उपभोक्ता ठगिनबाट जोगिन सतर्क रहनुपर्ने विषयहरूः

Share News
उपभोक्ताले आफूले उपभोग्य वस्तु खरीद गर्दा विशेष सावधानी र सतर्कता अपनाउनुपर्दछ । साथै, विक्रेताबाट नठगिनका लागि पनि बजारमा पाइने वस्तु वा सेवाको सम्बन्धमा धेरै जानकारी राख्ने बानी बसालौं । उपभोक्ता ठगी गर्नेलाई सचेत उपभोक्ताको सहयोगमा कारबाही गराउनसमेत मद्दत पुग्छ । त्यसैले हामी सबै उपभोक्ताहरू सचेत भएर आवश्यक वस्तु वा सेवाको खरीद र उपभोग गर्ने बानी बसालौं । उपभोक्ताले निम्नलिखित कुराहरूमा सचेत हुन सके ठगिनबाट जोगिन सकिन्छ ।
  • कम तौलको सामानहरू खरीद नगरौं ।
  • सामान खरीद गर्दा उपभोग्य अवधि हेर्ने बानी बसालौं र उपभोग्य मिति सकिएका सामानहरू खरीद नगरौं ।
  • कम गुणस्तरका सामानलाई राम्रो भनी ठगिन सक्ने भएकाले त्यस्तो सामान खरीदमा सर्तक रहौं ।
  • सार्वजनिक यातायातका साधनहरूमा सिण्डिकेट खडा गरी दलाल वा अनधिकृत व्यक्तिले झुक्याएर टिकट बेच्ने, सवारीसाधनमा यात्रुसँग बढी भाडा असुल्ने, गन्तव्यमा नपुर्‍याई छोडिने, छोटो दूरीमा चल्ने सवारीले लामो दूरीको भनी यात्रुलाई चढाउने, लामो दूरीको गाडीको छोटो दूरीमा यात्रु चढाउँदा तोकिएको समयमा गन्तव्यमा नपुर्‍याउँने आदिबाट सावधान रहौं ।
  • तोकिएको सेवा तोकिएकोे समय, मूल्य र गुणमा उपलब्ध नगराउनेलाई चिनौं र अरूलाई पनि चिनाऔं ।
  • आफूले उपलब्ध नगराउने सेवा उपलब्ध गराउँछु भनी रकम असुल्नेलाई कारबाही गर्न सहयोग गरौं ।
  • प्रचलित कानूनअनुसार इजाजत नलिई गैरकानूनी रूपमा कारोबार गर्ने बचत ऋण सहकारी, वित्तीय कारोबार, वैदेशिक रोजगारीमा वा विदेश पढ्न पठाउने वा यस्तै अन्य विभिन्न उपहार कार्यक्रम सञ्चालन गर्नेहरूसँग सावधान हौं ।
  • अनधिकृत व्यक्तिले बीमा कम्पनी, बचत सहकारी संस्था वा वित्त कम्पनीको प्रतिनिधि हुँ भनी बढी फाइदा हुने प्रलोभन देखाई रकम असुल गर्नेहरूसँग सावधान रहौं ।
  • कमसल र कम मूल्यमा सामान मिसावट गरी उपभोक्ता ठगिन सक्ने हुँदा त्यसबाट बचौं ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।