आठौं गोरखा महोत्सव : गोरखाको सम्भावना: पर्यटन, कृषि र जडीबुटी

Share News

गोरखा जिल्लालाई चिनाउन कुनै विशेष उपमा आवश्यक छैन । विश्वभर प्रसिद्ध वीर गोर्खालीकै नामबाट नेपालको पहिचान स्थापित छ । नेपाल एकीकरणको शुरुआत भएको यो भूमि ऐतिहासिक स्थलका साथै प्राकृतिक तथा धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ । मनकामना, गोरखनाथको मन्दिर, कालिका देवीलगायतका मन्दिर यहाँका प्रसिद्ध तीर्थस्थल हुन् । गोरखाको मनकामना मन्दिरमा मात्र वार्षिक १० लाख दर्शनार्थी केबलकारमार्फत जाने गरेका छन् । त्यस्तै ग्रामीण पर्यटन, कृषि तथा जडीबुटी गोरखाको दरिलो आर्थिक स्रोत बन्न सक्ने गोरखाका स्थानीय विकास अधिकारी महेश बराल बताउँछन् । उनी भन्छन्, ‘हिमाल, पहाड र तराईसँग जोडिएको गोरखाको विकास पर्यटन, कृषि र जडीबुटीसँगै जोडिएको छ ।’ आर्थिक विकासको प्रचुर सम्भावना भए पनि अपर्याप्त लगानी विकासको बाधक बनेको स्थानीय व्यवसायीहरू बताउँछन् । लगानी आकर्षित गर्न सकेमा पर्यटन र जलविद्युत्बाट गोरखाले प्रशस्त आम्दानी गर्न सक्छ । उच्चपहाडी भेगमा पाइने अधिकांश जडीबुटी यहाँ उपलब्ध छन् । तिनको सदुपयोग गर्न सकेमा गोरखाको विकासमा थप टेवा पुग्ने सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष रामबहादुर खड्काको भनाइ छ । यहाँ रहेको गोरखकाली जडीबुटी उद्योग प्रालिले केही जडीबुटी उत्पादन जिल्लाबाहिर पनि विक्री गर्दै आएको छ । स्थानीयस्तरमा उपलब्ध जडीबुटी धेरै उत्पादन भए पनि सदुपयोग भने हुन सकेको छैन । त्यस्तै ढाका, डेरी तथा कृषिजन्य उद्योगमा पनि लगानी आकर्षण गर्दा गोरखाको आर्थिक समृद्धि हुने गोरखा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष रामबाबु जोशी बताउँछन् ।

पर्यटन
गोरखामा ग्रामीण पर्यटन तथा ट्रेकिङको राम्रो सम्भावना छ । गणेश, मनास्लुलगायत हिमालको दृश्यावलोकन गर्दै ट्रेकिङका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षण गोरखामा बढ्दै गएको गोरखा होटल व्यवसायी सङ्घका अध्यक्ष अच्युतलाल श्रेष्ठले बताए । गोरखाको छेकम्पार, चुम्चेत, बारपाक, नुब्रीलगायत गाउँमा होमस्टे तथा ट्रेकिङका लागि पर्यटकहरू आउने गर्छन् । त्यस्तै ऐतिहासिक गोरखा दरबार, गोरखा कालिका तथा गोरखनाथको मन्दिर र मनकामना दर्शनका लागि १० लाखभन्दा बढी आन्तरिक पर्यटक गोरखा आउने गर्छन् । गोरखामा आन्तरिक पर्यटनको राम्रो सम्भावना भए पनि आवश्यक लाभ भने लिन नसकेको श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘मनकामना आउने पर्यटकहरू एकै दिनमा घुमेर फर्कने भएकाले ठूलो सङ्ख्यामा आउने भए पनि आर्थिक लाभ खासै हुँदैन ।’ त्यसैले गोरखा आएका पर्यटकको बसाइ लम्ब्याउन विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । आएका पर्यटकलाई आकर्षित गर्न स्थानीयस्तबाट खासै पहल भएको छैन । गोरखाको मनास्लु संरक्षण स्थल र नुब्री उपत्यकामा पर्यटकहरू भ्रमण गर्न चाहन्छन् । तर, नेपाल सरकारले अधिकतम २ हजार जना मात्र भित्रन दिने सङ्ख्या तोकिदिएकाले धेरै पर्यटक निराश भएर फर्किनुपर्ने बाध्यता छ । पर्यटक आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्नेमा आएकालाई पनि निराश बनाउने सरकारी नीतिका कारण गोरखाको पर्यटनमा असर पुगेको नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष कैलाशबाबु श्रेष्ठ बताउँछन् ।

कृषि
गोरखाली सुन्तलाले नेपालको फलफूल बजारमा छुट्टै पहिचान बनाएको छ । गोरखाका अधिकांश गाविसमा वार्षिक करौडौं रुपैयाँबराबरको सुन्तला उत्पादन हुन्छ । यहाँको सुन्तलाले काठमाडौं, नारायणगढलगायत शहरमा राम्रो मूल्य पाउँछ । त्यस्तै ताङिलचोक, घ्याल्चोक, फिस्लिङलगायत गाविस तरकारी उत्पादनमा प्रख्यात छन् । मुग्लिङ बजारमा मात्र यहाँबाट दैनिक सयौं डोको ताजा तरकारी खपत हुने गैरसरकारी संस्था स्वाँरा सघन विकास केन्द्रका अध्यक्ष सीताराम श्रेष्ठ बताउँछन् । उनका अनुसार तरकारी खेतीबाट आफ्नो जीवनस्तर सुधार गर्ने यस क्षेत्रका किसान बढ्न थालेका छन् । साथै पालुङटार, च्याङलिटार, घ्याल्चोक र छेबेटार धानसहितका कृषि उत्पादनमा गण्डकी अञ्चलमै अग्रणी मानिन्छन् । पछिल्लो समयमा गोरखामा पशुपालनतर्फ पनि किसानहरू आकर्षित हुन थालेका छन् । घाँसे मैदान तथा हरियाली क्षेत्र प्रशस्त रहेकाले यहाँ पशुपालनको राम्रो सम्भावना रहेको गोरखा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष रामबाबु जोशी बताउँछन् । गोरखाको च्याङलिटारमा नेपालमै नमूना कामधेनु गाई फार्म स्थापना गरिएको छ । यसैलाई आत्मसात् गर्दै अन्य उद्यमीहरूले पनि व्यावसायिक रूपमा गाईपालन शुरू गरिसकेका छन् ।

जडीबुटी
हिमाल र उच्चपहाडी क्षेत्रको बाहुल्य रहेको गोरखाका जङ्गलहरूमा बहुमूल्य जडीबुटीहरू प्रशस्त पाइन्छ । उच्चपहाडी क्षेत्रमा पाइने सबै किसिमका जडीबुटी गोरखामा पाइने भएकाले जडीबुटीजन्य उत्पादन गरेर जिल्लाले प्रशस्त लाभ लिन सक्छ । यद्यपि, त्यसबाट जिल्लाले प्रशस्त लाभ लिन सकेको पाइँदैन । गोरखामा स्थापित गोरखकाली जडीबुटी उद्योग प्रालिले केही जडीबुटी उत्पादन गरेर जिल्लाबाहिर निर्यात गर्ने गरेको छ । उद्योगको जडीबुटी उत्पादन क्षमता धेरै भए पनि यसको निकै कम उपयोग भएको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष रामबहादुर खड्का बताउँछन् ।

गोरखा महोत्सव आजबाट
आठौं गोरखा महोत्सव मङ्गलवारबाट शुरू हुँदै छ । गोरखा उद्योग वाणिज्य सङ्घ, जिविस गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा शुरू हुन लागेको महोत्सव नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले उद्घाटन गर्ने महोत्सवका प्रचारप्रसार संयोजक एवम् गोरखा उद्योग वाणिज्य सङ्घका महासचिव कृष्णकुमार श्रेष्ठले बताए ।

सात दिनसम्म सञ्चालन हुने महोत्सवमा जिल्लाका कृषिजन्य उत्पादन, डेरीका विविध परिकारलाई प्राथमिकताका साथ प्रवद्र्धन गरिने महोत्सव आयोजक समितिले बताएको छ । महोत्सवमा हेलिकोप्टरमार्फत विभिन्न ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलको अवलोकन गर्न सकिने बताइएको छ । ‘गोरखाको गौरव, गोरखालीको उत्सव, गोरखा महोत्सव’ नाराका साथ आठौं गोरखा महोत्सव शुरू गरिएको हो । महोत्सव आयोजना स्थल हरमटारी खेलमैदानमा स्टल तथा स्टेज निर्माणका सबै काम सकिएको श्रेष्ठले बताए ।

महोत्सवको आकर्षणका रूपमा रहेको गण्डकी अञ्चलस्तरीय दोहोरी गीत प्रतियोगिता पनि मङ्गलवारबाट नै शुरू हुने बताइएको छ । त्यसैगरी, गोलघरमार्फत विभिन्न जातजातिको वेशभूषा र संस्कृति झल्किने खालका नाचसमेत प्रस्तुत गरिने गोलघर निर्माण उपसमिति संयोजक दिलकुमारी गुरुङले बताइन् । ‘गोरखाको इतिहास सुनेका तर नदेखेकाहरूका लागि महोत्सव उपयुक्त अवसर हुन सक्छ,’ उनले भनिन् । महोत्सवमा मेरी बास्यै र जिरेखुर्सानीका हास्य कलाकार र चर्चित लोकदोहोरी गायकगायिकाको पनि उपस्थिति रहने महोत्सवका मनोरञ्जन उपसमिति संयोजक राजुबाबु श्रेष्ठले बताए । महोत्सवमा १ सयभन्दा बढी स्टल रहने आयोजकले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।