क्रिसमस : उपहार र पार्टीको रौनक

Share News

उपहारका साथै शाण्टा क्लज र मैनबत्ती तथा चकलेटले सजाइएको कोणधारी रूख (क्रिसमस ट्री)क्रिसमसको विशेषता हो । क्रिसमसमा घर, चर्च, होटल तथा पार्टी भेन्यूहरूको सजावटले सबैलाई आकर्षित गर्छ । यस वर्ष पनि क्रिसमस नजिकिँदै गर्दा उपत्यकाका होटल, मल तथा चर्चहरू सजिन थालेका छन् । क्रिसमसलाई विशेष बनाउन अहिले धेरै मानिसहरू विभिन्न योजना बनाइरहेका छन् । आइतवार वागबजारस्थित ‘स्वीट सिक्सटिन गिफ्ट शप’मा भेटिएकी वसुन्धाराकी तुलसा थापाले क्रिसमस ट्री र शाण्टा क्लजको स्ट्याचु (मूर्ति) किनिन् । क्रिसमसका अवसरमा ‘क्रिसमस ट्री’ले घर सजाउन तथा साथीलाई उपहार दिन कार्ड, स्ट्याचुलगायत सामग्री खरीद गरेको क्रिश्चियन धर्ममा आस्था राख्ने उनले बताइन् । उनी भन्छिन्, ‘हरेक वर्ष क्रिसमसमा उपहार खरीदका लागि १० हजार रुपैयाँ छुट्ट्याउँछु ।’ त्यसैगरी बानेश्वरकी सुमा सुवेदी अहिले ई–कार्डको डिजाइनमा व्यस्त छिन् । अष्ट्रेलियामा पढ्दै गरेका आफ्ना भाइ सुयोगलाई क्रिसमस डेको अवसरमा उपहार पठाउनका लागि ई–कार्डको डिजाइन गरेको उनले बताइन् । तुलसा र सुमा त प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय उनीहरूजस्ता धेरै युवा हरेक वर्ष क्रिसमसको अवसरमा रमाउन चाहन्छन् । क्रिसमसमा नेपालीको आकर्षणलाई दृष्टिगत गर्दै गिफ्ट पसल तथा मार्टहरूले क्रिसमस विशेष सामग्रीको विक्री गरिरहेका छन् । क्रिसमसको केही दिनअघि नै यस्ता सामानको विक्री हुने सम्बद्ध व्यापारीहरू बताउँछन् ।

यस वर्ष पनि उपत्यकामा डिसेम्बर १८ देखि नै क्रिसमसको चहलपहल शुरू भएको वागबजारस्थित स्वीट सिक्सटिनका सञ्चालक प्रवीन श्रेष्ठ बताउँछन् । ‘अहिले दैनिक १५ हजारदेखि २० हजार रुपैयाँबराबरका क्रिसमसका सामग्री विक्री हुन्छन्,’ उनले भने । शाण्टा क्लज, मैनबत्ती, क्रिसमस ट्रीलगायतका सामग्री क्रिसमसमा उपहारका रूपमा प्रयोग गर्ने चलन छ । बालबालिका तथा वृद्ध व्यक्तिले क्रिसमसमा शाण्टा क्लजको पहिरन लगाउन मन पराउने श्रेष्ठ बताउँछन् । यति मात्र होइन, राजधानीका पाँचतारे होटलले क्रिसमसको अवसरमा विभिन्न परिकारसहित साङ्गीतिक कार्यक्रमको आयोजना पनि गर्दै छन् । दरबारमार्गको होटल याक एण्ड यतीले यस वर्ष क्रिसमसलक्षित टर्कीको परिकार, रम, क्रिसमस पुडिङ केक, केक मिक्सिङ र ड्राई फूडजस्ता विशेष परिकार पस्किन लागेको छ ।

टर्कीको मासुको क्रिसमसमा विशेष महत्व हुन्छ । होटलले क्रिसमसका लागि भारतको मुम्बईबाट टर्की ल्याएको रेसिडेण्ट म्यानेजर भरत जोशीले बताए । त्यसैगरी क्रिसमसलाई आकर्षक बनाउन होटलमा रूखबिरूवा सजाउने काम सम्पन्न भइसकेको उनले जानकारी दिए । त्यस्तै साङ्ग्रिला होटलले क्रिसमसमा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा नेपाली पियानोवादक मृगेन्द्रको साङ्गीतिक प्रस्तुति रहने होटलका फूड एण्ड बेभरेज प्रबन्धक सोमनाथ कँडेलले जानकारी दिए । क्रिसमसलाई विशेष बनाउने उद्देश्यले क्रेनबेरी सससहितको टर्की, प्लम केकलगायत परिकार उपलब्ध गराएको उनले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।