अनावश्यक खर्च कटाएर बीमा गर्ने बानी गरे बुढेसकालको सहारा

Share News
विलासिताका साधनमा खर्च गर्न अघि सर्ने तर बीमालाई महत्व नदिने सामाजिक प्रवृत्तिलाई युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण सर्वसाधारणले जीवनकोे महत्व नबुझेको अर्थ लगाउँछन् । हुन त बीमाप्रति पछिल्लो पुस्ता निकै सचेत देखिएको पनि छ । तैपनि अझै सोचेजस्तो बीमामा आकर्षण नभएको कर्णको भनाइ छ । प्रस्तुत छ, यस्तै गतिविधिबारे सीईओ कर्णसँग अभियानकर्मीले गरेको संवाद : कानूनी प्रावधानमा कम्पनी सञ्चालन भएको १ वर्षपछि आईपीओ जारी गर्न पाउने व्यवस्था छ । अब आईपीओ जारी गरेर असार मसान्तभित्रै युनियनले न्यूनतम चुक्तापूँजी पुर्‍याउनु छ । यसमा के भइरहेको छ ? हामी यसको प्रक्रियामा छौं । सेबोनले स्वीकृति दियो भने पुग्छ र नयाँ कम्पनी भएको हुनाले बीमा समितिले पनि यसमा भएका केही कमजोरीलाई माफी दिन सक्छ । पुराना जीवन बीमा कम्पनीहरूको हकमा भने २०७५ असार मसान्तसम्म रू. २ अर्ब चुक्तापूँजी पुर्‍याउनुपर्ने अनिवार्य व्यवस्था हो । पछिल्लो समय नौओटा नयाँ जीवन बीमा कम्पनी उदय भए । यसपछि नयाँ र पुराना सबै प्रतिस्पर्धी भएर उत्रेको देखिन्छ । छोटो समयका बीच बीमा बजारमा तपाईंको कम्पनी पनि सफल नै देखिएको छ । यसको रहस्य के हो ? हामीले समूहमा रहेर मेहनत गर्नाले यो सफलता हासिल गरेका हौं । अभिकर्तालाई तालीम दिने, कर्मचारीलाई उत्साह प्रदान गर्दै परिचालन गरेर अघि बढ्नाले हामीले व्यावसायिक सफलता हासिल गरेका हौं । यिनै कारणले हामीले अहिलेसम्म ३ हजार अभिकर्ता र ५५ ओटा शाखा पु¥याइसकेका छौं । पुस मसान्तसम्ममा २५ करोड ४३ लाख बीमा शुल्क आम्दानी भएको छ । जसमा १६ करोड ७ लाख जीवन बीमा र बाँकी वैदेशिक रोजगार बीमाबाट आम्दानी भएको छ । जीवन बीमाबारे सर्वसाधारणमा बुझाइ कस्तो पाउनुभएको छ ? जीवन बीमा मानव जीवनको महत्त्वपूर्ण पाटो हो । मुख्यतः यसले मानिसको जोखीमको रक्षावरण गर्छ । भोलि बीमित व्यक्तिलाई तलमाथि भयो भने पनि परिवारलाई आर्थिक भार कम हुन्छ । किनभने क्षतिपूर्ति पाइन्छ । यसका साथै जीवन बीमालाई आर्थिक बचतको रूपमा पनि लिन सकिन्छ । बीमा अवधि सकिएपछि बीमाङ्कसहित थप बोनससमेत पाइन्छ । कर्जा लिएर व्यावसायिक क्षेत्रमा लगानी गर्न सकिन्छ । तर, सर्वसाधारणले यी विषयहरू बुझ्न नसकेको अवस्था छ । योबारेमा जनतालाई बुझाउनु कम्पनी र अभिकर्ताहरूको दायित्व पनि हो । यसको महत्त्व सर्वसाधारणलाई राम्ररी बुझाएमा उनीहरूले बीमा गर्छन् । विस्तारै जनमानसमा बीमा भनेको जोखीम न्यूनीकरण वा सुरक्षा हो भन्नेबारे बोध हुँदै गएको पाइन्छ । यसलाई बीमा व्यवसायको विकासले प्रमाणित पनि गर्छ । अहिले नेपालमा १८ जीवन बीमा कम्पनी छन् र उनीहरूको व्यावसायिक विकास पनि राम्रो रहेको पाइन्छ । बीमा समितिका अनुसार आमनागरिक अभिकर्ता देख्दा भाग्ने गरेको देखिएको छ । अभिकर्ताहरूले बुझाउने शैलीमा खोट पो छ कि ? अभिकर्ताले सही जानकारी दिनुपर्छ । दबाबमूलक र करकापमा जानु हुँदैन । सही तरीकाले गयो भने उनीहरू भाग्दैनन् । यस विषयमा अभिकर्तालाई पनि तालीम दिएका छौं । कहाँ कसरी जाने, ग्राहकलाई के के भन्नेबारे तालीम आवश्यक छ । ग्राहकहरूको चाहना पनि बीमा नगरौं भन्ने हुँदैन । पहिला अभिकर्ता आएपछि भाग्ने अवस्था थियो । तर, अहिले अभिकर्ताको कुरा सुन्ने अवस्था आएको छ । उनीहरूले बीमाका बारेमा बुझ्न खोज्छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । विलासिताको सामान किन्न आमजनता तुरुन्त तयार हुन्छन्, तर अमूल्य जीवनलाई सुरक्षा दिने बीमाबाट भने टाढिने गर्छन् । यसमा अभिकर्ताको कमजोरी देखियो हैन ? बीमामा मुख्य भूमिका अभिकर्ताको हुन्छ । अभिकर्ता जति हुन्छन्, त्यति बीमित बढ्ने सम्भावना देखिन्छ । मानिसको चिया, चुरोट, रक्सी र इण्टरनेटलगायतका विषयमा धेरै पैसा खर्च भएको छ । यसलाई कटौती गरेर बीमाका लागि खर्च गरियो भने पनि धेरै राम्रो हुन्छ । यसले बचत गर्ने बानीको पनि विकास हुन्छ । दिनभर १० कप चिया खानेले १ कप चियाको पैसा बीमाका लागि छुट्याउने बानीको विकास गर्नुपर्छ । रक्सीमा महीनामा ५ हजार खर्च गर्ने मान्छेलाई २ हजार बीमाका लागि छुट्याउन प्रेरित गर्न सकियो भने पनि राम्रो हुन्छ । यसरी वार्षिक २५–३० हजार बच्छ । जुन पैसाले ठूलो रकमको बीमा गर्न सकिन्छ । यस्ता खर्चहरू कटाएर बीमा गर्ने बानीको विकास गर्नुपर्छ । बीमा भयो भने समग्र देशको विकास हुन्छ । प्रिमियमबाट आउने अर्बौं रकम व्यावसायिक क्षेत्रमा लगानी गर्न सकिन्छ । हजारौं व्यक्तिले रोजगार पाउँछन् भने आर्थिक समृद्धि पनि आउँछ । जति बीमा हुन्छ, त्यति देशको विकास हुन्छ । बीमाको माध्यमबाट गरीबी हटाउन सकिन्छ । हरेक व्यक्तिले बीमा गरे भने १०–१५ वर्षपछि ठूलो रकम पाउँछन् । त्यसपछि उनीहरूले त्यो पैसा व्यवसायमा लगानी गरेर आफ्नो जीविका चलाउन सक्छन् । उद्यमशील हुन्छन् र गरीबी हट्दै जान्छ । हामी करोडौं रुपैयाँको माछामासु बाहिरबाट ल्याउँछौं । हामीकहाँ यतिका जमीन र जनशक्ति खेर गएको छ । त्यसलाई प्रयोग गरे गाईपालन गरी दूध उत्पादन, बाख्रापालन गरी मासु उत्पादन र माछापालन गरी मासुमाछा उत्पादन गर्न सकिन्छ । अर्बाैं रुपैयाँको आम्दानी पनि गर्न सकिन्छ । त्यसबाट आउने पैसाबाट बीमा पनि गर्न सकियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।