लुम्बिनी एक्स्पो २०६९ : रूपन्देही आर्थिक समुन्नतिको बाटोमा

Share News

रूपन्देहीमा हाल भैरहवा लुम्बिनी करिडोर र बुटवल औद्योगिक क्षेत्र सञ्चालनमा छन् । यसबाहेक तिनाउआसपासको क्षेत्रलाई नयाँ औद्योगिक करिडोरका रूपमा विकास गर्न सकिने यहाका उद्योगीहरू बताउँछन् ।

पश्चिमाञ्चल विकासक्षेत्रको प्रमुख औद्योगिक क्षेत्रमध्येको रूपन्देही विभिन्न क्षेत्रमा सम्भावना बोकेको जिल्ला हो । पश्चिमाञ्चलका पहाडी जिल्लाको मुख्य व्यापारिक केन्द्र, सुनौली भन्सार नाका तथा यस क्षेत्रका विभिन्न पर्यटकीय स्थलसम्म पुग्ने प्रमुख द्वारका रूपमा रूपन्देहीको परिचय अझ विस्तार हुँदै गएको छ । नेपालको तराई क्षेत्रको करीब मध्यभागमा अवस्थित भएकाले पनि पूर्वी तथा पश्चिमी तराईको रहनसहन यहाँ पाउन सकिन्छ । यसले सांस्कृतिक विविधता भएको जिल्लाका रूपमा रूपन्देहीलाई स्थापित गराएको छ । दुईओटा नगरपालिका (सिद्धार्थनगर र बुटवल) रहेको यस जिल्लामा प्रशस्त आद्यौगिक सम्भावना छ । बुटवल र भैरहवामा रहेका औद्योगिक क्षेत्र यसका उदाहरण हुन् । त्यसमा पनि भैरहवा सिमेण्ट उद्योगका लागि बढी परिचित छ । यो क्षेत्रमा मात्र ११ ओटा सिमेण्ट उद्योग सञ्चालित छन् ।

रूपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बन्ने सम्भावना बढ्दै गएको छ । बैङ्क तथा वित्तीय संस्था, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन र उत्पादनमूलक उद्योगहरू रूपन्देहीमा केन्द्रित हुन थालेपछि यस्तो सम्भावना बढेको हो । उद्योगमैत्री वातावरण, भारतीय सीमासँग जोडिएको तथा पर्यटनको अत्यधिक सम्भावना भएकाले यहाँको विकास सम्भव भएको स्थानीय बुद्धिजीवी तथा व्यवसायीहरू बताउँछन् । रूपन्देही क्षेत्र नेपालको दोस्रो प्रमुख नाकाका रूपमा चिनिन्छ । पर्यटकीय दृष्टिले रूपन्देही महत्वपूर्ण मानिन्छ । नेपालमा सबैभन्दा बढी पैदलमार्गबाट पर्यटक आउने नाका पनि रूपन्देहीको सुनौली हो । लुम्बिनी अञ्चलमा आर्थिक वर्ष २०६८/०६९ मा १२ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ विभिन्न वित्तीय संस्थाले लगानी गरेका छन् । यो सोही अवधिको अघिल्लो आवभन्दा ३४ दशमलव २६ प्रतिशतले वृद्धि हो । आव २०६७/०६८ मा लुम्बिनीमा ९ अर्ब रुपैयाँ लगानी भए नेपाल राष्ट्र बैङ्क भैरहवा शाखाको तथ्याङ्क छ । लुम्बिनी अञ्चलभर हाल विभिन्न वाणिज्य बैङ्कका ९८ ओटा शाखा सञ्चालित छन् । त्यस्तै ७८ ओटा विकास बैङ्कका शाखा, २५ ओटा वित्तीय कम्पनीका शाखा तथा १५ ओटा लघु विकास बैङ्कका शाखा रहेका छन् । यी सबै वित्तीय संस्थाबाट आव २०६८/०६९ मा ६२ अर्ब ९४ करोड रुपैयाँ निक्षेप सङ्कलन भएको नेपाल राष्ट्र बैङ्क भैरहवा शाखाले जानकारी दिएको छ । यस अवधिमा ती संस्थाहरूले ४३ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।

रूपन्देहीका सम्भावनाहरू :

उद्योग
रूपन्देहीमा हाल भैरहवा लुम्बिनी करिडोर र बुटवल औद्योगिक क्षेत्र सञ्चालनमा छन् । यसबाहेक तिनाउआसपासको क्षेत्रलाई नयाँ औद्योगिक करिडोरका रूपमा विकास गर्न सकिने यहाँका उद्योगीहरू बताउँछन् । यस क्षेत्रलाई करिडोरका रूपमा स्थापना गर्ने प्रस्ताव गरिए पनि त्यसमा कुनै प्रगति भने हुन सकेको छैन । यसबाहेक भैरहवा–परासी सडक खण्डआसपासका क्षेत्रलाई नयाँ औद्योगिक करिडोरका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । तर, नियमित विद्युत् आपूर्तिको समस्याले उद्योग सञ्चालनमा समस्या देखिएको छ । औद्योगिक क्षेत्रमा लोडशेडिङ अन्त्य गर्नुपर्ने यहाँका उद्योगीहरूको माग छ । ढुवानी तथा बजारका लागि पर्याप्त स्थान भएकाले रूपन्देहीमा नयाँ उद्योग सञ्चालन गर्न सकिन्छ । यद्यपि, सरकारी सहयोग भने यहाँका उद्योगीले अपेक्षाअनुरूप पाएका छैनन् ।

अहिले बुटवलको औद्योगिक क्षेत्रमा मात्र ७२ ओटा उद्योग सञ्चालनमा छन् । औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग स्थापनाका लागि २ सय ५० आवेदन परेको बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष दिलप्रसाद भट्टराईले जानकारी दिए । हाल औद्योगिक क्षेत्रभित्र मात्र ६ अर्ब रुपैयाँ निजी लगानी भइसकेको उनले बताए । औद्योगिक क्षेत्र विस्तारका लागि थप ५ सय ४० रोपनी जग्गा आवश्यक पर्ने बताइएको छ । यहाँका अधिकांश उद्योग लुम्बिनीको गुरुयोजनाअनुसार स्थापना भएका हुन् । उत्पादित वस्तु भारत निर्यातका लागि समेत सहज हुने भएकाले यो क्षेत्रमा उद्योगको सङ्ख्या बढ्दै गएको हो । हाल यस औद्योगिक क्षेत्रभित्र ४० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको व्यवसायीहरू बताउँछन् ।

कृषि
रूपन्देही कृषिमा ठूलो सम्भावना बोकेको जिल्ला हो । पशुपालन तथा नगदेबालीका लागि यो जिल्ला प्रसिद्ध छ । जिल्लामा गाईपालन, माछापालनसहित अष्ट्रिच फर्म पनि सञ्चालनमा आएको छ । कृषिक्षेत्रबाट मात्र जिल्लामा धेरै मानिसले रोजगारी पाएका छन् । यसले उनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ ।

धार्मिक पर्यटनको सम्भावना
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक पर्यटनको अत्यधिक सम्भावना छ । यो वर्ष मात्र लुम्बिनीमा हालसम्म करीब ९ लाख पर्यटक आइसकेको लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्म सङ्बो शेर्पाले जानकारी दिए । रूपन्देहीमा पर्यटनका लागि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मावली देवदह, बुटवलको मणिमुकुन्दसेन दरबार, ऐतिहासिक सैनामैना स्थल, बोलबम धाम, जितगढी किल्ला, मणिमुकुन्द पार्क, हिलपार्क बुटबल, गैडहवा ताललगायत प्रमुख गन्तव्य हुन् ।

यस क्षेत्रमा लक्ष्यअनुसार पर्यटक आउने हो भने होटलहरूको अभाव हुने देखिन्छ । हाल लुम्बिनीमा पर्यटकअनुकूलका करीब दुई दर्जन होटल सञ्चालनमा छन् । त्यसमध्ये पनि पर्यटकलाई लक्षित गरी ठूलो लगानीमा तीनओटा होटल सञ्चालित छन् । पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएपछि यससँग सम्बन्धित व्यवसाय पनि थपिने क्रम बढेको छ । त्यसैले, रूपन्देहीमा अहिले तीन दर्जनभन्दा बढी ट्राभल एजेन्सी सञ्चालनमा आइसकेका छन् । ट्राभल एजेन्सीहरूले आन्तरिक तथा बाह्य उडानका साथै विभिन्न स्थानमा भ्रमण सुविधा उपलब्ध गराउँदै आएका छन् ।

रूपन्देहीको समस्या
विकासक्रमसँगै रूपन्देहीका उद्योग, पर्यटन, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा विविध समस्या देखापरेका छन् । अहिले यहाँको सबैभन्दा प्रमुख समस्या लुम्बिनी करिडोरमा रहेका उद्योग विस्तार हुन नसक्नु नै हो । सरकारको अस्थिरताका कारण विशेष आर्थिक क्षेत्र (सेज)को काम पनि ओझेलमा परेको छ । भारतसँगको खुला सीमाका कारण चन्दाआतङ्कजस्ता समस्याले पनि यहाँको औद्योगिक वातावरणमा असर परेको छ । तर, सुरक्षाका हिसाबले भने वातावरण राम्रो हुँदै गएको व्यवसायीहरू बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।