कास्की । मनिपाल शिक्षण अस्पताल प्रशासन र अस्पतालमा कार्यरत कर्मचारीबीच लामो समयदेखिको विवाद समाधानका लागि प्रदेश सरकारले चासो देखाएको छ । विगत ९ महीनादेखि विभिन्न ५ बँुदे माग राखेर कर्मचारीहरू आन्दोलनरत छन् । कर्मचारीहरूको समस्या समाधान गर्न प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान मङ्गलवार अस्पताल पुगेर आन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच छलफल गरेका हुन् ।
अस्पताल प्रशासनसँग भएको छलफलमा मन्त्री चुमानले कुनै पनि मागलाई पहिला सकारात्मक रूपमा हेर्न सुझाव दिए । समस्या दुवैथरिका हुन सक्ने बताउँदै उनले समस्यालाई शुरूमै नकारात्मक दृष्टिकोणबाट मात्र नहेर्न प्रशासनलाई निर्देशन दिएका हुन् । प्रदेश राजधानी पोखरामै रहेको अस्पतालमा लामो समयदेखि कर्मचारीसँग विवाद हुँदा अस्पतालप्रति जनतालाई नकारात्मक भाव पैदा हुने बताउँदै आन्तरिक समस्यालाई टुङ्ग्याउन उनले आग्रह गरे ।
छलफलमा अस्पतालका डीन बीएम नागपालले अस्पताल घाटामा चलेको बताउँदै चिकित्सकले माग गरेअनुसारको सेवासुविधा दिन प्रशासनले नसक्ने बताए । यद्यपि आफूहरू वार्ताकोे माध्यमबाट समस्या समाधान गर्न तयार रहेको उनले स्पष्ट पारे । आन्दोलनरत अखिल नेपाल स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सचिव रमेश बोहोराले अस्पताल प्रशासनले तलबभन्दा पनि अन्य सुविधामा पनि नेपालीहरूलाई अत्याचार गरेकाले आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।
मेडिकल काउन्सिलले ७३ वर्ष काटेका डाक्टरलाई अवकाश दिने निर्णय गरेको भए पनि मनिपालमा युवा डाक्टरलाई करारमा राख्ने र उमेर हद काटेकालाई स्थायी गरेर काममा लगाइराख्ने गरिएको आन्दोलनरत कर्मचारीको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।