काठमाडौं । मुलुकमा पेट्रोलियम पदार्थ विक्रीवितरणकोे एकलौटी जिम्मा पाएको नेपाल आयल निगमले बिटुमिन (अलकत्रा) को कारोबार गर्ने भएको छ । व्यवसाय विस्तार गर्ने क्रममा रहेको निगमले अलकत्राको कारोबार गर्ने तयारी अघि बढाएको निगम स्वयंले जानकारी गराएको हो । अहिलेसम्म अलकत्राको आयात निजीक्षेत्रबाट मात्र हुँदै आएको छ । पछिल्लो समय आयात गरिएका अलकत्रा कमसल भई बनाइएको थोरै समयमै सडक बिग्रिने समस्या बढ्न थालेको गुनासो आइरहेका बेला निगमले गुणस्तरयुक्त अलकत्रा आयात गरी विक्री गर्ने योजना अगाडि बढाएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
भारतीय आयल निगम (आईओसी)बाट अलकत्रा आयात गरी विक्रीवितरण गर्ने निगमको योजना छ । तर, अलकत्रा कारोबार गर्न भण्डारण, ढुवानीलगायत पूर्वाधार भने निगमसँग नभएको निगम स्रोतको भनाइ छ । निगमका अनुसार अलकत्रा व्यापारका लागि आईओसीसँग मौखिक सहमतिसमेत भइसकेको छ । सोही सहमतिअनुसार तयारी अघि बढाइएको निगमले स्पष्ट पारेको हो ।
हाल निगमसँग इन्धन भण्डारण र ढुवानीका पूर्वाधार सीमित मात्रामा रहेका छन् । मुलुकमा इन्धनको माग निरन्तर बढ्दै गएको बेला निगमसँग सबै किसिमका इन्धन भण्डारण गर्ने क्षमता ७१ हजार किलोलिटर मात्रै छ । निगमको सो भण्डारण अवस्थाले इन्धन आपूर्तिमा १ दिन मात्रै समस्या आउँदा पनि इन्धनको हाहाकार हुने अवस्था सृजना हुने गरेको छ । तर, निगम भने भण्डारण क्षमता नबढाई अलकत्राको व्यवसाय गर्न अग्रसर देखिएको छ ।
निगमले अलकत्राको व्यवसायबारे मोडालिटी तयार पार्न अध्ययन समिति गठन गरिसकेको छ । समितिको संयोजकमा निगमका आर्थिक प्रशासन प्रमुख नागेन्द्र साह रहेका छन् । सो समितिले नेपालको अलकत्रा बजार, ढुवानी र भण्डारणलगायत विषयमा अध्ययन गर्ने छ । समितिले ढुवानी तथा भण्डारणका पूर्वाधार र अलकत्रा बजारको अवस्थाबारे विस्तृत अध्ययन गरिसकेपछि अलकत्रा आयात शुरू गरिने निगमले बताएको छ । पूर्वाधारको अभाव भएकाले निगमले आईओसीबाट ड्रममा अलकत्रा ल्याएर विक्रीवितरण गर्ने बताइएको छ ।
निगमले यसअघि २०५२ सालमा पनि अलकत्राको व्यवसाय गरेको थियो । उक्त समय वीरगञ्जस्थित आप्mनै उद्योगबाट अलकत्रा उत्पादन गरी विक्रीवितरण गर्ने गरेको थियो । तर, पछि सरकारले सरकारी संस्थानहरूलाई निजीकरण गर्न शुरू गरेसँगै निगमको अलकत्राको कारोबार पनि बन्द भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।