जीडीपीमा कृषिको योगदान घट्दो : चालू आवमा २७% हुने अनुमान

Share News
काठमाडौं । चालू आर्थिक वर्ष २०७४/७५ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडिपी)मा कृषि तथा वन क्षेत्रको योगदानमा कमी आउने प्रक्षेपण गरिएको छ । गत आव २०७३/७४ को तुलनामा चालू आवमा जीडीपीमा यस क्षेत्रको योगदान १ दशमलव १५ प्रतिशत बिन्दुले घट्ने पूर्वानुमान केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको आव २०७४÷७५ को राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदनले देखाएको हो । पछिल्लो समय जीडीपीमा यस क्षेत्रको योगदान क्रमिक रूपमा घट्दै गएको छ । आव २०७३/७४ मा जीडीपीमा कृषि तथा वनक्षेत्रको योगदान २८ दशमलव २५ प्रतिशत रहेकोमा चालू आवमा २७ दशमलव १० प्रतिशतमा सीमित रहने विभागको अनुमान छ । चालू आवको शुरूमै आएको बाढीले कृषिक्षेत्रमा पुगेको क्षतिका कारण यस क्षेत्रको योगदान घटेको कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार उक्त प्राकृतिक विपद्का कारण मुख्यगरी धान, माछा, तरकारी, नर्सरीलगायत गरी कुल ५ अर्ब ८४ करोड रुपैयाँबराबरको क्षति पुगेको छ । अविरल वर्षाका कारण समग्र कृषि क्षेत्रमा क्षति पुग्दा जीडीपीमा यसको योगदान घटेको मन्त्रालयको ठहर छ । तर, विगत केही वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष जीडीपीमा कृषिक्षेत्रको योगदान क्रमिक रूपमा ओरालो लाग्दै गएको देखिन्छ । मौसमी अनुकूलतामा बढी निर्भर रहेको नेपाली कृषिक्षेत्रको पछिल्लो १० वर्षको वृद्धिदर अपेक्षाकृत सन्तोषजनक नदेखिएको मन्त्रालयले स्वीकारेको छ । तर, पछिल्लो समय मुलुकको अर्थतन्त्रमा गैर कृषिक्षेत्रको विकास र विस्तारसँगै कृषिक्षेत्रको अंश क्रमशः कम हुँदै गए पनि उत्पादनको आकार भने बढ्दै गएको मन्त्रालयका सहप्रवक्ता एवम् कृषि अर्थविज्ञ शङ्कर सापकोटाले बताए । उनका अनुसार मुलुकको जीडीपीमा कृषिक्षेत्रको योगदान १/२ प्रतिशतले कम हुनु सामान्य नै देखिन्छ । साथै कृषिको योगदान कम भएसँगै उद्योग तथा सेवाजस्ता क्षेत्रको योगदान जीडीपीमा बढ्दा समग्र अर्थतन्त्रमा सकारात्मक असर पार्ने उनको भनाइ छ । सापकोटाका अनुसार जीडीपीमा कृषिक्षेत्रको योगदान घट्नु नकारात्मक पक्ष होइन, तर उत्पादनको आकार भने वृद्धि हुनु अत्यावश्यक हुन्छ । यसका लागि कृषिको व्यावसायीकरण एवम आधुनिकीकरणमा बढी जोड दिनु निकै जरुरी रहेको छ । साथै यस क्षेत्रलाई व्यावसायीकरण र विविधीकरण गरी तुलनात्मक लाभ एवम् प्रतिस्पर्धाको माध्यमबाट सक्षम बनाउनु आवश्यक रहेको सापकोटाको ठम्याइ छ । जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गरी कृषिक्षेत्रमा आशातीत उपलब्धि प्राप्त गर्नु चुनौतीपूर्ण रहेको सापकोटा बताउँछन् ।मुलुकको अर्थतन्त्रको मेरूदण्ड रहेको कृषिक्षेत्रको योगदानमा कमी आउनुको प्रमुख कारणअनुकूल वर्षा नहुन नै रहेको मन्त्रालयको भनाइ छ । त्यस्तै कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै देशको अन्य अर्थतन्त्रको क्षेत्रसँग जोड्न नसक्नु, कृषिलाई मर्यादित पेशाको रूपमा अनुभूत गराउन नसक्दा यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।कृषिक्षेत्रको विकासका लागि आवश्यक सडक, विद्युत्, बाली भण्डारण र शीत भण्डारणजस्ता पूर्वाधारको निर्माण र कृषि उत्पादकत्व वृद्धिका लागि आवश्यक मल, उन्नत जातका बीउबिजन, सिँचाइ आदि विषय भने निकै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । कृषिका लागि निकै महत्त्वपूर्ण मानिने यी तत्त्वले गर्दा नै समग्र उत्पादनमा प्रभाव पर्ने गरेको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।