क्रिसमस : तारे होटलमा क्रिसमस चहलपहल

Share News

आज विश्वभर क्रिसमस इभ मनाउने तयारी भइरहेको छ । क्रिश्चियन धर्मावलम्बीको विशेष पर्व क्रिसमसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदै छ । इसाई धर्मका जन्मदाता जिसस क्राइष्टको जन्म दिन (डिसेम्बर २५ तारिख)को सम्झनामा यो पर्वलाई विश्वभर विभिन्न किसिमबाट मनाउने गरिन्छ । पछिल्लो समय क्रिसमसको अघिल्लो दिन अर्थात् डिसेम्बर २४ तारिखमा ‘क्रिसमस इभ’ मनाउने प्रचलन बढेको छ । परम्परागत रूपमा चर्चमा गएर क्राइस्टको सम्झना गरी क्रिसमस मनाउने गरिन्थ्यो । तर, विश्वव्यापी आर्थिक उदारीकरणसँगै सांस्कृतिक चालचलन पनि बदलिन थालेको छ । नेपालको सन्दर्भमा पनि यहाँका पाँचतारे होटलदेखि रेष्टुराँ, क्याफेहरूमा क्रिसमसको रौनक छाएको छ ।

काठमाडौंका पाँचतारे होटल, क्याफे तथा रेष्टुराँहरू यतिबेला शाण्टा क्लज, क्रिसमस ट्री र मैनबत्तीहरूले सजिएका छन् । क्रिसमसलाई विशेष बनाउन यस्ता ठाउँमा विभिन्न साङ्गीतिक ब्याण्ड, गजल, नेपाली परम्परागत सङ्गीत तथा डिजेको व्यवस्था गरिएको छ । विभिन्न ब्राण्डका ‘ड्रिङ्क्स’, ट्रेडिसनल क्रिसमस मेनुदेखि क्रिसमस इभ डिनरमा एशियन, इण्डियन तथा कण्टिनेण्टल खाना तयारी भएका छन् । कतिपय ठूला होटलका लाउञ्जहरूमा परम्परागत क्यारोल गीत गाउने तयारी पनि गरिएको छ ।

एभरेष्ट होटलले हरेक वर्षजस्तै यसपटक पनि धुमधामका साथ क्रिसमस इभको आयोजना गर्दै छ । होटलको लोटस हलमा आज ‘क्रिसमस इभ इभेण्ट’ आयोजना हुने फूड एण्ड बेभरेज निर्देशक दीपेश केसीले बताए । इभमा माउण्ट ८८४८ ब्याण्डको प्रत्यक्ष कन्सर्ट प्रस्तुति रहनेछ । डिजे, डान्स ट्रुप तथा गाला डिनरको मनोरञ्जन पनि इभका सहभागीहरूले लिन सक्नेछन् । क्रिसमस इभमा सहभागी हुनका लागि प्रतिव्यक्ति ४ हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ । प्रवेश शुल्कबापत प्रत्येक ग्राहकले कार्यक्रमभर काल्र्सबर्ग बियर तथा इन्भेनियो वाइन निःशुल्क पाउनेछन् । त्यस्तै काठमाडौंको गोकर्णमा अवस्थित गोकर्ण रिसोर्टले आफ्ना ग्राहकलाई प्राकृतिक वातावरणमा क्रिसमसको आनन्द दिने तयारी गरेको छ । आज बेलुका साढे ६ बजेबाट शुरू हुने क्रिसमस इभमा टर्की, प्लम पुडिङजस्ता क्रिसमसका विशेष परिकार सो अवसरमा व्यवस्था हुनेछ । विशेष साङ्गीतिक कार्यक्रमसहित मनाइने क्रिसमस इभमा सहभागी हुन प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ ।

समिट होटलले पूर्णपारिवारिक तथा शान्त वातावरणमा क्रिसमस मनाउन चाहनेलाई लक्षित गर्दै क्रिसमसको अवसर पारेर ‘क्याण्डल लाइट डिनर’ र ‘इण्टिमेट डिनर’को आयोजना गर्दै छ । फरक तरीकाले क्रिसमस मनाउन चाहनेहरूका लागि विशेष व्यवस्था मिलाइएको समिट होटलका महाप्रबन्धक टासी लामाले बताए । होटलले उपलब्ध गराएको सो व्यवस्थाका लागि करबाहेक १ हजार ५ सय सेवाशुल्क तिर्नुपर्नेछ । त्यस्तै होटल अन्नपूर्णले क्रिसमसकै अवसरमा घर–ए कबाबमा चिकेन सेकुवा, फ्राइड बबी फिस, च्याउको तन्दुरीजस्ता परिकारको व्यवस्था गरेको छ । साथै, २ हजार ७ सय रुपैयाँमा परिकारसहित विशेष वाइनसमेत उपलब्ध हुन्छ । कुपण्डोलमा रहेको होटल हिमालयामा भने १९ डिसेम्बरदेखि विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ । २८ डिसेम्बरसम्म निरन्तर सञ्चालन हुने क्रिसमस कार्यक्रममा होटलले केक, पेष्ट्रीलगायतका परिकारको व्यवस्था गरेको छ । होटलले क्रिसमस इभ अर्थात् २४ डिसेम्बरमा भने पारम्परिक खानाका साथै एक गिलास वाइन अथवा एक बोटल बियर निःशुल्क उपलब्ध गराउनेछ ।

होटलको क्याफे होराइजनमा बेलुका साढे सात बजेबाट शुरू हुने कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति २ हजार ४ सय ९९ रुपैयाँ शुल्क लाग्ने कार्यकारी व्यवस्थापक रवीन्द्र तण्डुकारले बताए । त्यस्तै लाजिम्पाटमा रहेको होटल र्‍याडिशनले क्रिसमसमा विशेष साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम क्रिसमस इभदेखि तीन दिनसम्म लगातार होटलको ओलिभ गार्डेनमा आयोजना हुने महाप्रबन्धक प्रह्लाद कुँवरले बताए । साथै दी फन क्याफेमा क्रिसमस बफेट डिनर र दी प्याष्ट्री शोपमा क्रिसमस गिफ्टहरू विक्रीमा राखिने उनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।