हिन्दू धर्मले राम, कृष्ण सबैलाई विष्णुको अवतार मानेको छ । इसाई धर्मले जिससलाई परमात्माको पुत्र भनेको छ भने इस्लाम धर्मले मोहम्मदलाई अल्लाहको सन्देशवाहक भनेको छ । बुद्धले मात्रै म कोही विशिष्ट व्यक्ति होइन, म विष्णु वा कसैको अवतार पनि होइन, म सामान्य व्यक्ति हुँ भन्नुभयो । परमात्माको कुरा त के उहाँले परमात्मालाई नै मान्नु भएन । त्यसैले, उहाँलाई ‘सो गड्ली एण्ड सो गडलेस’ अर्थात् परमात्मातुल्य तर परमात्मालाई नै नमान्ने व्यक्तिका रूपमा लिइन्छ ।
उहाँले जो कोही सामान्य व्यक्तिमा पनि साधनाद्वारा बुद्ध बन्न सक्ने सम्भावना छ भन्नुभयो । मनुष्यलाई यो इज्जत र गरिमा अरू कुनै धर्मका गुरुले दिएनन् । बुद्ध बन्न कुनै भगवान्, परमात्मा वा अल्लाहको कृपा पाउनु नपर्ने बुद्धले मात्रै भन्नुभयो । उहाँले साधनाबाटै व्यक्ति बुद्ध बन्न सक्छ भन्नुभयो । ध्यान साधनाको माध्यमबाट उहाँले सत्यको ज्ञान पाउनुभयो । यही विधिबाट मुक्त हुन सकिन्छ भन्ने बुद्धको सन्देश हो । त्यसैले, उहाँको जन्मदिन (बुद्धजयन्ती)लाई ध्यान दिवसका रूपमा मनाऊँ भन्ने प्रस्ताव मैले विगत २ वर्षदेखि गर्दै आएको छु ।
यस क्रममा बुद्धजयन्तीलाई ध्यान दिवसका रूपमा मनाउनु किन आवश्यक छ भनेर पत्रपत्रिका, रेडियो, टेलिभिजनबाट धेरैपटक लेखेको, बोलेको छु । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिसँग यो विषयमा चर्चा पनि गरेको छु । यसअघिका प्रधानमन्त्री, शिक्षा तथा संस्कृतिमन्त्री र सचिवलाई भेटेर प्रस्तावपत्र दिएको छु । त्यसैगरी अहिलेका संस्कृति तथा पर्यटनमन्त्रीलाई पनि दिएको छु । लुम्बिनीमा चलिरहेको विश्व बौद्ध सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओली बोल्दै हुनुहुन्छ । सो अवसरमा उहाँले बुद्धजयन्तीलाई राष्ट्रिय स्तरमा ध्यान दिवसका रूपमा मनाउने घोषणा गर्नुहुन्छ भन्ने आशा गरेको छु ।
बुद्धजयन्तीलाई ध्यान दिवस किन मनाउने भन्नेबारे नेपालमै बुझाउन पनि निकै गाह्रो प¥यो भने विश्व ध्यान दिवसका रूपमा स्थापित गर्न त्यति सजिलो छैन । त्यो स्तरमा लैजान पहिले १७ ओटा जुन बुद्धिष्ट देशहरू छन्, उनीहरूसँग लबिङ गर्नुपर्छ । ती देशबाट ध्यान गर्न आउने मानिसका साथै ती देश जाँदा राजदूतहरूसँग भेटेर आप्mनो तर्फबाट लबिङ गरिरहेको छु, अब देशले पनि गर्नुपर्छ । उनीहरूबाट यो विषयमा तुरुन्तै समर्थन मिलिहाल्छ । अमेरिका, यूरोप र अन्य देशमा पनि बुद्धको सम्मान छ । त्यसैले, उनीहरूको पनि समर्थन जुटाउँदै संयुक्त राष्ट्रसङ्घका सदस्य रहेका १ सय ९५ राष्ट्रमा नेपालले लबिङ गरेर यो दिनलाई विश्व ध्यान दिवसका रूपमा स्थापित गराउन सकिन्छ ।
बुद्ध जस्तो गुरु, दार्शनिक, भगवान् जे भने पनि उहाँ लुम्बिनी वनमा आजभन्दा २ हजार ५ सय ६२ वर्ष पहिले जन्मिनुभयो । यो हाम्रो सौभाग्य हो । यसलाई हामीले मार्केटिङ गर्न सकेनौं । विश्वले नै सम्मान दिने उहाँको जन्म दिनलाई विश्व ध्यान दिवसका रूपमा स्थापित गर्न सके पहिलो त उहाँप्रति सम्मान हुन्छ । दोस्रो, उहाँ नेपालमा जन्मिएको तथ्यलाई मार्केटिङ गर्न सके ठूलो सङ्ख्यामा पर्यटक भित्रिन सक्छन् । यसले नेपालको गरीबी टाढा धकेल्न ठूलो मद्दत पुर्याउँछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।