सन् २००० देखि व्यावसायिक कारोबार शुरू गरेको निम्बस कल्टीभेटिङले २ वर्षअघि देखि तेल उत्पादन शुरू गरेको हो । निम्बसले वीरगञ्ज महानगरपालिका–२१, जगन्नाथपुरबाट व्यञ्जन र सुनौलो किरण ब्राण्डका तेल उत्पादन गर्दै आएको छ । व्यञ्जन ब्राण्डमा सूर्यमुखी तथा तोरीको प्रिमियम तेल र सुनौलो किरण ब्राण्डमा सूर्यमुखी, तोरी र भटमासको तेल उत्पादन हुन्छ ।
कम्पनीले नेपालमै पहिलोपटक स्विडिस प्रविधि प्रयोग गरेर अन्तरराष्ट्रिय गुणस्तरको तेल उत्पादन गरेको कम्पनीका निर्देशक आनन्द बगारियाले जानकारी दिए । व्यञ्जन ब्राण्डमा भिटामिन ‘ए’ र ‘डी’ समावेश गरिएको उनको दाबी छ । व्यञ्जन तेल ५ सय मिलिलिटरदेखि १ लिटर, २ लिटर र ५ लिटरको बोटलमा प्याकेजिङ गरिएको छ । व्यञ्जन तोरीको तेलको बजारमूल्य २ सय १० रुपैयाँ प्रतिलिटर र सूर्यमुखीको १ सय ९० रुपैयाँ प्रतिलिटर रहेको छ । व्यञ्जनले अन्तरराष्ट्रिय मापदण्डअनुसारको गुणस्तर र उत्कृष्ट प्याकेजिङ गरेकाले मुख्यगरी विदेशबाट नेपाल आयात हुने खानेतेलहरूलाई प्रतिस्पर्धी मानेको छ । विदेशबाट आयात हुने तेलको आयात मूल्य, अन्तःशुल्कलगायतले मूल्य बढी पर्ने र आमउपभोक्तामा खानेतेलबारे पर्याप्त चेतना नभएकाले भने जति बजार विस्तार गर्न सकिएको छैन ।
व्यञ्जन तेल उत्पादक निम्बसले तेल उत्पादनमा ७० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । वार्षिक ३० अर्ब रुपैयाँको तेलको कारोबार हुने स्वदेशी तेल बजारको ८ देखि ९ प्रतिशत हिस्सा व्यञ्जनले ओगटेको छ । नयाँ कम्पनी भएकाले क्रमशः विस्तार हुनेमा निम्बस आशावादी छ । हाल निम्बसको वार्षिक वृद्धिदर ५० प्रतिशतको हाराहारीमा छ । ३ हजार मेट्रिकटन प्रतिमहीना तेल उत्पादन क्षमताको निम्बसले हाल १ हजार ५ सय मेट्रिकटन मात्र उत्पादन गरिरहेको छ । भारतसँगको खुला सिमाना र आमउपभोक्तामा खानेतेलबारे पर्याप्त चेतना नहुँदा तेलले पाउनुपर्ने जति बजार पाउन नसकेको उत्पादकको भनाइ छ । रू. ६० करोडको लागतमा सञ्चालन गरिएको व्यञ्जन तेलले वार्षिक डेढ अर्बको कारोबार गर्छ । व्यञ्जन तेल ८० ओटा विक्रेतामार्फत नेपालका ३० जिल्लामा प्रत्यक्ष र ५० जिल्लामा अप्रत्यक्ष रूपमा विक्रीवितरण हुन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।