पर्यटन, जल, जैविक र सांस्कृतिक विकासको प्रचुर सम्भावना बोकेको म्याग्दी जिल्ला आर्थिक समृद्धिको यात्रामा छ । केही वर्ष अघिसम्म यो जिल्ला विप्रेषण र व्यापारबाट धानिएको थियो । तर, अहिले पर्यटन, साना तथा घरेलु उद्योग, विद्युत्, कृषि तथा वनसम्पदा, सांस्कृतिक र जैविक विविधतातर्फ उन्मुख हुन थालेको छ । प्राकृतिक सम्पदाको धनी म्याग्दीमा पर्यटकीय स्थलहरू प्रशस्त छन् । स्थानीयस्तरमा सञ्चालित केही गैरसरकारी संस्थाको पहलमा पर्यटन क्षेत्रको विकासका लागि साझेदारी कार्यक्रमहरू सञ्चालन भइरहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुविरकुमार श्रेष्ठ बताउँछन् ।
म्याग्दी जिल्ला जल र खनिज सम्पदाले पनि धनी छ । जिल्लाका विभिन्न ठाउँ भएर बग्ने ५० भन्दा बढी नदी छन् । यी नदीबाट करीब १ हजार २ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ । तर, सानाठूला गरी हालसम्म १ सय ४ मेगावाट विद्युत् मात्र उत्पादन हुन सकेको छ । अझै पनि नदीको सदुपयोग हुन नसकेको म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माको भनाइ छ । म्याग्दी भएर बग्ने कालीगण्डकी नदीबाट कालीगण्डकी जलविद्युत् परियोजना सञ्चालनमा रहेको छ । मुक्तिनाथ उद्गमस्थल रहेको कालीगण्डकीमा शालिग्रामसमेत पाइन्छ । यस नदीमा स्नान गरेमा पवित्रता प्राप्त हुने जनविश्वास छ ।
म्याग्दी खोला, रघुगङ्गा खोला, रितुङ खोला, मिस्त्री खोलालगायत खोलालाई ऊर्जा खोलाहरू भनेर चिनिने गरिन्छ । रघुगङ्गा खोला, रितुङ खोला र कालीगण्डकी गर्जमा विद्युत् उत्पादनका लागि योजनासमेत अगाडि बढिसकेको छ । म्याग्दीका अन्य नदीमा पनि विद्युत् उत्पादनका लागि प्रचुर सम्भावना छ । त्यसैले होला, म्याग्दी जिल्लालाई भविष्यमा विद्युत् ऊर्जा र पर्यटकीय क्षेत्रका रूपमा चिनाउन सकिने सङ्घका अध्यक्ष श्रेष्ठको विश्वास छ । त्यस्तै, कालीगण्डकी र म्याग्दी नदीमा र्याफ्टिङको पनि सम्भावना छ । अहिले पनि म्याग्दी जिल्लाको गलेश्वर घुमाउने तालदेखि स्याङ्जा जिल्लाको मिर्मीसम्म र्याफ्टिङ सञ्चालन भइरहेको छ । यसले पर्यटकलाई आकर्षित गरिरहेको छ ।
उपचार पर्यटन
म्याग्दी जिल्लामा उपचार पर्यटन फस्टाउँदो क्रममा छ । यहाँका तातोपानी कुण्डहरूमा नुहाउने र रोग निको पार्ने अभ्यास धेरै पहिलेदेखि हुने गरेको छ । सिङ्गा तातोपानीमा वर्षेनि दशौं हजार मानिस नुहाउने र रोग निको पार्ने उद्देश्यले आउँछन् । भुरुङ तातोपानीमा मुख्यतः अन्नपूर्ण राउण्ड पदयात्रामा आउने पर्यटकले आनन्द लिने गरेका छन् । यी दुवै तातोपानी कुण्डले जिल्लाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् । जिल्लाका दाना, घार, दग्नाम, दोवा र मुदी गाविसहरूमा समेत प्राकृतिक तातोपानी कुण्डहरू रहेका छन् । त्यस्तै, उपचारको उद्देश्यले चौंरीको रगत पिउने कार्यले समेत अचेल पर्यटकीय महत्व पाउन थालेको छ । हाल म्याग्दी जिल्लाको खोप्रालेकमा हरेक वर्ष साउन महीनामा चौंरी गाईको रगत पिउने मेला लाग्छ । मेलामा २ हजारदेखि ५ हजारसम्म मानिस पुग्ने गरेका छन् ।
ग्रामीण पर्यटन र वायरलेस इण्टरनेट
म्याग्दीका केही सांस्कृतिक महत्वका बस्तीहरू ग्रामीण पर्यटकका लागि आकर्षक रहेका छन् । छन्त्याल जातिको सबभन्दा ठूलो बस्ती भएको गुर्जा गाउँ, मगर र छन्त्याल संस्कृतिको नमूना अध्ययन, चिमखोला, दोबा, पाउद्वारजस्ता गाउँ महत्वपूर्ण छन् । त्यस्तै, सूचनाप्रविधिको उपयोगबाट चर्चा पाउन सफल म्यागासेसे विजेता महावीर पुनको नागी गाउँ यस जिल्लाको ग्रामीण पर्यटनको महत्वपूर्ण बस्ती हो । विकट ग्रामीण क्षेत्रमा वायरलेस इण्टरनेट प्रविधिको उपयोग गरिएको पहिलो गाउँका रूपमा नागीलाई लिइन्छ । हाल, यस जिल्लाका उत्तरपूर्वका १० गाविस र पश्चिमतर्फका आठ गाविसमा वायरलेस इण्टरनेटको नेटवर्क पहुँच पुगिसकेको छ ।
सामुदायिक लज
अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाहय पर्यटकको सुविधाका लागि म्याग्दीको नागी, खोप्रा, हिस्तान, मोहरेडाँडा, टिकोट, ढाँडखर्क गाउँमा सामुदायिक लज सञ्चालनमा छन् । नेपालमै पहिलोपटक समुदायको सक्रियतामा खुलेका लजमा हुने आम्दानीले विद्यालय सुधार र सामाजिक विकासका कार्यमा लगानी गर्न सहयोग पुगेको छ । लजले स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै स्थानीय युवाहरूलाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ । अन्य जिल्लाका लागि पनि यी सामुदायिक लज उदाहरणीय बन्न सक्नेछन् ।
जैविक विविधता र पर्वतारोहण
म्याग्दी जिल्लामा वनस्पति र जीवजन्तुको विविधता रहेको छ । साथै, ती विविधताहरूको अध्ययनका लागि यहाँ उपयुक्त वातावरणसमेत छ । ढोरपाटन शिकार आरक्षको केही क्षेत्र म्याग्दीमा पर्छ । जिल्लाको उत्तरी क्षेत्र मुदी, कुइनेमङ्गले, चिमखोला, नारच्याङ आदि स्थानमा जैविक विविधताको अध्ययन–अनुसन्धान गर्न सकिने जिल्ला वन कार्यालयका रेञ्जर चन्द्रमणि सापकोटाको भनाइ छ ।
परापूर्वकालदेखि नै भीरमह निकाल्ने अभ्यास जिल्लामा रहिआएको छ । यहाँ हिमाल आरोहणको पनि अत्यधिक सम्भावना छ । यस जिल्लामा धौलागिरि हिमाल प्रथमदेखि छैटौंसम्म, अन्नपूर्ण, नीलगिरि, चुरेनी हिमाल, मानापाथी, गुर्जा हिमाललगायत दुई दर्जनभन्दा बढी हिम चुचुरा रहेका छन् । यी हिमालको आरोहणबाट पनि जिल्लाले आर्थिक लाभ लिन सक्ने धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँ बताउँछन् ।
कृषि उत्पादन
म्याग्दी कृषि उत्पादनका दृष्टिकोणले बहुआयामिक छ । उच्च पहाडदेखि तराईसम्म हुने बालीको उत्पादन यो जिल्लामा गर्न सकिन्छ । उत्पादित प्रमुख व्यावसायिक बालीहरूमा सुन्तला जातका फलफूल, बेमौसमी÷मौसमी तरकारी, आलु, तरकारीका बीउ, अन्नबालीका बीउ, स्थानीय सिमी, च्याउ, मह आदि मुख्य रहेका छन् । पछिल्ला वर्षहरूमा जिल्लाबाट सुन्तला, तरकारी बीउ, अन्नबालीका स्रोत बीउ, वर्षे आलु, ताजा तरकारी (प्राङ्गारिक), मह आदि निर्यात हुने भए पनि सबैको वास्तविक परिमाण भने कोहीसँग छैन ।
जिल्लाको शिख गाविसको पाउद्वारमा चीज उत्पादन गरिन्छ । यहाँ उत्पादित चीज पर्यटकहरूलाई सेवा दिने होटलहरूमा खपत हुने र केही पोखरामा समेत निकासी हुने गरेको छ । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा जाम, जुसहरू, सिस्नोको धूलो, अल्लोका कपडा, नेपाली हाते कागजहरूको समेत उत्पादन हुने गरेको छ ।
खनिज सम्भावना
म्याग्दी जिल्लाका विभिन्न स्थानमा तामाखानी, शिशाखानी, स्लेट ढुङ्गा, खरिढुङ्गा खानी रहेका छन् । यी खानीको उपयोग भने हुन सकेको छैन । तामा, शिशा, स्लेटजस्ता खनिजको उत्पादन गरी निर्यात गर्न सकिने सम्भावना छ । साथै, अन्य खनिजहरूको समेत सम्भाव्यता अध्ययन गर्न सकिन्छ । तर, सञ्चालनमा रहेका खानीसमेत सरकारले बन्द गरेका कारण नयाँ खानीको उत्खनन हुन सकेको छैन ।
जडीबुटी
यस जिल्लाको हिमाली भेग (गुर्जा, मुदी, कुइनेमङ्गले, चिमखोला, नारच्याङलगायत गाविस)मा यार्सागुम्बाको सङ्कलन हुने गर्छ । पछिल्ला वर्षहरूमा यहाँबाट करौडौं रुपैयाँको यार्सागुम्बा निर्यात हुने गरेको छ । यार्सागुम्बाबाहेक सतुवा, पाँचऔंले, नीरमसी, कटुकी, सिलटिमुर, टिम्मुर, बोझो, हर्रोबर्रो आदि जडीबुटी तथा लोक्ता, अल्लोपुवा, लालीगुराँसको जुस, चिमखोले डोको आदि वनपैदावार यस जिल्लामा उत्पादन तथा सङ्कलन भई निर्यात हुने गरेका छन् । यस क्षेत्रमा मात्र ३ सय ५ जना मानिस संलग्न छन् ।
एक जिल्ला एक उत्पादन कार्यक्रम
एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत यस जिल्लाका लागि टिम्मुर खेती छनोट भइसकेको छ । सन् २०११ देखि लागू भएको उक्त कार्यक्रमअन्तर्गत यस वर्ष नारच्याङ र घतान गाविसलाई छनोट गरी ३ हजार ६ सयओटा टिमुरका बिरुवा रोप्ने कार्यक्रम छ । यसबाट टिमुरको व्यवसायीकरणका साथै कृषकहरूको आय वृद्धी गर्न सहयोगी बन्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।
कोरियाका व्यवसायी म्याग्दीमा लगानी गर्न इच्छुक छन्
कुविरकुमार श्रेष्ठ
अध्यक्ष
म्याग्दी उद्योग
वाणिज्य सङ्घ
म्याग्दी जिल्लाको पर्यटन, कृषिलगायत आर्थिक क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक छ । यहाँ भइरहेका सकारात्मक काम र सफलताका कथाहरूलाई प्रचार गर्न सकियो भने दीर्घकालीन रूपमा त्यसले हामीलाई नै सहयोग पु¥याउ“छ । गर्न खोजेका राम्रा काम, जुन गर्न सकिरहेका छैनौं, त्यसको पनि छलफल र बहस हुन जरुरी छ । समस्यामा केन्द्रित भएर गरिने छलफलले सहज निकास दिन्छ । भविष्यमा गर्नुपर्ने कामबारे पनि योजना बनाएर अगाडि बढ्न सकिन्छ ।
जिल्लामा भएका राम्रा कुरालाई सबैले प्रवर्धन गरौं । म्याग्दीलाई विकास गर्न र लगानीको वातावरण बनाउन हामी सबै एकजूट होऔं । यसका लागि नेपाल उद्योग वाणिज्य महासङ्घलाई पनि आग्रह गरौं । हामीले गर्न खोजेको सही कामका लागि सहयोग जुटाउन अन्य मित्रराष्ट्रहरूसँग पनि छलफल बढाऔं । कोरियाका व्यवसायी म्याग्दीमा लगानी गर्न इच्छुक छन् । उनीहरूसँग सहकार्य गर्न सकियो भने हाम्रो भविष्य राम्रो हुन्छ । उनीहरू कृषिलगायतका क्षेत्रमा लगानी गर्न आतुर रहेको पाएका छौं ।
सरकारले सन् २०१२ लाई लगानी वर्ष घोषणा गरेको छ । म्याग्दी जिल्लामा पनि लगानी गर्नका लागि धेरै क्षेत्र छन् । त्यसैले, यहाँका सम्भावित लगानी क्षेत्रलाई पहिचान गरी भविष्यमा लगानी गर्न सकिन्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका तर्फबाट म सरकार, निजीक्षेत्र र अन्तरराष्ट्रिय दाताहरूलाई पनि लगानीका लागि आहवान गर्न चाहन्छु ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।