आत्मनिर्भर उन्मुख नेपाली औषधि उद्योग

Share News
हाल नेपालमा खपत हुने औषधिमध्ये ४५ प्रतिशत स्वदेशी उद्योगले उत्पादन गर्छन् । बाँकी ५५ प्रतिशत औषधि विदेशीको भर पर्नुपर्ने बाध्यता छ । आयात हुने औषधिमध्ये ५२ प्रतिशत भारत र २ प्रतिशत अन्य मुलुकबाट आउँछ । विशेषगरी भ्याक्सिन, बायोटेक्नोलोजी प्रडक्ट, क्रिटिकल केयरलगायत अत्यावश्यक औषधि विदेशबाटै आयात हुन्छ । मलिक्युलका हिसाबले हेर्दा ट्याब्लेड, क्यापसुल, लिक्विड र आइण्टमेण्ट (मल्हम)मा देश लगभग आत्मनिर्भर रहेको नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहालले बताए । ‘हामी क्यान्सर, टीबीजस्ता कडा रोगको औषधि पनि बनाउन सक्ने अवस्थामा छौं । तर, बजार र सरकारको सहयोग नहुँदा बनाउन सकेका छैनौं,’ उनले भने, ‘अहिले नै हेर्दा हामी ७२ भन्दा बढी मलिक्युलमा आत्मनिर्भर छौं । त्यो भनेको केही कडा रोगका औषधिबाहेक नेपालमा अहिले विक्री हुने करीब ८० प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौं भन्दा फरक पर्दैन ।’ नेपाल विभिन्न ७२ थरीका औषधिमा आत्मनिर्भर भइसकेको छ । अहिले नेपालमा अन्तरराष्ट्रिय मापदण्डका औषधि उत्पादन भइरहेको छ । डब्ल्यूएचओ जीएमपी (विश्व स्वास्थ्य सङ्गठन गूड म्यानुफ्याक्चरिङ प्राक्टिस) प्राप्त औषधि उत्पादन गर्ने उद्योगको सङ्ख्या ३८ पुगेको छ । तर, यो मापदण्डअनुरूप नै सबै उद्योगले उत्पादन गरिरहेको सङ्घले जानकारी दिएको छ । निजीक्षेत्रले औषधि उद्योगमा करीब २५ अर्ब रुपैयाँ लगानी गरेको तथा १५ हजार दक्ष र २ लाखभन्दा बढी अप्रत्यक्ष रोजगारी सृजना गरेको सम्बन्धित व्यवसायी बताउँछन् । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरे २० अर्ब रुपैयाँको औषधि आयात घट्ने उनीहरूको दाबी छ । स्वदेशी उत्पादनको खपत बढ्दै गएपछि औषधि उत्पादक उद्योग थपिने क्रम बढेको छ । अहिले यस्ता उद्योगको सङ्ख्या ५१ पुगेको छ । अहिले नेपालमा वार्षिक १७ अर्ब रुपैया“को औषधि खपत हुने गरेको नेपाल औषधि उत्पादक सङ्घको दाबी छ । नेपाली बजारमा १ सय ८० भारतीय उद्योगका औषधिले व्यवसाय गरिरहेका छन् । यस्ता औषधिमा व्यवसायीले बेच्ने र उपभोक्ताले खरीद गर्नेको बीचमा १६ प्रतिशत नाफा रहने सरकारी प्रावधान छ । स्वदेशी र विदेशी दुवैमा यस्तो मापदण्ड लागू हुने औषधि व्यवसायी सङ्घले जानकारी दिएको छ । ३० ओटा औषधि आयातमा कडाइको घोषणा अलपत्र स्वास्थ्य मन्त्रालयले ३० ओटा औषधिको आयातमा कडाइ गर्न २०७४ साल जेठ १९ गते औषधि व्यवस्था विभागलाई निर्देशन दिइसकेको छ । विभागले २०७४ असार मसान्तपछि कडाइ गर्ने भने पनि अहिलेसम्म पनि यसको कार्यान्वयन हुन नसकेको सङ्घका अध्यक्ष दाहालले बताए । सुझाव समितिको अध्यक्ष रहेका औषधि व्यवस्था विभागका महानिर्देशकले नै कार्यान्वयन गर्छु भनेर पनि कार्यान्वयन नगरिएको गुनासो उनले गरे । नयाँ सरकारले यसलाई कार्यान्वयनमा लैजाने बताएकाले आफूहरू आश्वस्त रहेको उनको भनाइ छ । नेपालमा करीब रू. ४० अर्बको औषधि बजार छ, जसमा १७ अर्ब नेपाली उद्योगको र बाँकी विदेशी कम्पनीको हिस्सा रहेको सरोकारवालाहरू बताउँछन् । ‘यो व्यवस्था कार्यान्वयनमा आउनेबित्तिकै नेपाली उद्योगको बजार द्रुत गतिमा बढ्छ,’ दाहालले भने, ‘३० ओटा औषधिको आयातमा कडाइ हुँदा हाम्रो बजार हिस्सा ५५ प्रतिशतभन्दा माथि पुग्नेछ ।’ औषधि व्यवस्था विभागको अवस्था औषधि व्यवस्था विभागअन्तर्गत व्यवस्थापन, निरीक्षण तथा दर्ताका लागि तीनओटा डिभिजन छन् । साथै, यस विभागले औषधि उत्पादन, विक्री तथा वितरणको नियमन गर्दै आएको छ । विभागमा दर्ता भई नियमनको दायरामा करीब १७ हजार औषधि दर्ता, २१ हजार औषधि विक्रेता तथा वितरक, १ सय २४ स्वदेशी औषधि उत्पादक र ३ सय विदेशी उत्पादक छन् ।डब्ल्यूएचओले निर्धारण गर्ने जीएमपी के हो ? जीएमपी भनेको विश्व स्वास्थ्य सङ्गठनले विश्व समुदायको स्वास्थ्यलाई दृष्टिगत गरेर बनाएको एक व्यवस्था हो, जसलाई गूड म्यानुप्mयाक्चरिङ प्राक्टिस (कुशल उत्पादन प्रयास) भनिन्छ । मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएको हु“दा यो कुनै पनि औषधि उत्पादक कम्पनीका लागि प्राथमिक आवश्यकता हो । औषधिको गुणस्तर प्रमाणीकरण सुदृष्ट गर्न औषधिको कच्चापदार्थ, उत्पादन कार्य, प्रविधि र उपभोग अवस्थासम्म विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको प्रक्रिया नै डब्ल्यूएचओ जीएमपी हो । यसले औषधिको गुणस्तर शतप्रतिशत ठीक छ भन्ने सूचना प्रदान गर्छ ।डब्ल्यूएचओ जीएमपी प्रमाणीकरण र अप्रमाणीकरण : डब्ल्यूएचओ जीएमपीले गुणस्तरलाई सङ्केत गर्छ । औषधि उत्पादकहरूका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय गरी दुईओटा मापदण्ड नेपालमा उपलब्ध छन् । डब्ल्यूएचओ जीएमपीमा जानु अन्तरराष्ट्रिय मापदण्ड आत्मसात् गर्नु हो । अहिलेसम्म नेपालका सबैजसो कम्पनीले राष्ट्रिय उत्पादन संहिता र इजाजतपत्र प्रणालीद्वारा नै औषधि उत्पादन गरिरहेका छन् । नेपाल डब्ल्यूटीओको सदस्य भइसकेको हुनाले भविष्यमा अन्तरराष्ट्रियस्तरमा नेपाली औषधिले प्रवेश पाउनेबित्तिकै बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने निश्चित छ ।औषधि उद्योग तथा उत्पादनको अवस्था
  • एलोपेथिक औषधि उत्पादन गर्ने उद्योग ५१ ओटा
  • अधिकांश उद्योगका आफ्नै प्रयोगशाला
  • धेरैजसो कम्पनीलाई डब्ल्यूएचओ जीएमपी सर्टिफिकेट प्राप्त
  • आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योग ८० ओटा
  • स्वदेशी उद्योगद्वारा मागको ४५ प्रतिशत आवश्यकता पूर्ति
  • उद्योगका लागि आवश्यक ९९ प्रतिशत मेशिन भारतबाट आयातित
  • ७० प्रतिशत कच्चापदार्थ भारतबाट आयात
सम्भावना
  • औषधिमा आत्मनिर्भर भई गुणस्तरीय औषधिमा सम्पूर्ण नेपालीको पहुँच
  • औषधिको निर्यात गरी विदेशी मुद्रा आर्जन
  • रोजगारीको अवसर
  • औषधि उद्योगको विकास

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।