मदन लामिछाने/कृष्णा शर्मा
काठमाडौं । नेपाल सरकारले उपभोक्ताको जीउज्यान र सम्पत्ति संरक्षणको विषय उच्च प्राथमिकतामा राखेको छ । यसका लागि २०७२ साल फागुन महीनादेखि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग नामक छुट्टै निकाय गठन भई त्यसले सक्रिय रूपमा काम गर्दै आएको छ । ‘उपभोक्ता’ अर्थात् कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्ने व्यक्ति, समूह वा निकाय भन्ने बुझिन्छ, जुन अन्तरराष्ट्रिय, राष्ट्रिय क्षेत्रीय, पारिवारिक वा व्यक्तिगत स्तरका हुने सक्छन् । मूल्य तिरेअनुसारको गुणस्तर परिमाण र शुद्धता प्राप्त गर्ने उाभोक्ताको नैसर्गिक अधिकार हो । नेपालको संविधान २०७२ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक दिएको छ भने गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिका लागि कानूनबमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित समेत गरेको छ । नेपालको संविधानले नै उपभोक्ताको हकहितलाई मौलिक हकको रूपमा ग्यारेण्टी गरेको हो ।
नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा, कानूनी रूपले उपभोक्ताको हकहित र अधिकारको संरक्षण र सम्वर्द्धन गर्ने सत्प्रयासहरू सरकारद्वारा भएको पाइन्छ । त्यस्तै, निजीक्षेत्रका सङ्घ/संस्थाबाट उपभोक्ता मञ्च, नेपाल, जनहित संरक्षण मञ्च, उपभोक्ता सङ्घ नेपाल, नेपाल राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता महिला तथा बालबालिका संरक्षण समूह र लोकतान्त्रिक उपभोक्ता मञ्च नेपालजस्ता थुप्रै संस्था नेपालमा स्थापित भएर उपभोक्ताको हकहित र अधिकारको संरक्षण र सम्वद्र्धन गर्न लागिपरेका छन् । तर पनि विडम्बना के छ भने नेपालमा दूरदर्शी, सृजनशील, त्रुटिरहित, मितव्ययी, पारदर्शी किसिमले उपभोक्ताको हित हुने प्रकृतिका योजना तथा कार्यक्रमहरू बन्न सक्ला र बजारमा उत्पादनकर्ता कृषकहरू र उपभोक्तावर्गहरू दुवै बिचौलियाको उत्पीडन, दमन, शोषणबाट उन्मुक्ति पाउन सकिएला भनेर छटपटाइरहेको पाइन्छ ।
नेपालले हरेक वर्ष मार्च १५ लाई उपभोक्ता दिवसको रूपमा विभिन्न कार्यक्रम गरेर नयाँनयाँ नाराहरूका साथ मनाउँदै आइरहेको छ । ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ यस वर्षको नारा रहेको छ । मुलुकभित्र, उपभोक्ताहरूका हकहितका आवाज उठाउन झण्डै एक दर्जन बढी संघसंस्था स्थापना भएका पनि छन् । त्यस्तै, उपभोक्ताहरू वस्तु तथा सेवाको गुणस्तरमा ठगिनु नपरोस् भन्ने उद्देश्यले नेपाल सरकार आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग स्थापना गरेको छ । उक्त विभागले अहिले काठमाडौं, भक्तपुर र ललितपुरमा दैनिक बजार अनुगमन गरिरहेको र अन्य जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन र उपभोत्ता हित संरक्षण गर्न आदेश दिएको छ । तर पनि उल्लेखनीय नतिजा आउन नसक्दा सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसकेको त होइन भन्ने भान आम जनतामा पर्न गएको देखिन्छ ।
हालको अवस्थामा, बिचौलीया मुक्त रहेर, उत्पादनकर्ता कृषकहरू र उपभोक्ताहरू उपस्थित रहेको बजारको परिकल्पना गरिएको छ । यसका लागि सरकारले कुनै भूक्षेत्र विशेष अथवा समय विशेषको निर्धारण गरेर बिचौलियारहितको बजार तोक्नुपर्ने अत्यावश्यक देखिएको छ । जहाँ विक्रेता, उत्पादनकर्ता कृषकहरू र क्रेतामा सोझै उपभोक्ताहरू मात्र उपस्थित भएर खरीदविक्री सम्पन्न गर्न सकून् । खुला बजार प्रणालीअन्तर्गत माग र आपूर्तिका आधारमा स्वतः मूल्य निर्धारण प्रक्रिया हटाई, उत्पादनकर्ता कृषकहरूको पाउनुपर्ने विक्री मूल्य र उपभोक्ताले तिर्नुपर्ने जायज अधिकतम मूल्य सरकारद्वारा निर्धारण हुनु जरुरी छ । अहिले बिचौलियाहरूले आफूखुशी खरीद र विक्री मूल्य तोक्दा क्रेता र विक्रेता दुवै मर्कामा पर्ने गरेका छन् । तसर्थ, यस प्रणालीबाट मात्र समग्र उपभोक्ताको हित हुने प्रष्ट रूपमा औंल्याउन सकिन्छ । हालको अराजक बजारलाई व्यवस्थित र अनुशासित पार्न कृत्रिम अभाव सृजना गरी कालो बजारी हुन नदिन विभागले बारम्बार बजार तथा व्यावसायिक फर्महरू अनुगमन र निरीक्षण गरिरहेको छ । तर, यसलाई अझ बढी सक्रिया ढङ्गले अघि बढाउनु सरकारको प्रमुख जिम्मेवारी नै हो ।
वस्तु वा सेवाको सुरक्षित तरीकाले उपभोग तथा प्रयोग गर्न पाउनु नै उपभोक्ताको अधिकार हो । उपभोक्ताले आपूmले उपभोग गर्न चाहेको वस्तु वा सेवा उपयुक्त समयमा, उचित मूल्यमा र गुणस्तरयुक्त रूपमा उपभोग तथा प्रयोग गर्न पाउनुपर्दछ । यसका लागि उपभोक्ता आफैं पनि सचेत हुनुपर्दछ । कुनै पनि मालसामान खरीद गर्नुभन्दा पहिले सामान बनेको समय, उपभोग गर्ने म्याद, मूल्य, गुणस्तर आदिका बारेमा जानकारी लिनुपर्दछ । सेवा लिने क्रममा पनि सही मूल्यमा उपयुक्त सेवा लिने तरीकाबारे जानकारी हुनुपर्दछ । विनाजानकारी खाद्यान्न तथा औषधिहरू उपभोग गर्दा स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्दछ । तसर्थ उपभोक्ताका अधिकार केके छन्, अधिकार हनन भएमा क्षतिपूर्ति पाउन र विक्रेतालाई सजाय दिलाउन उजुरी गर्ने ठाउँ तथा अधिकृतबारे आमउपभोक्तालाई जानकार बनाउनु राज्यको दायित्व हो ।

केके छन् त उपभोक्ताका अधिकार ?
१. सुरक्षाको अधिकार
उपभोक्ताको सुरक्षाको अधिकारअन्तर्गत उत्पादित वस्तुको गुणस्तर, परिमाण र अन्तरवस्तुबाट मानव स्वास्थ्य, शरीर, सम्पत्ति र मर्यादामा पर्ने नकारात्मक असरबाट बचाउनु हो ।
२. सूचित हुने अधिकार
उत्पादक, वितरक वा सेवाप्रदायकले उपभोक्तालाई सूचना लुकाउनु हुँदैन, असत्य, अपूरो र भ्रम सृजना गर्ने सूचना प्रवाह गर्नु हुँदैन । वस्तु वा सेवाको बजारीकरण गर्ने उद्देश्यले गरिने प्रचारप्रसार विज्ञापन र सूचना उपभोक्ताको हितमा हुनुपर्छ । भ्रम सृजना गर्ने वा उपभोक्ता ठगिने गरी सूचना प्रवाह नगरी यथार्थ सूचना वा जानकारी दिई उपभोक्तालाई सूचित गर्नुपर्छ ।
३. छनोटको अधिकार
उपलब्ध वस्तु वा सेवा रोज्न पाउने उपभोक्ताको अधिकार हो । उत्पादित वा वितरित वस्तु प्रयोग गर्ने वा नगर्ने, आफ्नो प्रचलन वा धर्म, सांस्कृतिक परम्पराअनुसार कुनै वस्तु उपयोग गर्ने वा नगर्ने छनोट गर्ने अधिकार उपभोक्तामा रहन्छ ।
४. सुनुवाइको अधिकार
सुनुवाइको अधिकार सेवा प्राप्त गरेपछि वा वस्तु खरीद गरेपछि अधिकार हनन भएमा उपचार प्राप्त गर्ने अधिकार हो । यसअन्तर्गत वस्तु वा सेवाले पुर्याएको हानिनोक्सानी वा क्षतिको परिपूरण गर्ने र हनन भएका अधिकारको उपचार प्राप्त गर्नेसमेतका उपाय अवलम्बन गरिन्छ । ‘ढिलो न्याय न्याय होइन’ भन्ने सिद्धान्तबमोजिम उपभोक्तालाई सहज र छरितो सुनुवाइ अधिकारको प्रत्याभूति हुनुपर्छ ।
५. उपभोक्ता शिक्षाको अधिकार
उपभोक्ता शिक्षाको अधिकार औपचारिक र अनौपचारिक दुवै माध्यमबाट लिन र दिन सकिन्छ । राज्यद्वारा नै उपभोतmा शिक्षा प्रदान गरिने पहिलो उपाय हुन सक्छ भने दोस्रो व्यक्तिले आफ्नो इच्छाअनुसार प्राप्त गरेको शिक्षालाई राज्यले हस्तक्षेप नगर्ने उपायअन्तर्गत पर्छ । खाद्य पदार्थ, पानी वा अन्य सेवाहरू उपभोग्य र ग्रहणयोग्य हुन् वा होइनन् भन्ने सम्बन्धमा उपभोक्ता शिक्षा र सूचनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । सेवा प्रदायकले उपभोक्ता शिक्षा उपलब्ध गराउनुपर्छ ।
६. क्षतिपूर्तिको अधिकार
वस्तु तथा सेवा प्रदान गर्ने र व्यापारिक क्रियाकलापबाट उपभोक्तामा कुनै असर परेको भए त्यस्तो असरविरुद्ध सुनुवाइपछि उचित क्षतिपूर्ति पाउने अधिकार उपभोक्तामा सुरक्षित हुन्छ ।
७. आधारभूत आवश्यकतामा पहुँचको अधिकार
मानिसलाई जीवन जिउनका लागि अत्यावश्यक मानिने खानेकुरा, बस्ने बास, लगाउने कपडा, शिक्षा, सूचना, स्वास्थ्य र हानिकारक क्रियाकलापबाट सुरक्षित हुन पाउने आधारभूत आवश्यकता पूर्तिका लागि त्यस्ता वस्तु एवम् सेवाहरूमा पहुँचको अधिकार उपभोक्तामा सुरक्षित हुन्छ ।
८. स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार
स्वच्छ वातावरणको अधिकार मानव मर्यादा, प्रतिष्ठा र सम्मानपूर्ण जीवनको अधिकारसँग सम्बन्धित भएकाले यसलाई वस्तु तथा सेवा उपभोग गर्ने उपभोक्ताको अधिकारसँग जोडेर हेर्नुपर्छ । मानव र पर्यावरणबीचको अन्तरसम्बन्ध तथा अन्तरनिर्भरताले नै दिगो विकासलाई टेवा पु¥याउने भएकाले दिगो विकासका लागि मानवीय आवश्यकताको पूर्ति र विकास कार्यक्रमलाई वातावरणसँग सन्तुलित रूपमा आबद्ध गर्न वातावरण र विकासलाई सहयात्रीको रूपमा लिइनुपर्छ । दिगो विकासबिना आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार जोखीममा पर्न सक्छ । त्यसैले, स्वच्छ तथा स्वस्थ वातावरण समग्रमा उपभोक्ताको अधिकारको विषय हो ।
आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै
आज विश्व उपभोक्ता अधिकार दिवस, ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । उपभोक्ता अधिकार दिवसको अवसरमा सरकारी निकाय तथा उपभोक्तावादी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यसै अवसरमा विभिन्न उपभोक्ता संस्थाहरूमार्फत उपत्यकाका विभिन्न चोकहरूमा ब्यानर, प्लेकार्ड, माइकिङ र पर्चा वितरणलगायत जागरणका काम गर्दै आएका छन् । त्यस्तै, यससम्बन्धी वक्तृत्वकला प्रतियोगितासमेत सञ्चालन गरिएको छ । यसका साथै सातओटै प्रदेशमा मन्त्रालय तथा विभागका कर्मचारीहरूको संयोजकत्वमा उपभोक्ता सचेतना कार्यक्रमहरू भइरहेका छन् । चैत्र १ गते केन्द्रीयस्तरमा काठमाडौं तथा सातओटै प्रदेशमा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम हुँदै छ ।उपभोक्ता अधिकार दिवसकै अवसरमा आज बिहीवार विभागको कार्यालय भद्रकालीमा एक कार्यक्रमको आयोजना गर्न लागिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार रक्षाका लागि उपभोक्ता अधिकारकर्मीहरूले काम गर्दै आएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।