व्यापार युद्धको भयले त्रस्त वर्ष

Share News
रमा सुवेदी/अस्मिता ढकाल यो वर्ष विश्व बजार गतवर्ष जस्तो धेरै उथलपुथल भएन । तर, चीन र अमेरिकाबीच व्यापार युद्धको सम्भावनाले विश्व शेयर र कमोडिटिज बजारमा वर्षभरि नै प्रत्यक्ष प्रभाव परिरह्यो । प्रमुख पेट्रोलियम निर्यातकर्ताहरूले तेल आपूर्ति घटाइरहेकै बेला अमेरिकामा कच्चा तेल सञ्चिति निरन्तर घट्दा र साउदी अरब तथा इरानबीचको सम्बन्धमा देखिएको तिक्तताले तेलको भाउ बढ्यो । यसले गर्दा नेपाली बजारमा पनि पेट्रोलियम पदार्थ महँगियो । ‘पानामा पेपर्स’ चुहिएको १८ महीना नबित्दै ‘प्याराडाइज पेपर’ले करछलीका विषयमा अर्को तहल्का पिट्यो । करछलीका १ करोड ३४ लाख दस्तावेजमा अमेरिकी वाणिज्यमन्त्रीदेखि बेलायती रानीसमेतको नाम थियो । यसमा नेपालीहरूको नाम आएन । तर, यसले यूरोपेली सङ्घ (ईयू)लाई ट्याक्स हेभन भनेर चिनिने ठाउँहरूको कालोसूची बनाएर सार्वजनिक गर्न भने झक्झकायो । ईयूले सेण्ट लुसिया, बार्बादोस र दक्षिण कोरियालगायत १७ स्थानका कालोसूची नै सार्वजनिक गर्‍यो । यो वर्षका प्रमुख घटनाबारे तल विस्तृतमा उल्लेख गरिएकोे छ : उत्तर कोरियाली सङ्कट : उत्तर कोरियाले पटकपटक गरेको परमाणु परीक्षणका कारण वर्षैभरि उत्तर कोरिया र अमेरिकाबीच वाग्युद्ध चलिरह्यो । उत्तर कोरियाको परमाणु परीक्षणबाट उत्पन्न खतराबारे छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले नोभेम्बरको शुरूमा १२ दिने एशिया भ्रमणका क्रममा जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गरे । उत्तर कोरियाली नेता किम जोङ उनले मार्चको अन्त्यतिर अचानक चीन भ्रमण गरे । यो भ्रमणपछि उत्तर कोरियाले परमाणु कार्यक्रम घटाउने सङ्केत गरेको छ । यसले अमेरिका र उत्तर कोरियाली नेताबीचको वाग्युद्ध मत्थर बन्ने र क्षेत्रीय तनाव घट्ने आशा गर्न सकिन्छ । सबैभन्दा ठूलो ब्याट्री : अमेरिकी विद्युतीय सामग्री निर्माता कम्पनी टेस्लाले दक्षिण अष्ट्रेलियामा १ सयदेखि १ सय २९ मेगावाट घण्टा क्षमताको विश्वकै सबैभन्दा ठूलो लिथियम ब्याट्री जडान ग¥यो । यसले लोडशेडिङ भएको बेला ३० हजार घरपरिवारलाई करीब १ घण्टासम्म बिजुली आपूर्ति गर्न सक्छ । बेलायती अर्बपति व्यापारी सञ्जीव गुप्ताले टेस्लाको रेकर्ड तोड्न दक्षिण अष्ट्रेलियामै १ सय २० देखि १ सय ४० मेगावाट घण्टा स्टोरेज क्षमता भएको लिथियम–आयोन ब्याट्री बनाउने घोषणा गरेका छन् । शताब्दीकै खर्बपति बेजोस : अमेरिकी बहुराष्ट्रिय अनलाइन रिटेल कम्पनी एमजनका संस्थापक जेफ बेजोस मङ्सिरमा २१औं शताब्दीकै पहिलो खर्बपति बने । गत मार्चमा अमेरिकी व्यावसायिक पत्रिका फोब्र्सले सार्वजनिक गरेको सूचीमा १ खर्ब १२ अर्ब डलर नेटवर्थसहित बेजोस नै विश्वका सर्वाधिक धनी व्यक्ति हुन् । सूचीको दोस्रो र तेस्रो स्थानमा क्रमशः ९० अर्ब डलर र ८४ अर्ब डलर नेटवर्थसहित माइक्रोसफ्ट कर्पोरेशनका सह–संस्थापक बिल गेट्स र अमेरिकी लगानीकर्ता वारेन बफेट छन् ।उत्पादन कटौती सम्झौता : पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन (ओपेक) र समूहभन्दा बाहिरका मुख्य उत्पादकहरूले अष्ट्रियाको भियनामा नोभेम्बरको अन्त्यमा बसेको बैठकमा तेल उत्पादन दैनिक १८ लाख ब्यारेल घटाउने सम्झौतालाई आगामी वर्षको अन्त्यसम्म लम्ब्याए । यस सम्झौताका साथै कमजोर डलर र अमेरिकी कच्चा तेल सञ्चितिमा आएको कमीले यस वर्षभरि नै तेलको भाउमा टेवा दियो ।बिट्क्वाइनमा उतारचढाव : डिसेम्बरमा बिट्क्वाइन १९ हजार ७ सय ८३ डलर २१ सेण्टको कीर्तिमानी उचाइमा पुगेको थियो । सिकागोस्थित सिकागो मर्केण्टाइल एक्सचेञ्ज (सीएमई) र सिकागो बोर्ड अप्शन्स एक्सचेञ्ज (सीबीओई)मा बिट्क्वाइन फ्युचर्स लञ्चपछि बिट्क्वाइनको बजार पूँजीकरण ३ खर्ब ३१ अर्ब डलरको कीर्तिमानी उचाइमा पुग्यो । यसपछि घट्न थालेको भाउ गूगल, फेसबूक, ट्विटरलगायत ठूला विज्ञापन मञ्चले क्रिप्टोकरेन्सीको विज्ञापनमा रोक लगाएपछि थप दबाबमा आयो ।साउदीको भ्रष्टाचार विरोधी कारबाही : साउदी अरबमा अल्वालिद बिन तलालसहित ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्री तथा प्रभावशाली व्यक्तिहरूलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरियो । यो मुद्दाको छिनोफानोबाट १ खर्ब ६ अर्ब डलर राज्यले उठायो ।साउदी र यूएईमा भ्याट : जनवरी १ देखि साउदी अरब र संयुक्त अरब इमिरेट्सले पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरे । योसँगै खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्री, पेट्रोलमात्र नभएर फोन, पानी, बिजुली बिल र होटलको बूकिङ महँगिए ।गाँजा अर्थतन्त्र : जनवरीको शुरूमा अमेरिकाको क्यालिफोर्निया राज्यले मनोरञ्जनात्मक प्रयोजनमा गाँजाको प्रयोगलाई वैधानिक मान्यता दियो । योसँगै नेपालमा पनि औषधिमूलक प्रयोजनमा गाँजालाई कानूनी मान्यता दिनुपर्छ भन्ने बहस चर्किंदै छ ।अमेरिका बन्द : माथिल्लो सदन सिनेटमा दैनिक सरकारी कामकाज चलाइराख्न आवश्यक चालू खर्चसम्बन्धी विधेयक पारित नभएपछि जनवरी २० मा मध्यरातदेखि ४ दिनसम्म अमेरिकामा सरकारी कामकाज ठप्प भयो । सीमा सुरक्षा र बालबालिकाका रूपमा अमेरिका आएका कागजपत्रविहीन लाखौं आप्रवासीहरूको सुरक्षालगायत विषयमा रिपब्लिकनहरूले वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेपछि जनवरी २३ मा बन्द खुल्यो । मार्च २३ मा राष्ट्रपति ट्रम्पले १३ खर्ब डलरको खर्च विधेयकमा हस्ताक्षर गरेर अमेरिका पुनः बन्द हुने अवस्था टारे ।हकिङको मृत्यु : प्रसिद्ध बेलायती वैज्ञानिक तथा ब्रम्हाण्डका ज्ञाता स्टेफेन हकिङको मार्च १४ मा क्याब्रिजस्थित घरमा ७६ वर्षको उमेरमा मृत्यु भयो । २२ वर्षको उमेरमै एम्योट्रोफिक लेटरल सेलेरोसिस रोग लागेर आजीवन ह्विल चेयरमा बाँधिए पनि हकिङले खगोल शास्त्रमा ठूलो योगदान दिए । उनले ‘ए ब्रिफ हिष्ट्री अफ टाइम, द ग्र्याण्ड डिजाइन, युनिभर्स इन नटशेल, द थ्योरी अफ एभ्रीथिङ’लगायत कैयौं पुस्तक लेखेका छन् ।फेसबूक घोेटाला : बेलायती विज्ञापन कम्पनी क्याम्ब्रिज एनालिटिकाले सामाजिक सञ्जाल फेसबूकका ५० करोडभन्दा बढी प्रयोगकर्ताको निजी तथ्याङ्क प्रयोग गरेको खुलासा भएपछि फेसबूकको शेयरमूल्य घट्यो र बजार पूँजीकरण ५ खर्ब डलरभन्दा मुनि पुग्यो । यो घोटालामा विश्वरभर करीब ८ करोड ७० लाख प्रभावित बनेको कम्पनी आफैले अप्रिलको शुरूमा स्वीकार गरेको थियो । प्रभावितहरूलाई सन्देश पठाउन समेत फेसबूकले शुरू गरिसकेको छ ।व्यापार युद्ध : चीन र अमेरिकाले एकअर्काको देशमा उत्पादित सामग्रीमाथि भन्सार तथा अन्य महशुल बढाउने क्रम थालेका छन् । यसले व्यापार युद्ध भड्काउने भयमा वर्षको उत्तराद्र्धमा शेयर र कमोडिटिज बजार राताम्मे बने । यो चिन्ताले आगामी वर्ष पनि विश्वबजार त्रस्त बनाउने निश्चितप्रायः छ ।अन्त्यमा, यस वर्ष विश्वव्यापी आर्थिक सर्वेक्षणमा नेपालले राम्रै प्रदर्शन गर्‍यो । विश्व बैङ्कको व्यावसायिक वातावरणसम्बन्धी प्रतिवेदनमा नेपाल २ स्थान माथि उक्लिँदै १ सय ५औं स्थानमा पुग्यो । ट्रान्सपरेन्सी इण्टरनेशनलको भ्रष्टाचार सूचकाङ्कमा पनि ३१ अङ्कसहित ९ स्थान माथि उक्लिँदै नेपाल १ सय २२औं स्थानमा रह्यो । संयुक्त राष्ट्र सङ्घका लागि ‘सष्टेनेबल डेभलपमेण्ट सोलुसन्स नेटवर्क’ले सार्वजनिक गरेको ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ शीर्षकको प्रतिवेदनमा नेपाल विश्वमै १ सय १औं खुशी देश बन्यो ।४ दशमलव ८८ अङ्क ल्याएर नेपाल दक्षिण एशियामा तेस्रो खुशी राष्ट्र भयोे । अन्य अन्तरराष्ट्रिय प्रतिवेदनले पनि नेपाली अर्थतन्त्रमा सुधारको सङ्केत देखाएको छ । यस वर्ष व्यावहारिक अर्थशास्त्रमा दिएको योगदानका लागि युनिभर्सिटी अफ सिकागोका ७२ वर्षीय प्राध्यापक रोबर्ट थेलरलाई अर्थशास्त्रतर्पmको नोबेल पुरस्कार दिइयो । चीनमा राष्ट्रपतिको कार्यकालमाथिको सीमा हटेर सी चिनफिङ आजीवन राष्ट्रपति बन्ने बाटो खुल्यो । यसले चीन अब निङ्कुश व्यवस्थामा जाने विश्लेषण बढाएको छ । गतवर्ष मेमा वानाक्राई ¥यानसम साइबर हमलामा विश्वका १ सय ५० भन्दा बढी देशका लाखौं कम्प्युटरहरू प्रभावित बने । यसबाट यी देशहरूलाई करोडौं डलर घाटा भयो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।