नेपालको कृषि विकासमा सहयोग गर्ने भारतको प्रतिबद्धता

Share News

काठमाडौं । भारत सरकारले नेपालको समग्र कृषिक्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । केही दिनअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका क्रममा नेपाल र भारत सरकारबीच भएको कृषिसम्बन्धी समझदारीमा भारतले कृषि विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयले बताएको हो ।

दुई देशबीचको संयुक्त सम्झौताअनुसार माटोको स्वास्थ्य, नयाँ बीउबिजन उत्पादन, अर्ग्यानिक खेती, पशुपालन, कृषि अनुसन्धान एवम् कृषि शिक्षामा सहकार्य गर्ने विषय प्राथमिकतामा परेको मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए । उनका अनुसार मुख्यगरी धान, तरकारी र मकैको उन्नत बीउ अनुसन्धान, भैंसी र होलेष्टिन गाईसम्बन्धी ‘प्योर वीर्य’को उपलब्धता, अर्ग्यानिक खेतीसम्बन्धमा छलफल भएको छ ।

भारत सरकारले कृषिक्षेत्रको विकासका लागि विभिन्न तालीम प्रदान गर्ने, नेपालबाट कृषि शिक्षाका लागि आउने विद्यार्थीका लागि अवसर दिने र आफ्ना विज्ञहरू आदानप्रदान गर्नेजस्ता विषयमा सकारात्मक प्रतिक्रिया दिएको कार्कीको भनाइ छ ।

हाल कृषि उत्पादन अपेक्षित रूपमा बढ्न नसकेको अवस्थामा भारतमा उपलब्ध रहेका नयाँ प्रविधि नेपाललाई प्रदान गरी उत्पादन वृद्धिमा सहयोग पुर्‍याउन भारत तयार रहेको मन्त्रालयले बताएको छ । यस्तोमा नेपालले पनि सोही अनुसारको अग्रसरता देखाउनुपर्ने मन्त्रालयले स्पष्ट पारेको हो ।

मन्त्रालयका अनुसार नेपालबाट भारतमा हुने निर्यात प्रक्रियामा बेलाबेलामा हुने समस्या पनि मुख्य एजेण्डाका रूपमा छनोट गरिएको थियो । वर्षेनि अदुवा, अलैंची र तरकारीको निर्यातमा आउने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न दुई देशबीच गहनपूर्वक छलफल भएको प्रवक्ता कार्कीले जानकारी दिए । उक्त आयात निर्यात व्यापारमा विस्तृतमा छलफल गरी समाधान चाँडै निकाल्ने भारतको प्रतिबद्धता रहेको उनले बताए ।

त्यस्तै, भारतलगायत अन्य तेस्रो मुलुकबाट आयात हुने रासायनिक मल भित्र्याउन वीरगञ्जबाहेक जोगवनी र सुनौली नाका खुला गर्नुपर्ने पनि मन्त्रालयको मुख्य एजेण्डा थियो । दुई देशबीचको समझदारीमा यी विषय पनि प्राथमिकताका साथ राखिएको मन्त्रालयको दाबी छ । भारत सरकारले यस विषयमा पनि केही समयभित्रै प्रतिक्रिया दिने मन्त्रालयको अपेक्षा छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।