बीमा सुरक्षा र पूँजी सङ्कलनको साधन

Share News
बीमा विश्वासमा आधारित व्यवसाय हो । बीमकले विश्वास विक्री गर्न सके बीमा व्यवसाय प्रभावकारी बन्ने विचार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कायममुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको छ । प्रस्तुत छ, समग्र बीमा बजारको अवस्थालाई समेटेर उनीसँग अभियान सहकर्मी प्रजिता बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश : सर्वसाधारणका लागि शेयर जारी गर्ने सन लाइफको तयारी कहाँसम्म पुग्यो ? हामीले सर्वसाधारणका लागि ६० हजार कित्ता शेयर जारी गर्नुपर्ने हो । यसका लागि फागुन ४ गते प्रथम साधारणसभामार्फत साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेका छौं । त्यसपछिको प्रक्रियामा अहिले बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको अवस्था हो । अब समितिको स्वीकृति पाएपश्चात् अरू प्रक्रिया अघि बढाउनेछौं । नयाँ कम्पनीहरूले बीमा समितिले तोकेकै मितिमा तोकिएको चुक्तापूँजी पुर्‍याउन सम्भव छ ? चुक्तापूँजी यसै आर्थिक वर्षको अन्त्यसम्म पु¥याउनुपर्ने विषयमा नयाँ कम्पनीका लागि स्पष्ट उल्लेख गरिएको छैन । यो विषय हामीले लाइसेन्स लिँदासम्मको शर्तमा उल्लेख गरेको छैन । बीमा समितिले कसरी व्याख्या गर्छ, यसमा अन्तिम निर्णय समितिकै हो । बीमा समितिको स्वीकृति पाएमा यसै वर्ष अर्थात् बीमा समितिले यस वर्षको वार्षिक लेखा परीक्षण प्रतिवेदनसहित आईपीओ जारी गर्नुपर्छ भन्यो भने अर्को वर्ष । पूँजी वृद्धिका लागि नयाँ कम्पनीहरूले सर्वसाधारणका लागि शेयर जारी गर्नुपर्ने अवस्थामा हामी प्रक्रियागत रूपमा अघि बढिसकेका छौं । कारोबारको छोटो समयमै राम्रो सफलता प्राप्त गर्नुभएको छ ? प्रतिस्पर्धी बीमा बजारमा कसरी सफल बन्न सकिँदो रहेछ ? मुख्य कुरा व्यवस्थापकीय जिम्मेवारी कसरी पूरा गरिन्छ, त्यसैमा धेरै निर्भर हुन्छ । जीवन बीमा व्यवसायमा आममानिसको बीमा गरिन्छ र यसबाट आर्जन भएको बीमा शुल्क रकमलाई सही व्यवस्थापन गर्नुपर्छ । अहिलेको बीमा बजार व्यवसायको हिसाबमा सही बाटोमा छ र हामीले व्यवस्थापकीय खर्चमा निकै ठूलो रकम खर्च नगर्दै यो सफलता पाएका हौं । अहिलेसम्मको कारोबारलाई हेरेर निष्कर्ष निकाल्नुभन्दा यो आर्थिक वर्षको अन्त्यमा देखिने कारोबारको अवस्थाबाट हाम्रो सफलता अझ स्पष्ट हुन सक्ला । पछिल्लो समय जनमानसमा बीमासम्बन्धी चेतनाको अवस्था कस्तो पाउनुभएको छ ? आममानिसमा अहिले बीमासम्बन्धी चेतनाको स्तर बढेको छ । हरेक ठाउँमा अहिले मानिसहरूले बीमालाई सकारात्मक रूपमा लिने गरेका छन् । आजभन्दा २० वर्षअघि बीमाको कुरा गर्न जाँदा मानिसहरूले लखेट्ने स्थिति थियो भने अहिले मानिसहरूले यस विषयलाई बुझ्ने इच्छा पनि व्यक्त गर्ने गरेका छन् । तर, त्यतिमात्र भएर पनि पुगेन । जनताको क्षमताको स्तरमा पनि वृद्धि हुन आवश्यक छ । अर्को कुरा, बीमा बजारमा हामीले विक्री गर्ने महŒवपूर्ण कुरा विश्वास हो । मानिसहरू आफै लाइन लागेर म बीमा गर्छु भन्दै त आउँदैनन् नि । विश्वास विक्री गर्ने माध्यम भनेको अभिकर्ताहरू हुन् । अभिकर्ताहरूको क्षमता विकासका लागि ध्यान दिन पनि आवश्यक छ । नेपालमा कस्ता खालका बीमालेखहरू थप गर्न आवश्यक देख्नुहुन्छ ? नेपालका आममानिसहरूले चलनचल्तीमा रहेकै बीमालेखका बारेमा बुझ्न धेरै बाँकी छ, यसबाहेकका नयाँ बीमालेख जारी गर्दा प्रभावकारी नहुन सक्छ । चलनचल्तीका भन्दा बाहिर गयौं भने मानिसहरूमा बुझाउन पनि अहिलेको अवस्थामा समस्या छ । यसो भनिरहँदा नयाँ बीमालेखको आवश्यकता नभएको भने होइन । यसका लागि केही समय जनमानसमा चेतना अभिवृद्विको पाटोलाई जोड दिन आवश्यक देख्छु ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।