फेरिँदै प्रमुख व्यापारिक साझेदार

Share News
काठमाडौं । अन्तरराष्ट्रिय व्यापारमा नेपालका प्रमुख साझेदार देशहरू पछिल्लो समय परिवर्तन हुन थालेका छन् । मुख्यगरी नेपालले विविध वस्तु आयात गर्ने देशको सूची परिवर्तन हुन थालेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाएको छ । केन्द्रको चालू आर्थिक वर्ष २०७४/७५ को ७ महीनाको तथ्याङ्कअनुसार नेपालले वस्तु आयात गर्ने देशहरूमा भारत र चीन क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तर, तेस्रो ठूलो व्यापार साझेदारको रूपमा इण्डोनेशिया देखिएको छ । यस्तै अर्जेण्टिना र थाइल्याण्ड क्रमशः चौथो र पाँचौं स्थानमा छन् । गत आव २०७३/७४ को सोही ७ महीनाको अवधिमा नेपालले वस्तु तथा सेवा आयात गर्ने देशमा संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो ठूलो व्यापार साझेदारको रूपमा रहेको थियो । त्यस्तै चौथो स्थानमा फ्रान्स र पाँचौंमा इण्डोनेशिया थिए । चालू आवको समीक्षा अवधिमा नेपालले इण्डोनेशियाबाट ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको विभिन्न वस्तु आयात गरेको छ । उक्त रकम गत आवको सोही अवधिको तुलनामा १७ दशमलव ७ प्रतिशत बढी हो । गत आवमा नेपालले इण्डोनेशियाबाट ६ अर्ब ४९ करोड रुपैयाँका वस्तु आयात गरेको थियो । त्यस्तै आयातको क्रममा चौथो स्थानमा रहेको अर्जेण्टिनाबाट रू. ७ अर्ब ४९ करोडको विभिन्न वस्तु आयात भएको छ । यस्तो आयात गत आवको सोही अवधिको तुलनामा २६ दशमलव ९ प्रतिशतले बढेको देखिन्छ । गत आवमा अर्जेण्टिनाबाट कुल रू. ५ अर्ब ९० करोडको वस्तु आयात गरिएको थियो । पाँचौं स्थानमा रहेको प्रमुख व्यापार साझेदार थाइल्याण्डबाट अघिल्लो आवको सोही अवधिको तुलनामा १५ दशमलव २ प्रतिशतले आयात वृद्धि भएको छ । गत आवको ७ महीनामा कुल रू. ६ अर्ब १६ करोडमा सीमित रहेको आयात चालू आवको सोही अवधिमा बढेर रू. ७ अर्ब १० करोड पुगेको देखिन्छ । समीक्षा अवधिमा नेपालको आयातको प्रमुख स्रोत रहेको भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, फलाम, यातायातका सामग्री, मेशिनरी सामान आयात भएका छन् । यस्तै चीनबाट दूरसञ्चारका सामान, विद्युतीय उपकरण, स्याउ, रासायनिक मललगायत वस्तु आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै इण्डोनेशियाबाट मुख्यगरी कच्चा पाम तेल, कोइला, सुपारी, काठ तथा प्लाष्टिकको कच्चा पदार्थ आयात हुने गरेको छ । नेपालले अर्जेण्टिनाबाट विभिन्न प्रकारका गेडागुडी, मकै, बीउबिजन, तेल आयात गर्दै आएको छ भने थाइल्याण्डबाट भने धागो, यातायातका सामान, हल्का पेयपदार्थ, स्याम्पु, प्लाष्टिकका कच्चा पदार्थ आदि आयात गरेको तथ्याङ्कले देखाउँछ । चालू आवको ७ महीनामा नेपालले विभिन्न मुलुकबाट कुल रू. ६ खर्ब ६१ अर्बको सामान आयात गरेको छ । यो गत आवको तुलना १८ दशमलव ६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो आयात रू. ५ खर्ब ५८ अर्बमा सीमित थियो । समीक्षा अवधिमा भारतबाट रू. ४ खर्ब ३२ अर्बको आयात गरेको छ । आयात हुने देशको सूचीमा दोस्रो स्थानमा रहेको चीनबाट रू. ८८ अर्ब ५७ करोडबराबरको विभिन्न वस्तु आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।