घरेलु तथा साना उद्योगहरूलाई संरक्षण दिने काम गरिरहेका छौं

Share News
घरेलु तथा साना उद्योगहरूको विकास र विस्तारका लागि संस्थागतरूपमा शीप विकास, उद्यमी विकास कार्यक्रम र उद्योग प्रवर्द्धनात्मक सेवाहरू उपलब्ध गराउन घरेलु तथा साना उद्योग विकास समितिको स्थापना भएको हो । समितिले उद्यमीहरूलाई व्यवसाय गर्न तथा त्यसको बजारीकरणका लागि सहयोग पुर्‍याउँदै आएको छ । समितिको आयोजनामा स्वदेशी वस्तु प्रयोग गरौं, समृद्धितर्फ अघि बढौं भन्ने मूल नाराका साथ २९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी यही चैत ९ गतेदेखि शुरू हुँदैछ । यसै सन्दर्भमा आउन लागेको प्रदर्शनी र नेपालमा घरेलु तथा साना उद्योगकोे अवस्था, समस्या, सम्भावनालगायत विषयमा समितिका कार्यकारी निर्देशक नवीनकुमार झासँग आर्थिक अभियानका मदन लामिछाने र कृष्णा शर्माले गरेको कुराकानीको सम्पादित अंश : मेलाको मुख्य उद्देश्य के हो ? यस समितिले मुख्यरूपमा बजार बजार समन्वय र बजारीकरण गर्ने काम गर्दै आइरहेको छ । यसअन्तर्गत स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तुको विक्रीवितरण तथा प्रचारप्रसार गर्ने उद्देश्यले राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको आयोजना गरिएको हो । यस प्रदर्शनीले मुख्यरूपमा उपभोक्ता, विक्रेता र क्रेता तीनै पक्षलाई एउटै छातामुनि जमघट गराएर स्वदेश तथा विदेशमा नेपाली ब्राण्ड, उत्पादन तथा प्रविधिको बारेमा जानकारी दिन सहयोग पुर्‍याउनेछ । घरेलु तथा साना उद्योगको विकासमा समितिले कसरी सघाइरहेको छ ? अहिले शीप विकासका तालीमहरू, उद्योग प्रवद्र्धन कार्यक्रम, कोसेली घर स्थापनालगायत कार्यक्रमको अहिले माग बढिरहेको छ । रोजगार रहेका युवा उद्यमी तर आफ्नो उत्पादनमा सुधार गर्न खोज्नेहरूका लागि हामीले उनीहरूको मागअनुसार शीप विकास तालीम, प्रविधि तथा बजारीकरणलगायत काममा हामीले सघाइरहेका छौं । हामीले बीउबीजनका लागि विभिन्न वित्तीय संस्थाहरूबाट कम ब्याजदरमा सहुलियतपूर्ण ऋणका लागि सहजीकरण गरी दिने काम पनि गर्दै आइरहेका छौं । हामीले शीप, प्रविधि, सहुलियत ऋणलगायत उद्यमीका लागि चाहिने सबै कुराहरूमा सहयोग पुर्‍याइरहेकाले यस्ता उद्योगको विकास भई देशको आार्थिक समृद्धिमा सघाउनुका साथै रोजगारी बढाउनेमा हाम्रो विश्वास छ । मेलामा विभिन्न वस्तुको उत्पादनबारे अन्तरक्रियाको आयोजना पनि हुँदै छ । वस्तु उत्पादनमा नयाँ प्रविधिको प्रयोग, गुणस्तर कसरी बढाउने, बीउबीजन, उद्योगलाई कसरी ठूलो बनाउने भन्ने विषयमा पनि उद्यमीहरूले अन्तरक्रियाका माध्यमबाट जानकारी लिन पाउँछन् । यी सबै कारणले गर्दा घरेलु उद्योगहरू फस्टाउने वातावरण बनिरहेको छ । अहिले ३ लाख लघु तथा घरेलु उद्योगहरू दर्ता भई सञ्चालनमा छन् । दिन प्रतिदिन यो सङ्ख्या बढ्दो क्रममा छ । यो क्षेत्रको विकास तथा विस्तारमा नेपाल सरकार उत्साहित पनि छ । तर, यसलाई अझै व्यापकता दिन हामीहरू लागि परेका छौं । नेपालमा औद्योगिक वस्तुहरूको उत्पादन र सम्भावना कस्तो रहेको छ ? अहिलेको प्रादेशिक संरचनाअनुसार स्थानीय तथा प्रदेश सरकारहरूले लघु तथा साना उद्योगहरूलाई प्राथमिकतामा राख्नुपर्छ । यो प्रदर्शनीले स्थानीयस्तरको सरकारलाई पनि प्रभाव पार्छ । नेपाल प्राकृतिक स्रोत साधनमा धनी देश भएकाले र नेपालीहरूमा शीप, कला र परम्परागत प्रविधिको कमी नभएकाले साना उद्योगको विकास गर्न सकिन्छ । यी कुराहरूलाई समायोजन गरेर नयाँ प्रविधिअनुसार उत्पादन बढाएर स्वदेशमै रोजगारी तथा स्वरोजगारी बढाउन सकिन्छ । देश अहिले आर्थिक समृद्धिका बाटोमा अगाडि बढिरहेको छ । यो क्षेत्रको विकास गर्न सके यसले देशको समृद्घिमा अतुलनीय योगदान पुर्‍याउनेछ । त्यसैले अहिलेको परिस्थितिमा केन्द्रदेखि स्थानीयस्तरसम्म लघु तथा साना उद्योगका विकासमा सरकार लागिपरेको छ । यो क्षेत्रमा समस्या के कस्ता छन् ? नेपालको ठूलो अर्थतन्त्र भएका दुई छिमेकीहरू छन् । त्यहाँ ठूलाठूला उद्योगहरूमार्फत उत्पादन हुने हुनाले उनीहरूको मूल्य कम हुन्छ । जसले नेपाललाई प्रतिस्पर्धा गर्न अलिक गाह्रो हुन्छ । यो यथार्थलाई स्वीकार गरेर हामी अगाडि बढ्नुपर्छ । हामीले छिमेकी देश भारत र चीनमा कम उत्पादन हुने वस्तुको उत्पादनमा जोड दिनुपर्छ । यस्तो गर्न सके स्वदेशमै बजार विस्तार गर्नुका साथै निकासी पनि गर्न सक्छौं । अर्को कुरा सानो मात्रामा उत्पादन गरिरहेका उद्यमीहरूलाई प्रविधि दिएर उत्पादन बढाउन सकिन्छ । उत्पादन बढाउँदा लागत खर्च कम हुनुका साथै आम्दानी बढ्छ । तेस्रो चुनौती भनेको कसरी साना उद्यमीहरूको उत्पादनको गुणस्तर बढाउने भन्ने छ । उद्यमीहरूलाई प्रविधि दिएर उत्पादन बढाउँदा गुणस्तर बढ्छ की बढ्दैन भन्ने छ । हाम्रा साना उद्यमीहरू दूरदराजका साना गाँउहरूमा बस्छन् । त्यसैले उनीहरूको पहुँच सीधै बजारसम्म हुँदैन । त्यसैले हामीले बजारीकरणमा पनि सघाएर शुरूको अवस्थामा उनीहरूलाई टिकाइराख्ने काम पनि गरिरहेका छौं । नेपाल सरकारले घरेलु तथा साना उद्योगहरूलाई संरक्षण दिने काम गर्नुपर्छ । अनि मात्रै यस्ता उद्योगहरू फस्टाउने मौका पाउँछन् । प्रादेशिक संरचनाअनुसार घरेलु तथा साना उद्योग विकास समितिले अबका काम कसरी अघि बढाउँछ ? प्रादेशिक संरचनाअन्तर्गत कसरी अगाडि जाने भनेर नेपाल सरकारको निर्देशन अझै समितिमा आएको छैन । आगामी दिनमा नेपाल सरकारको निर्देशनअनुसार समिति अगाडि बढ्छ । स्थानीय, प्रान्तीय र सङ्घीय गरी तीनै तहको सरकार भइसकेको अवस्थामा यसको विस्तार र नियमन गर्ने काम सङ्घीय सरकारबाट हुन्छ । प्रदेश सरकारहरूले आफ्नो प्रदेशमा के कस्ता सम्भावनाहरू छ, त्यसको पहिचान गरेर केन्द्रसँग मिलेर अगाडि बढ्न सकिन्छ । लघु, साना तथा मझौला उद्योगहरूको विकासमा मुख्य भूमिका प्रदेश सरकारहरूको हुने देखिन्छ । मेलामा कस्ता उद्यमी सहभागी हुन्छन् ? प्रदर्शनीमा ७२ ओटा जिल्लाका व्यवसायीहरू आउनु भएको छ । प्रदर्शनीमा इलामको चिया, ओखलढुङ्गाबाट राडी पाखी, सिन्धुपाल्चोकबाट लप्सीका परिकार, जनकपुरबाट मिथिलासम्बन्धी क्राफ्ट, लुम्बिनीबाट गौतमबुद्घ अङ्कित विभिन्न सामग्री, तेह्रथुम, पाल्पा र तनहुबाट ढाकाका सामग्री, रोल्पाबाट अल्लोका सामान तथा रेसाजन्य उत्पादनलगायतका वस्तुहरू रहनेछन् । लघु, साना तथा मझौला उद्योगहरूबाट उत्पादित औद्योगिक वस्तुहरू मेलामा रहनेछन् ।मेलामा कस्ता कस्ता प्रविधिको प्रदर्शनी हुनेछ ? प्रदर्शनीमा हाते तानबाट ढाका कपडा बुन्ने, स्वीटर बुन्ने, चिउरा कुट्ने, स्क्रीन प्रिण्टिङ, इम्ब्राइडरी, माटोका भाडा बनाउनेलगायत प्रविधि प्रदर्शनी गरिनेछ । साथै रेशम किराबाट कसरी रेशम उत्पादन हुन्छ, त्यसको जीवनचक्र पनि देखाइनेछ । साथै, फेल्टका उत्पादन तथा हातेकागज बनाउने प्रविधि पनि मेलामा रहनेछ ।घरेलु तथा साना उद्योगहरूले आयात प्रतिस्थापनमा कसरी सहयोग पुर्‍याइरहेका छन् ? हाम्रा धेरै जिल्लामा उत्पादन गर्न कच्चा पदार्थ, उत्पादन बढाउन प्रविधि र स्रोत साधन पनि छ । तर, यी तीनै कुराको राम्रोसँग समायोजन हुन सकिरहेको छैन । हामीले कच्चा पदार्थबाट वस्तु उत्पादन गर्न नयाँ र परम्परागत प्रविधिको समायोजन गरेर अगाडि बढ्यौं भने विदेश पलायन भइरहेका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सकिन्छ । देशमा उत्पादन बढ्यो भने स्वभाविक रूपमा उत्पादन बढेका वस्तुको आयात घट्छ । ठूला उद्योगहरूमा कामदारहरू धेरै देखिने हुन्छ । तर, साना उद्यमीहरू सानोसानो समूहमा गाँउघरतिर उत्पादन गरिरहेका हुने भएकाले बाहिर धेरै देखिँदैन । तर, ठूला उद्योगलाई चाहिने वस्तु उत्पादन गरेर सहयोग पु¥याउने काम पनि साना उद्योगले गरिरहेका छन् ।यसपटक प्रदर्शनीको मुख्य आकर्षण के रहन्छ ? यसको प्रमुख विशेषता भनेको नेपाली वस्तु तथा उत्पादन मात्र प्रदर्शनीमा राखिने छ । यस मेलामा ९० प्रतिशतभन्दा बढी नेपाली वस्तु प्रदर्शनीमा रहनेछन् । उपभोक्ताहरू हिमाली तथा पहाडी वस्तु किन्न सोलु, रोल्पा, मुस्ताङ, जाजरकोटलगायत ठाँउमा जान सम्भव हुँदैन । साथै, यस्ता जिल्लाहरूमा केके वस्तु उत्पादन भइरहेको छ भनेर थाहा पाउन पनि कठिन छ । त्यसैले उपभोक्ताहरूले यस मेलामा सम्पूर्ण सामग्रीहरू हेरेर, रोजेर किन्न पाउँछन् । प्रदर्शनीमा राखिएका वस्तुहरू गाउँका दूरदराजमा उत्पादन हुने भएकाले मिसावट तथा विषादीको प्रयोग गरिएको हुँदैन भन्ने जनमानसको विश्वास छ । यस प्रदर्शनीमा ३ सयभन्दा बढी स्टलहरू रहनेछन् ।औद्योगिक वस्तु उत्पादनप्रति आम मानिसको आकर्षण कस्तो पाउनु भएको छ ? हामीले प्रत्येक जिल्लाबाट २/२ जनाका दरले उद्यमीहरू छानेर मेलामा सहभागी गराउने गर्छाैं । तर, एउटै जिल्लाबाट ५/७ जना मेलामा सहभागी हुन प्रयास गरिरहेका छन् । यो सकारात्मक पक्ष हो । हामीले एउटा जिल्लाबाट २ जनालाई आउने जाने खर्च र फ्रीमा स्टल राख्ने सुविधा उपलब्ध गराएका छौं । हाम्रो बजेटले नभ्याउने कारणले एउटै जिल्लाबाट दुई जनाभन्दा बढीलाई फ्रीमा स्टलमात्र उपलब्ध गराइरहेका छौं । विगतमा हामीले मेला सञ्चालन गर्दा उपभोक्ता तथा विक्रेताहरूको चाहना बढी देखियो । विगतका मेलाहरूमा उद्यमीले ल्याएका सम्पूर्ण सामानहरू विक्री हुने तथा केही सामानहरू नपुगेको अवस्था पनि देखियो । साथै मेलामा उपभोक्ताहरूले थप सामानका लागि अर्डर दिने र ३/४ महीनापछिसम्म सो अर्डर पूरा गर्न उद्यमीहरूले उत्पादन गर्नुपरेको अवस्था पनि छ । जसले गर्दा मेलामा सहभागी हुन उद्यमीहरू आकर्षित भएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।