बीमा समितिले बीमालाई जनस्तरमा पुर्याउन विद्यालय तहमा र विश्वविद्यालयको पाठ्यक्रममा समेट्ने गृहकार्य गरिरहँदा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले पनि शैक्षिक क्षेत्रमा बीमा समेट्नुपर्नेमा जोड दिएका छन् । यही विषयसहित प्रस्तुत छ, नेपालको बीमाक्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनालगायत समसायिक विषयमा केन्द्रित भई सीईओ शाहसँग आर्थिक अभियानका मिलन विश्वकर्माले गरेको कुराकानी :
बीमा समितिले निर्जीवन बीमा कम्पनीका लागि तोकेबमोजिमको १ अर्बको चुक्तापूँजी पुर्याउने अभियानमा नेपाल इन्स्योरेन्सको तयारी कस्तो छ ? यस अभियानमा नेपाल इन्स्योरेन्स तीव्र रूपमा अगाडि बढेको छ । हाल हाम्रो कम्पनीको चुक्तापूँजी ३० करोड छ । हामी शत प्रतिशत हकप्रद शेयर जारी गर्ने योजनामा छौं । त्यो भयो भने कम्पनीको चुक्तापूँजी ६० करोड पुग्छ र आगामी वैशाख २१ गते आर्थिक वर्ष २०७३/७४को वार्षिक साधारणसभाबाट शेयर निष्कासन प्रक्रिया शुरू गछौँ । बाँकी चुक्तापूँजी पुर्याउन बोनस शेयर पनि जारी गर्ने हाम्रो योजना छ, जसअनुसार आगामी असार मसान्तसम्म हाम्रो चुक्तापूँजी पुग्ने विषयमा विश्वस्त छौं ।
नेपालको बीमा व्यवसायले ७० वर्षको इतिहास पार गरेको छ, आजसम्म आउँदा तपाईंले बीमा बजारको अवस्था कस्तो पाउनु भयो ? नेपालमा बीमा व्यवसायले ७० वर्षको इतिहासमा जुन किसिमको गति लिनुपर्ने हो, त्यो लिन सकेन । तर, पछिल्लो समय यसको विकासक्रम भने बढ्दै गएको छ । नेपाल इन्स्योरेन्स २००४ सालदेखि नै सञ्चालनमा आए पनि यसले लामो समयसम्म गति लिन सकेन । २०४६ सालपछि बीमाक्षेत्रमा निजी क्षेत्रको प्रवेश भयो । आम बीमा व्यवसायहरूमा नयाँ प्रडक्ट ल्याएर ग्राहकलाई बढी सेवा र सुविधाहरू दिनुपर्छ भन्ने भावनाको विकास भयो । ग्राहकहरू पनि बीमाको बारेमा जानकार हुँदै गए । उद्यमशीलताको क्रमिक रूपमा विकास हुँदै आयो, जसले बीमामा गुणात्मक परिवर्तन ल्याएको थियो ।
अहिले बीमा कम्पनी बलियो हुनुपर्छ भन्ने नियामक निकायको चाहना छ । त्यहीअनुरूप बीमाक्षेत्रमा पूँजीवृद्धिका योजनालगायत नयाँ प्रडक्टहरू ल्याउने काम पनि भइरहेकोे छ । बीमाक्षेत्रमा धेरै सेवाहरू आएका छन् । तर, आम जनस्तरमा यसको बारेमा प्रचारप्रसार हुन सकेको छैन । अब नियामक निकाय र कम्पनीहरूले त्यतातिर पनि ध्यान दिनुपर्ने आवश्यक देखिन्छ ।
बीमा जसलाई आवश्यकता छ, उनीहरूले यसलाई अनावश्यक रूपमा लिएका छन् । तर, जसलाई बीमाको आवश्यकता छैन, उनीहरूले बीमाको भरपूर प्रयोग गरेको पाइन्छ । बहुराष्ट्रिय कम्पनीहरूले कर्मचारी, करखाना, उत्पादित वस्तुलगायत सबैको बीमा गरेका हुन्छन् । यद्यपि उनीहरूले कम्पनीबाट हुने नाफाको बीमा गरेका हुन्छन् । उनीहरूले यो जोखीम आफैले बहन गर्न सक्छन्, तर पनि बीमाप्रति सचेत छन् । तर, बीमा जसलाई आवश्यक हो, उनीहरूको प्राथमिकतामा छैन । भूकम्पका कारण आम मानिसमा बीमासम्बन्धी जुन बुझाइ हुनुपर्ने हो, त्यो पनि हुन सकेन ।
बीमामा चुनौती केके छन् ? यसको सम्भावना कस्तो देख्नुहुन्छ ? आम मानिसको बीमासम्बन्धीको मानसिकता नै परिवर्तन गर्नु हाम्रो मुख्य चुनौती हो । बीमासम्बन्धी अझै पनि मानिसहरूको धारणालाई हामीले परिवर्तन गर्न सकेका छैनौं । उनीहरू पनि यस विषयप्रति सचेत भएको पाइँदैन । तसर्थ, अबको अभियान आम मानिसमा बीमासम्बन्धी चेतनास्तर वृद्धि गर्नुतर्फ हुनुपर्छ ।
यद्यपि, हाम्रोजस्तो अर्थतन्त्र भएको मुलुकमा बीमाको सम्भावना र अवसर असङ्ख्य रूपमा छ । यसका लागि हामी पराम्परागत शैलीबाट माथि उठेर नयाँ ढङ्गले अगाडि बढ्नु पर्छ । बजारमा आवश्यक प्रडक्टहरू अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । यदि यिनीहरूलाई समेटेर जान सकियो भने बीमाको भविष्य उज्ज्वल देखिन्छ ।
अहिले मोबाइल, इण्टरनेटलगायतका प्रविधिहरूको विकास भइरहेको छ । तिनीहरूको प्रयोग गरेर बीमाको पहुँचलाई साँघुरो बनाउन सकिन्छ । हामीले इण्टरनेटको माध्यमबाट टाढै बसेर पनि ग्राहकलाई बीमाको सेवासुविधा दिन सक्छौं । नयाँ पुस्तामा सचेत व्यक्तिहरू आएका छन्, जसले गर्दा बीमाको बारेमा बुझाउन विगतमा जस्तो गाह्रो छैन । यस्ता कुरालाई समातेर बीमा व्यवसायलाई माथि उठाउनुपर्छ । बजारको आवश्यकताअनुसारको प्रडक्टहरू पनि कम्पनीहरूले ल्याउनुपर्छ । यति गर्न सके बीमामा अपार सम्भावनाहरू भेटिन्छ । अहिले बीमाक्षेत्रको भविष्य यसैको सेरोफेरोमा घुमेको छ ।
बीमा मावन जीवनको महत्वपूर्ण अङ्ग बनेको छ । तर, पनि मानिसलाई दबाबमा बीमा गराउनुपर्ने बाध्यता देखिन्छ । स्वस्फूर्त रूपमा बीमा गराउन के गर्नुपर्छ ? आम मानिसमा बीमासम्बन्धीको बुझाइ कमजोर भएकाले यस्तो अवस्था आएको हो । जबसम्म आम मानिसले बीमालाई जीवनको अभिन्न अङ्गको रूपमा बुझ्न सक्दैनन्, तबसम्म यस्तो अवस्था आइरहन्छ । यो बीमाक्षेत्रको लागि दुःखद पक्ष पनि हो । यसको उत्तम विकल्प भनेको नै बीमाको शिक्षालाई प्रभावकारी रूपमा प्रचारप्रसार गर्नु हो । जबसम्म आम मानिसले स्वस्फूर्त रूपमा बीमालाई जीवनको अभिन्न अङ्गको रूपमा बुझ्न सक्दैनन्, तबसम्म हामीलाई करकापमा नै बीमा गराएको जस्तो लाग्छ । त्यसैले स्वस्फूर्त रूपमा बीमा गराउन आम मानिसलाई बीमाबारे स्पष्ट रूपमा बुझाउन आवश्यक छ ।
बीमाक्षेत्रलाई अझ प्रभावकारी बनाउन तपाईंको सुझाव र कदम कस्ता रहन्छन् ? बीमाक्षेत्रलाई प्रभावकारी, सम्मानित र विश्वसनीयता बनाउन चेतना अभिवृद्धिको कार्यक्रम ल्याउनुपर्छ । जबसम्म चेतना अभिवृद्धिको कार्यक्रम गर्दैनौं तबसम्म बीमाक्षेत्र अगाडि बढ्न सक्दैन ।
बीमालेखअनुसार भएको नोक्सानीको मात्र कम्पनीले रक्षावरण गरेको हुन्छ । तर, बीमितलाई जुनसुकै कारणले हानिनोक्सानी भए पनि भुक्तानी पाउनुपर्छ भन्ने हुन्छ । त्यसकारण पनि यसले बीमाको बारेमा गलत छाप पारेको छ, जसको समाधान गर्न बीमालेखको बारेमा व्यापक प्रचारप्रसार गर्नुपर्छ ।
बीमाक्षेत्रको विकासको लागि सरकारले कस्ता काम गर्नुपर्छ ? बीमाक्षेत्रको विकासका लागि सरकारले पनि आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ नै । अहिले देशमा स्थानीय तहहरू बनेका छन्, जुन आफैमा शक्तिशाली मानिन्छन् । स्थानीय निकायबाट नै बीमासम्बन्धीका कार्यक्रमहरू गर्न सकियो भने अधिकांश मानिसहरू बीमाप्रति सकारात्मक हुन्छन् र चेतनास्तर पनि वृद्धि हुन्छ । यो कार्यमा सरकारले पनि चासो दियो भने बीमाले ठूलो मात्रामा फड्को मार्न सक्छ ।
बीमालाई जीवनको पाटो बनाउन सानो तहदेखि नै सचेत गर्नुपर्ने देखिन्छ । यसका लागि विद्यालय तहमा बीमासम्बन्धी आधारभूत विषयवस्तुलाई पाठ्यक्रममा जोड्न सकियो भने पनि चेतनास्तरमा वृद्धि आउँछ । यो कार्य केवल सरकारबाट मात्र सम्भव छ । सरकार यो विषयमा उत्तरदायी रह्यो भने बीमा व्यवसायलाई माथि ल्याउन धेरै सजिलो हुन्छ ।
अझै पनि आम जनमानसमा बीमा कम्पनीप्रतिको विश्वास कायम हुन सकेको छैन नि ? किन होला ? सिद्धान्तअनुसार निर्जीवन बीमाको हकमा बीमा अवधिभित्र बीमित वस्तुको नोक्सानी भएमा मात्र क्षतिपूर्ति दिने हो । हानिनोक्सानी नभएमा दिन मिल्दैन । उनीहरूले प्रिमियम दिने तर त्यसबापत केही पनि नपाउँदा कम्पनीप्रतिको विश्वास घटेको हुन सक्छ । दुर्घटना नै नहुनु राम्रो विषय भएको उनीहरूले बुझ्नु पर्छ । साथै, सम्बन्धित व्यक्तिले बीमा गरे भन्दैमा बीमित वस्तुलाई लापरबाही गर्नु हुँदैन । सेभ ड्राइभिङ, सम्पत्तिको सुरक्षा र क्षति न्यूनीकरण गर्न सावधानी अपनाउनु आम नागरिकको कर्तव्य हो । यदि सावधानी अपनाउँदा अपनाउँदै पनि हानिनोक्सानी भयो भने त्यसको जिम्मा बीमा कम्पनीले लिन्छ ।
अहिले बीमाक्षेत्र चलायमान हुँदै गएको छ । कम्पनीहरू गाउँ पस्न थालेका छन्, नयाँनयाँ प्रडक्टहरू आएका छन् । विगतका दिनमा भन्दा फरक तरीकाले कम्पनीहरू बजारमा आएका छन् । नयाँ प्रविधिहरूको प्रयोग भएको छ । यसले बीमाको भविष्य आगामी दिन अत्यन्त उज्ज्वल देखिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।