विशेषतः कम आय भएका ग्रामीण क्षेत्रका जनताका लागि सहकारी बलियो वित्तीय सहयोगी हो । अहिले आएर शहरी क्षेत्रमा पनि यसको प्रभाव दरिलो बन्न थालेको छ । ठूला लगानीका अन्य वित्तीय संस्थाभन्दा नेपालमा सहकारीमार्फत कारोबार गर्नेको सङ्ख्या बढी छ ।
कर्जा लिँदा अन्य वित्तीय संस्थामा जस्तो झन्झट बेहोर्नु नपर्ने भएकाले पनि सहकारीमा आकर्षण बढेको कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृत रमेश महर्जन बताउँछन् । ‘कर्जाको सहज व्यवस्था भएकाले पनि सहकारीमा आकर्षण बढेको छ,’ उनले भने । सहकारी संस्थामा बढ्न थालेको निक्षेप सङ्कलन यसको उदाहरण भएको उनी बताउँछन् । सहकारी गाउँ तथा वडास्तरमा सञ्चालनमा ल्याउन सकिने हुनाले बढी लोकप्रिय बन्दै गएको सहकारीकर्मीहरूको भनाइ छ । गाउँगाउँमा सहकारी सञ्चालन भएपछि त्यहाँको आर्थिक स्थितिसमेत राम्रो बन्दै गएको छ ।
आर्थिक वर्ष २०६८/६९ मा नेपालमा सञ्चालित सहकारीमा १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको थियो । नेपालमा सञ्चालनमा रहेका २६ हजार ५ सय १ सहकारीमार्फत उक्त निक्षेप सङ्कलन भएको नेपाल राष्ट्र बैङ्कको एक तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा सहकारीले २७ अर्ब १० करोडबराबरको शेयर पूँजी सङ्कलन गरेको छ भने १ खर्ब ४१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
नेपालमा अहिले विभिन्न ११ विषयगत सहकारी सञ्चालनमा छन् । त्यसमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी रहेका छन् । अहिले नेपालभर ११ हजार ५ सय ८१ ओटा बचत तथा ऋण सहकारी सञ्चालनमा रहेको तथ्याङ्क छ । त्यस्तै कृषि सहकारी ५ हजार तथा बहुउद्देश्यीय सहकारी ४ हजारको हाराहारीमा छन् । रकमका आधारमा बढी कारोबार गर्ने सहकारी भने बचत तथा ऋण सहकारी रहेका छन् । १० ओटा सहकारीको वार्षिक कारोबार १ अर्ब रुपैयाँभन्दा बढी हुने गरेको छ । त्यस्तै, ५० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी ३० ओटा छन् भने २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेको सङ्ख्या १ सय रहेको छ ।
सहकारीले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई बैङ्किङ चेतना पनि बढाउने काम गर्दै आएको छ । सहकारीहरू अशिक्षितलाई शिक्षा दिने कामसहित समाजप्रति उत्तरदायी बन्न थालेको राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडाल बताँउछन् । ‘सहकारीमार्फत उद्यमशीलता, नेतृत्वको अवधारणालगायत क्षेत्रमा ठूलो परिवर्तन आएको छ,’ उनले भने । ग्रामीण क्षेत्रका तल्लो वर्गमा समेत जनचेतना ल्याउने काम सहकारीले नै गरेको उनको भनाइए छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।