१६ सय पुराना गाडी हटाउने तयारी

Share News
कास्की । सरकारले २ वर्षअघि २० वर्ष पुराना गाडी हटाउन गरेको निर्णय पोखरामा चैत १ गतेदेखि कार्यान्वयन हुने भएको छ । गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयले बिहीवारदेखि २० वर्षे पुराना गाडी हटाउने अभियान सञ्चालन गर्न लागेको हो । कार्यालयले दर्ता भएकामध्ये १ हजार ६ सय ४६ पुराना सवारीसाधन विस्थापित गर्न लागेको बताएको छ । विस्थापित हुनेमा ट्याक्सी, मिनिबस, ट्रकदेखि पर्यटक कारसम्म छन् । कार्यालयका प्रमुख अच्यूत रेग्मीले भने पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउन प्रहरीसहित अनुगमन समिति बनाएरै सडकमा उत्रने बताए । विभागले सम्बन्धित सवारीधनीलाई निवेदन दिन सार्वजनिक सूचना निकालिसकेको छ । निवेदन दिने मिति बुधवारसम्मका लागि तोकिएको रेग्मीले बताए । ‘२० वर्ष पुराना ट्याक्सीका हकमा पुराना विस्थापित गर्दा सट्टामा नयाँ दर्ता गर्न पाउने सुविधा दिएका छौं,’ उनले भने, ‘व्यवसायीले विरोध गरे पनि स्वस्फूर्त रूपमा निवेदन आउन थालेका छन् ।’ बिहीवारदेखि २० वर्ष पुराना गाडी चल्न नदिने सरकारले गरेको निर्णयको यातायात व्यवसायीले विरोध गरेका छन् । सरकारले कार्यान्वयन गर्न लागेको २० वर्ष पुराना गाडी विस्थापन नीति लागू भएपछि गण्डकीमा ६ हजारभन्दा बढी गाडी विस्थापित हुनेछन् । सरकारी नीतिको विरोध गर्दै आएको नेपाल यातायात व्यवसायी महासङ्घले राज्यले व्यवसायीलाई उचित राहतको व्यवस्था गरेर मात्र विस्थापन नीति कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । अर्बौंको लगानी रहेको यातायात क्षेत्रमा २० वर्षे नीति कार्यान्वयनले मुलुककै अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने उनीहरूले बताएका छन् । विस्थापन नीतिले थोरै लगानीमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई बेरोजगार बनाउने भन्दै व्यवसायीले आक्रोश पोखेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।