्नो करीब ५ आना जग्गालाई निकासमा अवरोध पुग्ने गरी समाजले पर्खाल लगाइदिएपछि घर निर्माण गर्नबाट वञ्चित भएकाले बाध्य भएर उजुरी गरेको बताइन् । ‘घर बनाउन दुई पटकसम्म जग हालें । तर, बाटो अवरोध गर्दैै घर नबनाउन चेतावनी दिए,’ उनले भनिन्, ‘उनीहरूकै अवरोधले गर्दा घर बनाउन पाइनँ ।’ महानगरसँगै जोडिएको छिमेकी गाउँ घाचोक स्थाई घर भएकी पौडेलले तमु समाजका पदाधिकारीले उक्त जग्गामा घर बनाउन नदिने भन्दै किनेको आधार मूल्यमा जग्गा माग्दै आएको बताइन् । भवन निर्माणका लागि करीब २ वर्षअघिदेखि स्वीकृति लिए पनि सार्वजनिक स्थानतर्फ समाजले लगाएको पर्खालकै कारण घर निर्माण गर्न नपाएको उनको गुनासो छ ।
मापदण्डविपरीतको संरचना भत्काउन वडा नं. १ का पदाधिकारी, वडा प्रहरी कार्यालय बगरका सुरक्षाकर्मी तथा नगर प्रहरीको सहभागिता थियो । महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले महानगर क्षेत्रभित्र मापदण्डविपरीत निर्माण भएका भौतिक संरचना भत्काउने अभियानलाई तीव्र पार्न मातहतका निकायलाई निर्देशन दिइसकेको बताए । भीमकालिपाटन तमु समाजका अध्यक्ष धर्मराज गुरुङ महानगरपालिकाले विधिवत् दर्ता भएको संस्थाले निर्माण गरेको भौतिक संरचना पदाधिकारी नभएको मौका छोपेर भत्काएको भन्दै आक्रोश पोखे । उनले हानगरनगर प्रमुख जीसीले कर्मचारीको पक्षमा लागेर भत्काएको आरोप लगाए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।