ट्याङ्करमा लकिङ : बेतालपुर र गोण्डा दोस्रो चरणमा

Share News
काठमाडौं । भारतको बेतालपुर र गोण्डाबाट नेपाल आयात हुने इन्धन बोक्ने ट्याङ्करमा लकिङ प्रणाली लागू भएको छ । नेपाल आयल निगमले दोस्रो चरणअन्तर्गत बेतालपुरबाट नेपालगञ्ज र गोण्डाबाट भैरहवा हुँदै नेपाल भित्रिने इन्धनको ट्याङ्करमा लकिङ प्रणाली लागू गर्ने तयारी गरेको हो । पछिल्लो समय ट्याङ्करबाट बीच बाटोमै इन्धन चोरी हुनेलगायत घटना बढिरहेको समयमा निगमले पहिलो चरणमा भारतको पश्चिम बङ्गालको सिलगुडीबाट नेपाल भित्रने ट्याङ्करमा लकिङ प्रणाली लागू गरिसकेको छ । निगमले औपचारिक रूपमा केही दिनअघि लकिङ प्रणालीको उद्घाटन गरेको निगमका प्रमुख कार्यकारी सुशील भट्टराई बताए । अब चैत १५ गतेसम्ममा बेतालपुर र गोण्डा दुई नाकाबाट भित्रिने ट्याङ्करमा लकिङ प्रणाली लागू गर्ने निगमको तयारी छ । शुरूमा केही असहज स्थिति भए पनि अहिले असहज स्थिति अन्त्य भइसकेको उनले बताए । सिलगुडीबाट नेपाल भित्रिने ट्याङ्करका चालकले शुरूमा लकिङ प्रणालीको विरोध गरेका थिए । लकिङ प्रणालीलाई ३ महीनाभित्र सबै ट्याङ्करमा लागू गरिसक्ने योजना रहेको पनि भट्टराईले जानकारी दिए । इन्धनको ट्याङ्करमा लकिङ प्रणाली लागू गर्न निगमको एक टोलीले भारतस्थित इण्डियन आयल कर्पोरेशन (आईओसी) टोलीसँगै लामो अध्ययन गरेको निगमले बताएको छ । अध्ययनबाट लकिङ प्रणाली लागू गर्ने निष्कर्ष निकालिएपछि कार्यान्वयनका लागि पहिलो चरणमा सिलगुडीबाट भित्रिने ट्याङ्करमा सो प्रणाली लागू गरिएको हो । कार्यकारी प्रमुख भट्टराईका अनुसार लकिङ प्रणाली लागू हुँदा आगामी दिनमा ट्याङ्करबाट हुने इन्धन चोरी वा चुहावट कम हुने निश्चित छ । लकिङ प्रणालीअनुसार लगाइने ताल सजिलै फुटाउन नमिल्ने उनले जानकारी दिए । उनका अनुसार आईओसीको लकिङ सिष्टम अन्तरराष्ट्रिय स्तरको छ र नेपालमा पनि सोही डिजाइनको लकिङ प्रणाली लागू गरिएको हो । नयाँ लकिङ प्रणालीको तालाको साँचो निगमका प्रमुख र आईओसीसँग मात्रै हुँदा यसले चोरी हुने कामलाई पूर्णरूपमा रोक्ने भट्टराईको दाबी छ । निगमले आगामी १ महीनाभित्र बरौनी र रक्सौलबाट इन्धन आयात गर्ने ट्याङ्करमा समेत लकिङ प्रणाली लागू गर्ने भएको छ । आगामी जेठसम्ममा नेपालमा इन्धन बोक्ने सबै ट्याङ्करमा यो प्रणाली लागू गरिसक्ने निगमले बताएको छ । हाल मुलुकभित्र १८ सय ट्याङ्करमार्पmत इन्धन ढुवानी भइरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।